विप्लवको शन्तिमार्गमा पदार्पणले देखाएको उज्यालो भविष्य

डिसी नेपाल
२५ फागुन २०७७ ७:२५

मुलुकमा राजनीतिक कलह, आन्तरिक संघर्ष र महामारीको वेदना चर्किएर उत्कर्षमा पुगिरहेको बेलामा एक्कासी एउटा शुभ समाचार छाएको छ– ‘बिप्लव शान्तिको मार्गमा । नेपाल स्थायी शान्तिको मार्गमा ।’

विप्लवले हिंसा विसर्जन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा समाहित हुने बुद्धिमानी निर्णय गरेका छन्। आन्तरिक राजनीतिमा विप्लवलाई फाइदा–बेफाइदा र हार जीत जे भएपनि क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवेशमा शान्तिकामी जनताको शान्ति क्षेत्र एउटा सुन्दर रक्तरन्जित मुलुक चोखिन पाएको छ। पवित्र पूण्यभूमि, ध्यानभूमि, शान्तिभूमि भएर विश्वलाई शान्ति र खुशीको सुगन्ध छर्न सक्ने हैसियतमा फर्केको छ।  त्यसकै सेरोफेरोलाई समेट्न यो आलेख तयार पारिएको छ।

शान्तिको श्रेय

विप्लव–युद्ध विसर्जनसँगै त्यसको श्रेय लिने सरकारी निकाय, संघ–संस्था, व्यक्तिहरुको लावालस्कर र हानथाप उदेक लाग्दो छ । बाह्य चासो र हस्तक्षेपको बाछिटा घर–घर, व्यक्ति–व्यक्तिसम्म पुगिसकेको प्रमाण हो यो।

तर पहिलो श्रेय म विप्लव स्वयं र व्यापक दबाब सृजना गराउने उनका कार्यकर्तालाई दिन चाहन्छु । चन्दाको स्वादपान र चौतर्फी सहयोगको मस्तीमा नेतृत्व विलिन भइदिएको भए मुलुक अझ लामो समय हिंसाको कालो धब्बाबाट कलंकित भइरहने थियो।  कथित जनयुद्धको गहिरो पीडा भोगेको नेपाली समाजलाई विप्लव बिद्रोहले सामान्य त्रासदी बनाएपनि अन्तर्राष्ट्रिय आँखा र मूल्यांकनमा मुलुक र मुलुकवासीको शिर निहुराएको थियो।

विद्रोही समूहको उपस्थितिले मुलुकलाई असहिष्णु, अशान्त र असुरक्षित बन्न दिनु हुँदैन र आफू जितेर राज्य हार्नु हुँदैन भन्ने हेक्का र त्याग देखाउने विप्लवको शान्तिको चाहनालाई कसरी प्रशंसा नगर्नु?

विप्लवको वर्तमान स्वविवेक र स्वनिर्णयको हामीले मुक्तकण्ठले प्रशंसा गर्नैपर्दछ।  विप्लवलाई स–सम्मान पहिलो सलाम। दोश्रो श्रेय मुलुकको कठिन घडीका प्रधानमन्त्रीलाई दिन चाहन्छु।  एक मधेश प्रदेशको विखण्डनवादी नारा बोकेका सीके राउतलाई राष्ट्रिय राजनीतिक मूलधारमा फर्काउन सफल प्रधानमन्त्रीले आफ्नो पद धरापमा किन नपरोस् तर मुलुक र मुलुकवासीलाई चिन्ता र त्रासमुक्त राख्न अर्को राजनीतिक विजय हासिल गरेका छन्। उनले तीखो व्यङ्ग्य शैली र उछितो काढ्न सक्ने गाली गलौज क्षमतालाई धैर्यको बिर्को लगाउदै विवेकशील भएर विद्रोही समूहलाई मूलधारमा सेफल्याण्डिङ गराएका छन्।

जनयुद्ध ठीक थियो थिएन ? त्यसपछिको अन्तरकलह, अन्तरसंघर्ष, विभाजन र विखण्डन ठीक थियो थिएन त्यो सबै भविष्यले मूल्यांकन गर्दै जाला । तर विप्लवको वर्तमान स्वविवेक र स्वनिर्णयको हामीले मुक्तकण्ठले प्रशंसा गर्नैपर्दछ।  विप्लवलाई स–सम्मान पहिलो सलाम।

दोश्रो श्रेय मुलुकको कठिन घडीका प्रधानमन्त्रीलाई दिन चाहन्छु।  एक मधेश प्रदेशको विखण्डनवादी नारा बोकेका सीके राउतलाई राष्ट्रिय राजनीतिक मूलधारमा फर्काउन सफल प्रधानमन्त्रीले आफ्नो पद धरापमा किन नपरोस् तर मुलुक र मुलुकवासीलाई चिन्ता र त्रासमुक्त राख्न अर्को राजनीतिक विजय हासिल गरेका छन्। उनले तीखो व्यङ्ग्य शैली र उछितो काढ्न सक्ने गाली गलौज क्षमतालाई धैर्यको बिर्को लगाउदै विवेकशील भएर विद्रोही समूहलाई मूलधारमा सेफल्याण्डिङ्ग गराएका छन्।

उसो त जनयुद्ध छाडेर संसदीय राजनीतिमा फर्किन बाध्य नेकपा माओवादीलाई आफ्नो पार्टीमा समाहित गरेर लोकतान्त्रिक बाटोमा लाग्न बाध्य पार्ने कौशलता र दीर्घकालिन रणनीतिक चालपनि कम प्रशंसनीय थिएन ।

प्रधानमन्त्रीले २ वर्ष अगाडि चन्द समूहमाथि प्रतिबन्ध लगाएपनि आक्रामक भएर पत्ता साफ गर्न शक्ति प्रयोग गरेनन्। शक्ति प्रयोग गरेर नेपाललाई स्थायी ब्याटल ग्राउण्ड बनाउन उक्साउने स्वदेशी विदेशीको जालमा उनी फसेनन् । प्रधानमन्त्रीको त्यो विवेक र बुद्धिमानीले यो वार्ता र सेफल्याण्डिङको वातावरण बनायो।

प्रधानमन्त्रीसँगै उनका गृहमन्त्रीको धैर्यता, सुझबुझपूर्ण परिपक्क व्यवहार र शान्तिको चाहनालाई सह्राना गर्नुपर्दछ। आफू जनयुद्धको कमाण्डर भएर पनि उनले सिकेका पाठहरुको सदुपयोग गरेर मुलुकलाई शान्तिको लिकमा राख्ने अवसरको राम्रो सदुपयोग गरे। प्रधानमन्त्रीलाई नउक्साई वार्ताको विकल्पबाट विप्लव समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सही सल्लाह दिने सबै सुरक्षा अंग प्रमुखहरु समेत प्रशंसा र धन्यवादका पात्र हुन्।

अन्तिम श्रेय छिमेकी मुलुकहरुलाई कसरी नदिनु ? उत्तरी छिमेकी चीनलाई कम्युनिष्ट नामको बदनामी र बेइज्जतीसँग लाजको पसारो भएको थियो। लाजको अतिरिक्त पीडादायी टाउको दुःखाइ थियो। जति विद्रोही समूह उति धेरै बाह्य हस्तक्षेप, सहयोग र गोटीचालको रणनैतिक हर्कतसँग चीन सतर्क र सावधान थियो। वार्ता र सेफल्याण्डिङ गराउन चीनको दबाबलाई सकारात्मक र सह्रानीय भन्नुपर्दछ।

जनयुद्धको खेर गएको लगानी, धोका र आफूलाई माथ गर्ने पश्चिममा सर्भिलेन्स र चलखेलसँग दक्षिणी छिमेकी संस्थापन पक्ष पनि सतर्क र सावधान थियो। नेपालमा अस्थिरता आफू अनुकूल हुने भएपनि संभावित सशस्त्र विद्रोह प्रत्युत्पादक हुने उसको पाठ सिकाइ छ। लुकाएका हातहतियार र युद्ध सामग्री उल्टै आफ्ना विरुद्ध प्रयोग हुने मनोवैज्ञानिक त्रास र विदेशी इन्टेलिजेन्स एजेन्टहरुको घेराबन्दीबाट सुरक्षित रहन पनि चन्द समूहको सेफ ल्याण्डिङलाई उसले आफ्नो हितमा ठानेको हुनसक्दछ।

फास्टट्रयाक र सुपरफास्ट वार्ता

वार्ता टोलीको फास्टट्रयाक र सुपरफास्ट वार्ता तथा निर्णय मोडललाई सलाम। महामारी झेलेर सुस्त भएका धेरै छिमेकी र लामो दूरिका स्ट्रयाटेजिक पार्टनरले वार्ताको मेसो समेत पाएनन्। पाएको भए जति लगानी गरेर भएपनि भाँड्ने र आवश्यकता र समयानुकूल कहिले कसको कहिले कसको विरुद्धमा प्रयोग गर्ने आज्ञाकारी महाअस्त्र बनाएर राख्ने अवश्यम्भावी थियो।

प्रतिस्पर्धा र प्रतिद्वन्द्वी शक्तिलाई तर्साउने र किनारा लगाउन यो समूहलाई बाहिर जंगलमा भूमिगत राख्न प्रधानमन्त्रीलाई समेत चौतर्फी सल्लाह र दबाब नआएको होइन। तर प्रधानमन्त्रीलाई प्रतिशोध तथा पूर्वाग्रहको क्षणिक र संकीर्ण स्वार्थमा अल्झिनुभन्दा मुलुकलाई दिगो शान्ति सुरक्षाको राहत दिनु नैतिक, धार्मिक र राष्ट्रिय महान स्वविवेक एवम् समर्पणभावले निर्देशित गरेको देखिन्छ। आफ्नो देशको समस्या आफैले समाधान गर्नुपर्दछ र भाग्य निर्धारण पनि आफ्नै बलबाहुले गर्नुपर्दछ भन्ने राष्ट्रिय सोचको प्रतिबिम्ब गोप्य वार्ता र सुखद् निर्णयको परिणामले देखायो।

जनयुद्धताकाका ढुकुटी रित्याउने, शक्ति र समयको बर्वाद गर्ने, समय र शक्ति संचय गर्न वार्ताको नाटक गर्ने तर कहिल्यै निष्कर्षमा नपुग्ने छलछाम यो वार्तामा देख्न पाइएन। जुन ज्यादै अकल्पनीय तर सह्रानीय कदम थियो। जसको फल मिठो आयो।

वार्ताको वातावरण

कर हो कि बाध्यता अथवा हार हो कि जीत भन्ने अन्त्यहीन विषयवस्तुमा प्रवेश गर्न चाहिन । तर ४ वटा ध्रुव सत्यलाई स्वीकार गरेर वार्ताको वातावरण बनेको कुरामा दुईमत देखिँदैन। पहिलो, शान्तिकामी जनताको शान्ति क्षेत्र नेपालमा विद्रोह कसैले रुचाउनु परै जाओस् सुन्न समेत माग्दैन भन्ने सत्यको स्वीकारोक्ती।

दोश्रो, बन्द, हड्ताल, जुलुस, आन्दोलन अपहरण, हत्या, हिंसा, चन्दासँग जनताहरु वाक्कदिक्क भइसकेका छन् र त्यसको प्रतिकार गर्ने मुडमा पुगिसकेका छन् भन्ने सत्यको स्वीकारोक्ती। तेश्रो, जनयुद्धको नारा, आश्वासन, संकल्प र व्यवहारमा उल्टो परिणाम देखेपछि उत्पन्न निराशा र पीडा।

चौथो, राष्ट्रिय एकताको अपरिहार्यता बोध हुनु र सबै शक्ति मिलेर एउटै डुङ्गामा अटाउँदै संयुक्त पहल, प्रयास र त्यागद्वारा महान् राष्ट्र निर्माण गर्ने नवीन सोच र संकल्पको कार्यान्वयनतर्फ अग्रसर हुने दृढ अठोट।

कोर्स करेक्सनको केस स्टडी

अब विद्रोही समूहहरुका नायकहरुले आफ्ना भावी पिँढीलाई प्रस्ट पारिदिनुपर्दछ– विद्रोह कति गाह्रो र महङ्गो छ ? विद्रोह भित्रका खेलाडीहरु को को हुन्?  लगानी कसको थियो। बाह्य चलखेल र हस्तक्षेप कुन हदसम्म थियो?  चेन अफ कमाण्ड कति कमजोर, स्वार्थी र बैरी थियो ?  लुटेको राष्ट्रिय ढुकुटी कसरी दुरुपयोग र फुपुको श्राद्ध भयो?

कार्यकर्ताले निर्भयसाथ भनिदिनुपर्यो कमाण्डरले संकलित चन्दाको रकम कति दुरुपयोग गरे । अझ वान टू वान सम्झौतामा विदेशबाट प्राप्त सहयोग रकम कहाँ लापत्ता भयो? विद्रोहले समाजलाई गुण्डागर्दी, बल प्रयोग, जबरजस्ती जस्ता विकृति र विसंगति सिकायो कि असल नागरिक बन्न आदर्श शिक्षा दीक्षा प्रदान ग-यो?

आतंकवाद निषेधको बिगुल फुकेर शान्ति मार्गमा प्रवेश गर्न पाठ सहित विश्व समुदायलाई विश्वको अग्लो शिखर सगरमाथाले आह्वान गरेको छ।विश्व समुदायले निःसन्देह यो नमूना घरेलु पहल र सफलताको मुक्त कण्ठले प्रशंसा गर्ने छन्। हामी धेरै दशक बहुरङ्गी विदेशी हस्तक्षेप बेहोरेर संधै पराजित, पराधीन र पराश्रित हुन बाध्य नेपालीहरु आफ्नो मुलुक आफैँ बनाउन दत्तचित्त साथ लागि पर्ने छौं । भविष्यमा कसैको भड्काउमा नलागी आफ्नो देशको भविष्य आफै निर्णय गर्न सक्षम हुने छौं। स्थायी शान्तिको जगमा उभिएको नयाँ नेपालले छिटो आत्मनिर्भरताको बाटो समातोस् र हरित समृद्धि एवं सुखी नेपालीको सपना साकार पारोस्

आफूले जे जस्तो बाटो समातेर जति पश्चाताप गरेपनि विद्रोहले समाजमा छाडेका विकृति विसंगतिका बाछिटा सफा गरेर असल नागरिक समाज र राज्य निर्माणमा इमान्दार योगदान गरेनौँ भने हामीलाई इतिहासले धिक्कार्ने र सराप्ने छ । तसर्थ, सबै विद्रोहका नायकहरुले केस स्टडी तयार गरेर भावी पिँढीलाई उपहार दिउँ।

फिल्डको सानो ट्याक्टिकल कमाण्डर पंक्तिकारले पनि दिनेछु। ताकि भविष्यमा यो सुन्दर मातृभूमिमा अर्को विद्रोहको झिल्को नदेखियोस् । सधैँ शान्तिको झण्डा मात्र फहराइरहोस्।

स्वअनुभवको पाठ

बर्दिया राष्ट्रिय निकुञ्जमा तत्कालीन श्री ५ को सरकार र माओवादीबीच वार्ता गराउने अवसरको स्वअनुभव पाठ सिक्नको लागि कामयावी होस् भनेर संक्षिप्त उल्लेख गर्न चाहन्छु:

वार्तामा तयारी र गृहकार्य दुवै पक्षको शून्य थियो। कार्यकर्ता र आमजनता वार्ताको पक्षमा थिए तर युद्ध नायकहरु लुटको धनमा मस्त तर मारिरहेका थिए । वार्तालाई तार्किक निष्कर्षमा पुर्याउने इमान्दारिता थिएन। सरकारी प्रतिनिधिहरुको लागि वार्ता आशा र अपेक्षाको त्यान्द्रो थियो। माओवादीको लागि रणनैतिक चाल।

वार्ता सफल पार्न आवश्यक पर्ने दृढ अठोट, स्पष्ट उद्देश्य, इमान र सत्यता, पारदर्शिता, जवाफदेहिता, गोपनीयता, विश्वसनीयता, नेगोसिएसन कलाको खडेरी देखेर पंक्तिकारलाई उदेक लागेको थियो। सरकारी प्रतिनिधिहरु अधिकारविहीन अनिर्णयका बन्दी थिए भने माओवादीहरु विदेशी मालिकको इशारामा मात्र चल्न सक्ने कठैबर अरुका प्यादा थिए। वार्ता लम्बिएर हामी व्यवस्थापकलाई हैरानी।

त्यो करिब २० वर्ष पुरानो  (२०५८ भाद्र) दुर्भाग्यपूर्ण दृश्यलाई झलझली सम्झिँदा २० वर्ष पछाडिको वार्ताको गोपनीयता, शीघ्र संचालन र निष्कर्षमा पुर्याउन माहिर र सफल आन्तरिक राष्ट्रिय काबिल जनशक्तिलाई स–सम्मान सलाम भन्न चाहन्छु।

आफ्नो भूमिको समस्या गुपचुप् आफै समाधान गर्न र आफ्नो देशको भविष्य आफै निर्धारण गर्न नेपालीहरु सक्षम छन् भन्ने ऐतिहासिक र गर्विलो परिणाम यो वार्ताको गौरवयोग्य सन्देश हो।

खोइ हतियार

खोइ हतियार
खोलाले बगायो ।
खोई खोलो सुक्यो।।

यो पुरानो बच्चाखेल दोहोरिनु हुँदैन। किनभने हतियारको नोट जस्तै व्यापक दुरुपयोग हुने पक्का छ। भोलि गाडेका हतियार र बम बारुद पड्केर अवोध बालबालिका र किसानको ज्यान जानेछ। उत्खनन गरेर हतियार बिक्रीमा राखिने छन्। फेरि चन्दा संकलन गर्ने, तर्साउने धम्काउने काममा ती हतियार दुरुपयोग हुनेछन्। नेत्रविक्रम चन्द स्वयंको राजनीतिक र लोकप्रियताको कद बढाउन समेत लुकाएका हतियारहरु इमान्दारसाथ राज्यलाई बुझाउनु बुद्धिमानी हुनेछ।

अन्यथा, पुरस्कार र सम्मान कार्यक्रम राखेर राज्यले निःशस्त्रीकरण (डिस् आर्मामेण्ट) कार्यक्रम संचालन गर्नुपर्ने हुन्छ । पंक्तिकारले सहभागी हुने अवसर पाएको यस्तो कार्यक्रम २५ वर्ष अगाडि लाइबेरियामा लोकप्रिय र सफल भएको थियो। पुरस्कार र सम्मानको मोह र स्थायी शान्तिको चाहना राख्ने असंख्य विद्रोहीहरुले लुकाइराखेका हातहतियार, गोलीगठ्ठा, बम बारुद लामबद्ध भएर राज्यलाई बुझाएका थिए। त्यो विशाल र संवेदनशील हतियार भण्डारणको साँचो युनोमिल फोर्स कमाण्डरले नेपाल टीमलाई दिएका थिए।

तर यो राष्ट्रिय ढुकुटीलाई भार पार्ने खर्चिलो र झण्झटिलो प्रक्रियामा जानुभन्दा विप्लवले आफ्ना हातहतियार राज्यलाई गर्वसाथ बुझाउने इमान्दार साहस देखाउनुपर्दछ। त्यसले पूर्व माओवादीलाई समेत हतियार बुझाउने दबाब श्रृजना गर्ने छ। बल्ल मुलुकमा अर्थपूर्ण र विश्वासिलो शान्ति छाएको मान्न सकिने छ।  विश्व समुदाय हाम्रो शान्तिको चाहना, प्रतिबद्धता र संकल्पप्रति ढुक्क हुन सक्नेछ। स्थायी शान्ति र समृद्धिको फूल छिटो फुलाउन निःशस्त्रीकरणको इमानदारिताले सहजीकरण गर्नेछ।

भावी रोडम्याप

सुशासन र समृद्धि अबको एकमात्र रोडम्याप हुनुपर्दछ। जनयुद्ध होस् वा अरु विद्रोहले खोजेको समृद्धिको बिरुवा यही स्थायी शान्तिको जगमा उम्रिनु, हुर्किनु र बढ्नुपर्दछ। आम नेपाली जनताको आवश्यकता र चाहना अब पूरा हुनुपर्दछ। विद्रोहको बीउ रोपिने गरिबी, अभाव, अशिक्षा, रोग, भोग, बेरोजगारको जरा उखेलेर फ्याल्नुपर्दछ । दूरदराजका बस्ती गाउँको जीवनस्तर उठाउन अब बिना बिलम्ब हाम्रो एकीकृत ध्यान केन्द्रित हुनुपर्दछ।

विप्लवले रोजेको शान्तिमार्गले स्थायी राष्ट्रिय एकताको आवश्यकता र चाहना बोकेको छ। जुन दिगो शान्ति र सर्वाङ्गीण विकासको लागि ज्यादै अपरिहार्य छ । यो शान्ति सम्झौताले राष्ट्रिय सुरक्षाको जगलाई मजबुत बनाएको छ । क्षेत्रीय सुरक्षा मजबुतीकरणलाई सुनको ईटा थपिदिएको छ । चन्दा, अपहरण, हत्या, हिंसा, आतंकवाद उन्मूलन सहितको विश्व शान्तिको चाहनालाई सफलिभूत पार्न बुद्धको जन्मभूमिले शान्ति दीप प्रज्वलन गरिदिएको छ । आतंकवाद निषेधको बिगुल फुकेर शान्ति मार्गमा प्रवेश गर्न पाठ सहित विश्व समुदायलाई विश्वको अग्लो शिखर सगरमाथाले आह्वान गरेको छ।

विश्व समुदायले निःसन्देह यो नमूना घरेलु पहल र सफलताको मुक्त कण्ठले प्रशंसा गर्ने छन्। हामी धेरै दशक बहुरङ्गी विदेशी हस्तक्षेप बेहोरेर संधै पराजित, पराधीन र पराश्रित हुन बाध्य नेपालीहरु आफ्नो मुलुक आफैँ बनाउन दत्तचित्त साथ लागि पर्ने छौं । भविष्यमा कसैको भड्काउमा नलागी आफ्नो देशको भविष्य आफै निर्णय गर्न सक्षम हुने छौं। स्थायी शान्तिको जगमा उभिएको नयाँ नेपालले छिटो आत्मनिर्भरताको बाटो समातोस् र हरित समृद्धि एवं सुखी नेपालीको सपना साकार पारोस् ।

(लेखक संरक्षणविद् र सकरात्मक सोचका अभियन्ता हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *