देशभरका महिलाका गुनासा सुनुवाइ गर्न आयोगलाई आग्रह
काठमाडौं। राष्ट्रिय महिला आयोगलाई महिलासम्बन्धमा रहेर काम गर्दै आएका नेपालका विभिन्न संघ संस्थाहरुले महिलाविरुद्धका गतिविधिको निश्चित तथ्यांक राख्न र उनीहरुको सुनुवाइ गरिदिन आग्रह गरेका छन्। आयोगले देशभरका महिलाहरुका गतिविधि, समस्यालगायतका कुराहरु उठान होस भन्ने हेतुले महिलासँग आवद्ध विभिन्न संघ संस्थासँग समन्वयात्मक गरेको कार्यक्रममा उनीहरुले यस्तो आग्रह गरेका हुन्।
महिलाहरुको सबै प्रकारका उजुरी सुन्ने निकाय आयोगले बुधबार ‘राष्ट्रिय महिला आयोगको भूमिका र सरोकारवाला निकायहरुसँगको समन्वय’ नामक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा आयोगकी सचिव शान्ता अधिकारी भट्टराईले अहिलेसम्म आयोगले के गर्यो, के गरिराखेको छ र के कस्ता कार्य गर्छ भनेर जानकारी गराएकी थिइन्। उनले आयोगमा उजुरी लेखाउने पीडित महिलाहरुमा बाहुन क्षेत्री जातका बढी भएको सुनाइन्।
अन्य समुदायका महिलाभन्दा बाहुन क्षेत्री समुदायका महिला अलि बढि शिक्षित भएकाले पनि आयोगमा बढि उजुरी आएको हुन सक्ने भन्दै सचिव अधिकारीले सबै जातजातिका पीडित महिलाहरुले पीडा सहेर बस्न नहुनेमा जोड दिएकी थिइन्।
कार्यक्रममा सहभागी विभिन्न संस्थाका अध्यक्ष तथा संस्थाको प्रतिनिधित्व गर्दै आएकाहरुले आफूले महिलासँग सम्बन्धित रहेर गरेका कामअन्तर्गतका गुनासा, समस्या आदिका बारेमा आ–आफ्नो धारणा राखेका थिए। महिलाप्रति हुने विभिन्न किसिमका हिंसा, मानसिक हिंसाका साथै महिलाले चुलोचौकोदेखि औद्योगिक क्षेत्रसम्म निर्वाह गरेको भूमिकाप्रति अझै वेवास्ता भइरहेको जनाएका थिए।
आदिवासी, जनजाति, मधेशी आदि महिलाहरु धेरै नै पीडित छन् तर उनीहरु उजुरी गर्न नजानेर, नसकेर र अशिक्षित भएकाले आयोगको तथ्यांकमा बाहुन क्षेत्री समुदायका महिलाभन्दा कम पीडित देखिएको भन्दै सहभागीहरुले समुदायमै गएर त्यस्ता महिलाका समस्या उजागर हुनेपर्नेमा जोड दिएका थिए। जसका लागि आयोगले नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाई थियो।
ज्यालादारी गर्ने महिलाहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने प्रवृतिको विकास भएको भन्दै यसमा पनि आयोग सचेत हुनुपर्ने महिला अधिकारकर्मीले बताएका थिए।
मेयर उपमेयर आदि नेतृत्वकर्ताको मेलमिलाप नभएका कारणले पनि स्थानीय तहमा महिलाले कतिपय काम गर्न नसकिराखेकाले यसप्रति आयोगको ध्यानाकर्षण हुनुपर्ने बताएका थिए।
महिला अधिकारकर्मीले महिलालाई हिंसा, हत्या, बालात्कारबाट बचाउनका लागि समुदायमै गएर अध्ययन गर्ने र के कस्ता कार्यक्रम भइराखेका छन तथा हुनुपर्छ आदिमा ध्यान दिइराखेका संस्थाको समेत तथ्यांक राख्न सुझाएका थिए। सबै संघसंस्थाले महिलाविरुद्ध गरेका गतिविधिको तथ्यांक महिला आयोगले राखेमा त्यो राष्ट्रिय तथ्यांक हुनेमा उनीहरुको जोड थियो।
कार्यक्रममा आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले महिलाको हक अधिकार दिलाउने पक्षमा आयोग सधैं रहने र हिंसा हटाउन आयोगले देशको सबै ठाउँमा सञ्जाल बढाउने पक्षमा रहेको जानकारी गराइन्। उनले संविधानमा भएका कतिपय कुराहरु कार्यान्वयन नभएकाले यसलाई कार्यान्वयन गर्ने पक्षमा समेत आयोग रहेको जानकारी गराएकी थिइन्।
त्यसैगरी, आयोगकी अध्यक्ष कमला पराजुलीले अबका दिनमा महिलाका हक, अधिकारका साथै हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरुका बारेमा कसरी कार्य गर्न सकिन्छ भनेर तपाईंहरुको साथ खोजेको बताइन्। उनले महिला अधिकारकर्मीहरुसँग अबका दिनमा कस्ता रणनीति, कार्यनीति, नियम बनाऔं भनेर सहकार्य गर्न उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराइन्।
Facebook Comment