संस्कृतिविद् भन्छन्, ‘गाँजासँग भगवान शिवको कुनै सम्बन्ध छैन’
काठमाडौँ। प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन पर्ने हिन्दू धर्मावलम्बीहरुको प्रमुख मध्येको एक चाड महाशिवरात्री पर्व आज धुमधामका साथ मनाइँदैछ । आज बिहानैदेखि विशेषगरी पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ ।
शिवरात्री अथवा महाशिवरात्री सनातन हिन्दू धर्मलम्बीहरुको प्रमुखमध्येको एक पर्व हो। यो भगवान शिवको पूजा, साधना र आरधाना गर्ने मुख्य पर्व हो। भगवान शिव उत्पत्ति भएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पर्वका रुपमा पुराणहरुमा वर्णित छ।
फागुन कृष्ण चतुदर्शीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रुपमा लिइन्छ। व्रतहरु मध्ये सबैभन्दा ठूलो व्रत भएकाले शिवरात्रीलाई व्रतराज पनि भनिन्छ। यो दिन शिवको व्रत बस्दा मानिसमा हुने पशुभाव हट्ने, सद्बुद्धि र सत्प्रेरणा जागृत हुने मान्यता छ। यो व्रतबाट जीवनमा चेतना जगाउने कार्य गर्ने भएकाले यो व्रतको अत्यन्तै महत्व छ।
गाँजासँग भगवान शिवको कस्तो सम्बन्ध छ ?
पौराणिक आख्यान अनुसार गाँजा, भाङ, धतुरोलाई भगवान शिवको प्रसाद भन्ने भनाइ छ तर भगवानलाई गँजडी बनाउनुमा कुनै पनि सत्यता नभएको बताउँछन् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव तथा संस्कृतिविद् डा.गोविन्द टण्डन। ‘गाँजालाई ठिक मात्रामा सेवन गर्न जानेमा यो आर्युवेदिक औषधि हो, यसको गुण अवगुण सबै छ’ टण्टनले भने। सेवन गर्न जानेमा मधुमेह लगायत मस्तिष्कघातको जोखिम घटाउने तर गाँजालाई भगवान शिवको प्रसादको रुपमा प्रयोग गर्नु गलत संस्कार भएको टण्डन बताउँछन्।
‘शिवजी भनेका ईश्वर हो। उहाँले चाहेमा जे पनि गर्ने शक्ति र क्षमता छ । उहाँले त कालकुट विष पनि सेवन गर्नु भएको थियो। तर हामी मानवले पनि भगवान शिवजीले त विष नै पिउनुभएको हो भनेर प्रसादको रुपमा ग्रहण गर्न थाल्यौँ भने हाम्रो भौतिक शरीर के होला ?’ डा.टण्डन प्रश्न गर्छन्।
गाँजालाई शिवजीको प्रसाद ठानेर सेवन गर्नु भनेको शिवजीको ईश्वरत्व घटाउनु भएको उनले बताए । ‘औषधिको रुपमा सेवन गर्दा शिवजीको प्रसादसँगै गाँजामा वैज्ञानिक सत्यता छ’, टण्डनले भने, ‘तर गाँजा खानकै लागि दुर्व्यसनीको सिकार हुनेले शिवजीको प्रसाद ठान्नुले समाजमा नकारात्मक असर पार्छ।’ अमेरिका लगायत अन्य सयौं मुलुकले गाँजा खेती गरेर त्यसलाई औषधि बनाउन प्रयोग गरेर त्यहाँका कृषकले राम्रो आम्दानी गरेको समेत उनले बताए।
‘नीति नियम बनाएर बिक्री बितरण गर्न र सेवन गर्न जान्दा यसबाट बैज्ञानिक र आर्थिक उन्नती राम्रो हुन्छ’, टण्डनले भने ‘त्यो बेला चाहीँ हामीेले शिवजीको प्रसाद भन्यौँ भने हाम्रो सांस्कृतिक र आर्थिक पक्ष सवल हुन्छ ।’ हाम्रो मुलुकमा भने एक थरिका मान्छेहरुले गाँजा खानकै लागि शिवजीको प्रसाद भन्दै नकारात्मक प्रचार गरेको हुनाले यसो गर्दा समाजमा नकारात्मक असर पर्ने तर्क डा. टण्डन राख्छन्।
नागा बाबाहरु को हुन्? शिवरात्रीको बेला किन सक्रिय हुन्छन्?
नागा बाबाहरु भनेको एउटा सम्प्रदाय हुन्। यी नागा बाबाहरु जतिबेला पनि नाङ्गै बस्न पाउँदैनन् कति बेला र कहाँ बस्ने भन्ने निश्चित मापदण्ड बनाइएको छ। मन्दिरभन्दा बाहिर नागा बनेर हिँड्न पाइँदैन भित्र बस्दा पनि आफ्नै अनुशासनमा बस्छन्। नागा बाबाहरु भनेको आफ्नो इन्द्रीयहरु र आफ्नो लिङ्ग नियन्त्रण गर्ने शक्ति भएका हुन्छन्।
शिवरात्रीको बेलामा मात्र हैन हिन्दूधर्मको सबै कुम्भ मेलाहरुमा पनि सक्रिय हुन्छन्। हरिद्वारको कुम्भ मेलामा पनि धेरै नागा बाबाहरु देख्न सकिन्छ । महाशिवरात्री सकिएपछि बाबाहरु उतै जान्छन् र त्यहाँ पनि निश्चित ठाउँमा बसेर साधना गर्छन्।
वास्तविक नागा बाबा भनेको पैसा कमाउने र विभिन्न टुनामुना गरेर ठगी गर्ने हैन। नागा बाबा भनेको सनातन हिन्दू भाषाको संरक्षक हुन् । नागा बाबा भनेको योग साधनाको माध्यमबाट आफ्नो सुरक्षा गर्न र दैविक मन्त्रको शक्ति भएका हिन्दू धर्म जोगाउने सिपाही हुन्।
यी बाबाहरु पनि भगवान शिवजीको गणका रुपमा चिनिन्छन् । भगवान शिवजीले पनि वस्त्र फालेर निर्वस्त्र हिँड्नु भएको थियो । मरिसकेपछि सबै खरानी हुने हो त्यसैले जीवित हुँदा नै खरानी लगायो भने जीवनको रहस्य बुझ्न सकिन्छ भन्ने मान्यताले नागा बाबाहरु खरानी लगाएर निवस्त्र हिँड्छन्।
शिवरात्रीमा आगोको धुनी ताप्नुको रहस्य
शिवजी खुसी बनाउने भनेर आगोको धुनी ताप्ने नाममा अर्काको काठ दाउरा चोरेर बाल्ने प्रचलन पनि छ । खासमा त्यो खाले धुनी भगवान शिवले खोजेका हैनन् । शिवरात्री विशेष फागुन महिनामा पर्ने भएकाले न्यानोको लागि आगो तापिन्छ भने भगनवान शिवजी पनि धुनीप्रिय हुन् । तर शिवालयहरुमा विभिन्न भक्तालुजन आउने भएकाले संक्रमणको जोखिम हुन्छ । आगोको तापक्रमले किटाणु नष्ट हुने बैज्ञानिक तथ्य पनि भएकाले धुनी ताप्ने प्रचलन छ।
पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव तथा संस्कृतिविद् डा.गोविन्द टण्डनसँग गरिएको कुराकानीमा आधारित
Facebook Comment