कुवेतमा बम डिस्पोज गर्नेदेखि लडाकू समायोजनसम्म नेपाली सेनाका विविध रुप

डिसी नेपाल
२७ फागुन २०७७ ७:१३

स्वदेश र विदेशमा कार्यरत नेपाली सेनाका सकल दर्जाका लागि आज गौरबको दिन हो। नेपाली सेना दिवसको यो अवसरमा सबैमा शुभकामना अर्पण गर्दछु। र, केही तथ्यहरुलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु।

मुलुक अन्तकलह, अन्तरसंघर्ष क्षेत्रीय–जातीय विभाजन र विखण्डनतर्फ उन्मुख भएको सत्य सबैसामु, छर्लङ्ग छ। राष्ट्रिय एकीकरणको पहल प्रयास र मार्गलाई पहिचान र रक्षा गर्दै त्यसलाई पर्यटन विकाससँग जोड्ने चाहनाले नेपाली सेनाले प्रारम्भ गरेको कामले राष्ट्रिय एकताभाव जगाउने र बढाउने अभिप्राय बोकेको छ।

फुटेर होइन, जुटेर मात्र राष्ट्रिय हित, राष्ट्रिय रक्षा र सर्वाङ्गीण विकास गर्न सकिन्छ भन्ने नेपाली सेनाको अटल विश्वास छ। पृथ्वीनारायण शाहको सम्मानलाई खिसीट्याउरी गर्नेभन्दा उसको आह्वान र आफू त्याग गरेर रसायन बन्न तयार पहलकदमी भनेर बुझ्नु सुल्टो हुनेछ। उसको यो पहलले आमजनतालाई सकरात्मक र उत्साहजनक उर्जा र छाप छाडेको पंक्तिकारको निश्कर्ष छ।

संवैधानिक सर्वोच्चताको पुजारी

नेपाली सेना संविधान र कानूनको परिधिभित्र रहेर संवैधानिक सरकारले सुम्पिएको जिम्मेवारी बफादारिताका साथ पूरा गर्ने अराजनीतिक, स्वाभिमान खरो र तठस्थ राष्ट्रवादी शक्ति हो। यसलाई अराजनीतिक र तटस्थ राख्न योगदान गर्ने सबै संगठन प्रमुखहरु प्रशंसाका पात्र हुन्।

शान्तिको पक्षधर

विश्व शान्ति स्थापना होस अथवा क्षेत्रीय र आन्तरिक शान्तिको सवालमा नेपाली सेना शान्तिको दूत भएर शान्तिवार्ता, सम्झौता र शान्ति स्थापनामा मियो भएर उभिएको छ।
जनयुद्ध टुङ्ग्याउने कुरा होस वा तत्कालीन आतंककारीलाई राष्ट्रिय मूलधारमा ल्याउने जोडदार माग, सिफारिस र पहलतामा पंक्तिकार स्वयं साक्षी थिएँ। सीके राउत हुन वा बिप्लव समूहलाई मूलधारमा फर्काउन सेनाले सरकारलाई अनवरत जोडदार सिफारिस गर्दै आएको सत्य घाम जस्तै छर्लङ्ग छ।

नाकाबन्दी टार्ने अथवा हटाउने काममा होस वा दुई छिमेकीको डोक्लाम र गलवान सिक्किम विवादमा शान्तिपूर्ण समाधानको विकल्प खोज्न दिएको संगठनका सुझावलाई आफूले सकरात्मकरुपमा लिएको थिएँ। शान्तिका दूत गौतम बुद्धको शान्ति क्षेत्र नेपालले क्षेत्रीय मात्र होइन विश्व शान्तिको दीप प्रज्वलन गरेर स्थायी शान्ति स्थापना गर्न मध्यस्थता र सहजिकरण गर्ने हैसियत कायम राख्नुपर्दछ।

नेपाली सेनाको वार्षिक क्यालेण्डरमा शिवरात्री यस्तो दिन हो जुन लडाइभन्दा चर्को हुन्छ। रातको समयमा हाई अल्टिच्युड्बाट फ्रिफल जम्प गराएर टुँडिखेलमा अवतरण गराउन पंक्तिकारको ओठ मुख सुक्ने गर्दथ्यो। न भोक न निन्द्रा।

सन् १९९१ मा पंक्तिकारको कन्टिन्जेण्टले लेबनानबाट कुवेतमा बम डिस्पोजल टोली पठाएको थियो। कुवेतमा जलिरहेका तेल खानीहरुको आगो निभाउने र लडाइमा प्रयोग छरपष्ट बम, बारुद खोजी र डिष्पोज गर्ने खतरनाक काम पूरा गर्न कुनै देश जान तयार भएनन्। उच्च जोखिमपूर्ण र कठिन उक्त मिशनमा कुनै देश जान तयार नभएपछि हाम्रो गुल्म मादल र बासुरी बजाउदै हाँस्दै गाउदै नाच्दै गएको थियो।

अहिले पनि विश्वका अति जटिल कठिन, जोखिमपूर्ण शान्ति मिशन यु.एन.ले एकमात्र नेपाली सेनालाई दिने हो। जसले सेनाको शान्तिको चाहना, बहादुरी एवं बलिदानीभाव, अनुशासन र बफादारितालाई उजागर गरेको मान्नुपर्दछ।

माओवादीको हतियार कन्टेनरको रक्तपातबिहिन कब्जा होस् वा जनसेनाको समायोजन, त्यो ज्यादै उत्कृष्ट, अनुकरणीय र कदरयोग्य कदम थियो। यसको लागि नेपाली सेना विश्व शान्ति पुरस्कारको हकदार हो भन्ने पंक्तिकारको विश्वास छ।

बाह्य आक्रमणविरुद्धको ढाल

बाह्य आक्रमण कुन स्केलमा कहिले कसरी किन हुन्छ सेनासँग विस्तृत पूर्व योजना छ। त्यसलाई प्रतिरोध, प्रतिकार र नियन्त्रण गर्ने अद्यावधिक गृहकार्य र चुस्त दुरुस्त योजना छ। सानो मुलुकले ठूलो मुलुकको आक्रमणबाट राष्ट्रिय सार्वभौमिकता र भूअखण्डता रक्षा गर्न नसक्ने भन्ने हिनताबोध नेपाली सेनाले पालेको आफूले कहिल्यै अनुभूत गरिनँ। कडा प्रतिरोध (डेटरेन्स) र बहादुरी प्रतिकार क्षमताको कारण हो मुलुकको भौगोलिक अखण्डता अक्षुष्ण रहेको भन्ने कुरा कसैले विर्सनु हुँदैन।

नेपाली सेना विदेश सम्पर्क सम्बन्ध र समन्वयको भरपर्दो र विश्वसनीय मियो हो। सैनिक सम्बन्धको सूत्रधार पक्रेर सेनाले अकल्पनीय घरेलु दुर्घटनाहरु टारेको छ।
बहुआयामिक, बहुउद्देश्यीय र बहुविधात्मक भूमिका बोकेको राष्ट्रिय प्रतिरक्षा युनिभर्सिटी (एन डि यु) को स्थापना र संचालन सेनाको आधुनिकीकरण, विकास तथा राष्ट्रिय सुरक्षाको मजबुतीकरणको निमित्त अर्को कोसेढुङ्गा हो।

साझा सेना, आफ्नो सेना

नेपाली सेना जनताबाट पालित पोषित जनताको विश्वसनीय आफ्नो साझा संस्था हो। तसर्थ हरेक नागरिकलाई ‘मेरो सेना’ भन्ने हक छ । जनताकोे हक, हित, सुरक्षा, मानवअधिकारलाई नेपाली सेनाले सर्वोपरि प्राथमिकतामा राख्दै आएको छ । जनताबिनाको सेना ‘पानी बिनाको माछा’ हो भन्ने संगठनको आदर्शमा जनताको रक्षा कल्याण सम्मानको संवेदनशील अर्थ निहित छ।

खुकुरीदल, मिलिसिया, लालसेना, जनसेना, मधेशमुक्ति सेना, विप्लव सेना लगायतका तमाम विद्रोही समूहहरु राष्ट्रिय एकताको मूलधारमा आइसकेपछिको आजको सुखद् घडीमा मनाउन लागिएको सेना दिवसले विशेष महत्व राख्दछ। अबको सैनिक अपेक्षा भनेको राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको मजबुत जगमा उभिएर सुशासनमार्फत नेपाल र नेपालीलाई अबिलम्ब सम्वृद्धि र सुखको प्रत्याभूति दिलाउनु हो।

नेपाल सरकारलाई हात, साथ र काँध थापेर मुलुकको रक्षा र सर्वाङ्गीण विकासमा अनिवार्य जवाफदेही भई लाग्न उत्प्रेरित गर्नु हो। रोग, भोक, गरिबी, र बेरोजगार विद्रोहका मुहान हुन् । बाह्य हस्तक्षेप निम्त्याउने बहाना हुन्। र, राष्ट्रिय सुरक्षा कमजोर पार्ने अप्रिय घरेलु औजार हुन्।

सांस्कृतिक सम्पदाको पहरेदार

इतिहासदेखि पूजा, आराधना, व्रत लिएर भव्यसँग मनाइने शिवरात्रीको मुख्य संचालक हो नेपाली सेना। सम्पूर्ण राज्यका संयन्त्रले छुट्टी मनाएर मनोरञ्जन गर्ने यो दिनमा नेपाली सेनाको १२ बजेको हुन्छ। नेपाली सेनाको वार्षिक क्यालेण्डरमा शिवरात्री यस्तो दिन हो जुन लडाइभन्दा चर्को हुन्छ।

इतिहासका विभिन्न कालखण्डमा अग्रजहरुले डाँडाका चुट्टीहरुमा किल्ला स्थापना गरेर ढुंगा, सिस्नो, अरिङ्गालका भरमा कसरी बिस्तारवादी विदेशी दुश्मनलाई पराजित गरेर मातृभूमि रक्षा गरे ती ऐतिहासिक किल्लाहरु उच्च प्राथमिकताका साथ संभार रक्षा गर्न थालिसकेको छ।

रातको समयमा हाई अल्टिच्युड्बाट फ्रिफल जम्प गराएर टुँडिखेलमा अवतरण गराउन पंक्तिकारको ओठ मुख सुक्ने गर्दथ्यो। न भोक न निन्द्रा। यो गहिरो तनाव र पीडालाई मलमपट्टी लगाउन उपत्यकामा नेपाली सेनाले शिवरात्रीको भोलिपल्ट १ दिन छुट्टी दिने प्रचलन रहिआएको छ।

आजकै दिन राष्ट्र र सरकार प्रमुख तथा मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरु, राजदूत, सैनिक सहचारी र विभिन्न नियोगका कुटनीतिज्ञहरु, मान्यजन, संचारकर्मी र सैनिक परिवार तथा नेपाली जनताहरुलाई समारोहमा स्वागत सम्मान एवं शुभकामना आदानप्रदान गर्ने दिन हो।

अब लगत्तै आउने घोडेजात्रा होस् अथवा त्यसपछिको फूलपाती, राष्ट्रिय पर्व र सांस्कृतिक धरोहरको भरपर्दो पहरेदार र आज्ञाकारी संचालक हो नेपाली सेना। यी राष्ट्रिय पर्व प्रदर्शन गर्ने टुंडिखेलको पनि पहरेदार हो सेना।

न शिवरात्री न अरु पर्व, नेपाली सेनाले एक शब्द भाषण गर्दैन। छिमेकी मुलुकहरुलाई चुनौती दिने हरकत र प्रदर्शन पनि केही हुँदैन। केवल त्यहाँ आफूले अन्तर्राष्ट्रिय र आन्तरिकरुपमा निर्वाह गर्दै आएका सामान्य जिम्मेवारी पूरा गर्ने ईक्वीपमेण्ट, उपकरण र रणकौशलका कलाहरु मात्र प्रदर्शन गरिन्छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सांस्कृतिक, धार्मिक, पुरातात्विक सम्पदा रक्षाको लागि नेपाली सेनाले लिएको पहलकदमी र प्रयास सह्रानीय छ। यिनीहरुको मरामत, संभार, रक्षालाई पर्यटन विकास र सम्वृद्धिसंग जोड्न सकिने उसको निष्कर्ष छ।

पाल्पाको ऐतिहासिक संग्रहालय होस अथवा रानीमहल तिनको संभार सुरक्षामा सेना स्वस्फूर्त जागरुक भएर लागिपरेको छ। हिमालको सुन्दर प्रकृतिको काखमा खम्पा बिद्रोहीको क्याम्पलाई संग्रहालय बनाउने पहल होस वा छाउनीको सैनिक संग्रहालय अथवा जंगी अड्डा प्राङ्गणको पृथ्वीनारायण शाहको प्रदर्शनी कक्ष। यी सबैको स्थापनामा सेनाले अभिरुचिपूर्वक देखाएको तत्परता कदरयोग्य छ।

इतिहासका विभिन्न कालखण्डमा अग्रजहरुले डाँडाका चुट्टीहरुमा किल्ला स्थापना गरेर ढुंगा, सिस्नो, अरिङ्गालका भरमा कसरी बिस्तारवादी विदेशी दुश्मनलाई पराजित गरेर मातृभूमि रक्षा गरे ती ऐतिहासिक किल्लाहरु उच्च प्राथमिकताका साथ संभार रक्षा गर्न थालिसकेको छ।

फष्ट उद्धार रेस्पोण्डर

स्वदेश अथवा विदेशमा नेपाली सेनाले स्वस्फूर्त, स्वविवेक र स्वनिर्णयमा शीघ्र गरेको उद्धार, राहत र पूनर्निर्माण कार्यक्रम प्रशंसनीय र कदरयोग्य छन्।
महाभूकम्पमा नेपाली सेनाले नेपाली जनतालाई लगाएको गुन यसको एउटा ज्वलन्त उदाहरण हो। जारी कोरोना महामारी नियन्त्रणमा राजनीतिक हस्तक्षेपको बाबजुद उसले पुर्याएको उद्धार राहत योगदान उल्लेख्य रहिआएको छ।

नेपाली सेनाको भावना र रगतमा छ उद्धार सेवाभाव र समर्पणभाव। उसलाई उद्धारको लागि आदेश निर्देशन जरुरी पर्दैन। उद्धारपछि राहत हुँदै पुनर्निर्माणमा जुटेका सिपाहीका घरहरु आज पनि बारीभरि छरिइरहेका छन्। ‘पीडित जनतालाई पहिलो प्राथमिकतामा राख्नु नेपाली सेनाको आदर्श हो।

प्रकृति र वातावरण संरक्षण

विश्वमा यो मात्र एउटा प्रकृति र संरक्षणप्रेमी राष्ट्रिय सेना हो। जसले प्रकृति र वन्यजन्तु संरक्षणमा अतुलनीय योगदान गर्दै आएको छ। द्वन्द्वपश्चात चुनौती बढे सँगै उसले व्यापक सक्रियता र जवाफदेहिता बढाएर हासिल गरेको ‘शून्य शिकार’ उपलब्धि होस वा नयाँ स्थापना भएका र संवेदनशील निकुञ्ज आरक्षको सुरक्षा जिम्मा ग्रहण गर्ने काम तदारुकताका साथ स्वीकार गरेर तैनाथ भएको छ।

वागमती नदीको ढलमा हाम फाल्ने होस वा हिमाल सफाइको काम, वातावरण रक्षार्थ ऊ स्वस्फूर्त सचेत, संवदेनशील र उत्तरदायी भएर प्रस्तुत भएको छ। प्रकृतिको सुन्दर देश र जैविक विविधताको धनी देश नेपाललाई विश्व मानचित्रमा प्रकृतिप्रेमी तथा संरक्षणप्रेमी विशिष्ट मुलुक भनेर चिनाउन सेनाको उल्लेखनीय योगदान रहिआएको छ।

देश विकास निर्माणको साझेदार

आफ्नो ज्यानको बाजी लगाएर विकट उच्च र पहाडी र हिमाली भिर पहिरो खोपेर बाटो घाटो पुर्याउने काम होस् वा द्रुतत्तर सडकमार्ग वा चुरे संरक्षणलाई दिगो हरियो राख्न जलासय बनाउने काम, सेनाको उल्लेखनीय निर्माण योगदान रहिआएको छ। स्थानीयस्तरमा जनहितका बत्ती, बाटो, खानेपानी, ताल–तलैया, स्थानीय सम्पदाहरुको संभार र जगेर्नामा सेनाले पुर्याउँदै आएको योगदानले सेना–जनतालाई नङमासु जस्तै बनाएको छ।

१६ वर्ष अगाडि द्वन्द्वको उत्कर्षमा आफू स्वयं स्वस्फूर्त फिल्डमा खट्टिएर १० वर्षमा फोर्न नसक्ने चट्टान १० महिनामा सफा गरेर खोटाङको मनमाया एयरपोर्टमा जहाज अवतरण गराएको आफ्नो स्वयंसेवाले दिने सुख र सन्तुष्टी आजीवन असीम रहने छ।

४ वर्ष अगाडि धनकुटा हिलेमा आफ्नो फौजले स्थानीयहरुसँग मिलेर नवनिर्माण गरिदिएको बक्रकुण्ड मन्दिर आजीवन आफ्नो मानसपटलमा रहिरहने छ। यस्ता जनहितका खातिर जनताको आग्रहमा स्थानीयसँग मिलिजुली गरेका कामहरुको फेहरिस्त धेरै लामो छ। यो नेपाली सेनाको जनताप्रतिको उच्च रक्षा सम्मान कल्याणभाव हो। राष्ट्र निर्माणमा हातेमालो र श्रमदान गरेर योगदान गर्ने पवित्र मनसाय हो। ‘सम्वृद्धि र सुख’ को तीव्र व्यग्र चाहना हो।

दलहरुका सस्ता नाराहरुले न्यायालय, अन्य सुरक्षा निकायहरु, कर्मचारीतन्त्र, प्राविधिक जनशक्ति र सेवाप्रदायी संयन्त्रहरुलाई राजनीतिकरण गरेर बेकम्मा बनाएको सत्य जगजाहेरै छ। रुकुम घटना हेरौं अथवा लैङिक जातीय, क्षेत्रीय, वर्गीय, विभेदका घटनाले यो कुरालाई पुष्टि गरेकै छ। तर, नेपाली सेना भने प्रजातान्त्रिक मूल्य मान्यता पालना गर्ने नमूना अराजनीतिक स्तम्भ भएर उभिएको छ। यद्यपि थप सुधारका पहल र प्रयासप्रति उसको ध्यान केन्द्रीत छदै छ ।

आर्थिक अनुशासनको मियो

मुलुकको व्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने साँचो सेनासँग छैन। तर आफूले नमूना देखाएर राष्ट्रलाई सुशासन, सम्वृद्धि र सुखको बाटोमा डोर्याउने उसको पहल र प्रयासलाई कसरी स्यावास र सलाम नभन्ने? वर्तमान सैनिक नेतृत्वको दृढ अठोट, प्रतिबद्धता र त्याग सबैले अनुकरण गर्ने हो भने मुलुकमा सुशासन र सम्वृद्धि आउन बेर लाग्ने छैन। राष्ट्रिय सुरक्षाको मजबुत जग निर्माण गर्न र सम्वृद्धिको मार्गचित्र कोरेर मुलुकलाई सुशासन र विकासको मार्गमा डोर्याउन वर्तमान सैनिक नेतृत्वको योगदान अद्वितीय रहेको छ।

अन्य राष्ट्रिय योगदान

शिक्षा, स्वास्थ्य, रोजगारीको जनताको संवैधानिक हकलाई सेनाको पारदर्शी, सिपाहीमुखी, जनमैत्री कल्याणकारी कोषले केही राहत प्रदान गरेको छ। सरकारको आफ्नो आर्थिक दायित्व हलुका बनाउन यो उल्लेखनीय योगदान हो।

दक्ष प्राविधिक जनशक्ति प्रशिक्षण र उत्पादनको लागि सेना कारखाना हो। खेलकूद क्षेत्रमा मुलुकलाई सक्षम, सवल, स्वस्थ, प्रतिस्पर्धी र प्रतिबद्ध खेलाडी उत्पादन र योगदान गर्न सेनाको विशेष भूमिका रहिआएको छ। परिवर्तनको स्वीकारोक्ति, प्रजातन्त्रको सवलीकरणमा योगदान, अस्थिर राजनीति र खुला सीमानाको अतिक्रमण प्रति संवेदनशील भएर सीमा सुरक्षाको स्वामित्व ग्रहण गर्ने संयन्त्रमा आफ्नो भूमिका, निगरानी र नियन्त्रण राख्न उसले हालै सीमा सुरक्षा निर्देशनालय खडा गरेको छ।

नेपाली सेनाको आन्तरिक सुधार, शुद्धिकरण र आधुनिकीकरणले निरन्तरता पाइरहोस्। उसले स्थापित गरेको संविधान र नागरिक सर्वोच्चताको अक्षरश पालना, आर्थिक अनुशासन, नैतिक उत्तरदायित्व, जवाफदेहिता, देशभक्ति र सम्वृद्धिको सर्तलाई सम्मान गरेर नेपाल सरकार जनमुखी, जनउत्तरदायी र सुशासन निर्देशित सम्वृद्धिप्रेमी होस्। ईमान्दारिता, जवाफदेहिता र त्याग व्यवहारमा देखियोस।

आत्म निर्भरउन्मुख आर्थिक विकासले मुलुकमा कायापलट हुने छ र त्यसले मात्र राष्ट्रिय सुरक्षा मजबुत हुनेछ। एउटा देशभक्त, नैतिकवान, ईमानदार, आज्ञाकारी र त्यागी संगठनको स्वाभिमान र चाहनालाई सम्बोधन र सम्मान गरेर नेपाल सरकारले सम्वृद्धि र सुखको छोटो यात्रा शीघ्र पूरा गर्नुपर्दछ । बिलम्ब र बहाना सहने धैर्यता र सहनसिलता छैन अब।

आजको यस पुनीत दिनले हरेक संकट र दुःखको साथी अविचालित, अराजनीतिक र जनहितमा समर्पित नेपाली सेनालाई ‘मेरो सेना’ भन्ने अपनत्व र स्वामित्व ग्रहण गर्न हरेक नेपालीलाई प्रेरणा दियोस । अनुशासित, सु–संगठित, जवाफदेही र जनप्रिय नेपाली सेनालाई जस्तोसुकै चुनौती सामना गर्ने र हरेक काममा सफलता र विजय प्राप्त गर्ने विशिष्ट क्षमता प्राप्त भइरहोस। आजको दिनमा त्यही मेरो शुभकामना ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *