ओली समूहले बनाएको प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवमा महिलाको सहभागिता शून्य

डिसी नेपाल
२८ फागुन २०७७ २२:११

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमालेलाई ब्युँताइदिएपछि सक्रिय बन्दै गरेको एमालेको एक समूहको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्यो। प्रधानमन्त्री तथा पार्टी केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए। जसलाई सो समूहले ‘विशेष बैठक’ भनेको छ।

यो विशेष बैठकले पार्टीको संरचनामा परिवर्तन गर्नुका साथै केही नेताहरुको जिम्मेवारी खोस्ने र केही नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकले नेताहरुलाई प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष तथा प्रदेश सचिवको जिम्मेवारी दिएको छ।

यसरी ७ वटा प्रदेशमा २१ जना नेताहरुलाई जिम्मेवारी दिँदा त्यसमा एकजना पनि महिला भने परेनन्। २१ जना नै पुरुष नेताहरुले जिम्मेवारी पाएका छन्।
नेपालको संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्तिता गरे पनि एमालेको प्रदेश कमिटीमा भने त्यो सहभागिता देखिएन।

त्यसो त खारेजीमा परेको नेकपामा पनि केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिता थिएन र पार्टीको सचिवलाय, स्थायी कमिटीमा पनि ३३ प्रतिशत सहभागिता थिएन।

एमाले नेत्री सुजाता शाक्यले महिला सहभागिताको विषयमा पार्टीका अन्य संरचनामा पनि समावेश गरेर जानुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिइन्। उनले डिसी नेपालसँग भनिन्, ‘पार्टी एकताको नाममा विगतका ३ वर्षमा संगठन निर्माण रोकियो, व्यक्तित्व विकास पनि रोकियो। मंसिरमा महाधिवेशन हुन्छ, त्यहाँबाट समावेशीको विषयलाई कार्यान्वयनमा लैजान हामी पहल गर्छौ।’

उनले संविधानमा व्यवस्था भएबमोजिम ३३ प्रतिशत महिला सहभागिताको विषयलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

यी हुन् जिम्मेवारी पाउने नेताहरुः

प्रदेश १
इन्चार्जः सुवासचन्द्र नेम्वाङ
अध्यक्षः देवराज घिमिरे
सचिवः विनोद ढकाल

प्रदेश २
इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभु साह,
सचिवः सुमन प्याकुरेल

बाग्मती
इन्चार्जः रामबहादुर थापा बादल
अध्यक्षः आनन्द पोखरेल
सचिवः खेम लोहनी

गण्डकी
इन्चार्जः पृथ्वीसुब्बा गुरुङ
अध्यक्षः जगत विश्वकर्मा
सचिवः गोविन्द नेपाली

लुम्बिनी
इन्चार्जः शंकर पोखरेल
अध्यक्षः लीला गिरी
सचिवः खेममान खड्का

कर्णाली
इन्चार्जः यमलाल कँडेल
अध्यक्षः गुलाबजंग शाह
सचिवः धर्मराज रेग्मी

सुदूरपश्चिम

इन्चार्जः लेखराज भट्ट
अध्यक्षः कर्ण थापा
सचिवः राजेन्द्र सिंह रावल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *