एमालेको विवाद समाधानको प्रयास शुरु

डिसी नेपाल
२ चैत २०७७ १४:४५

काठमाडौं। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सबैभन्दा धेरै खुशी ब्युँतिएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भए। र सबैभन्दा चिन्तित एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भए।

अब एमालेमा रहेको विवाद समाधनको प्रयास शुरु भएको छ। र पुस ५ पछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी मुख्यालयमा वार्ता भएको छ।

सर्वोच्चको फैसलाअघि निकै टाढा पुगेका ओली र माधव नेपाल अब एक ठाउँमा उभिनुपर्ने थियो। तर, उभिने कसरी ? रणनीति बनाउन माधव समूहले अर्याल होटलमा लगातार छलफल गर्यो। ओली समूहमा पनि आन्तरिक छलफलमै थियो। यहीबीचमा गत शुक्रबार बालुवाटारमा बसेको ओली पक्षीय एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्दै माओवादी त्यागेर सरकारलाई समर्थन गरेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्यो, माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै आफू निकट नेताहरुलाई जिम्मेवारी दियो।

बालुवाटारको यो निर्णयले बिच्किएको माधव समूहले समानान्तर किमटीको थालनीमात्र गरेन निर्वाचन आयोगलाई पत्र लेख्दै २८ फागुनको निर्णय अस्वीकार गर्न भन्यो। आइतबार सो समूहले आयोगलाई पत्र लेखेको थियो।

पस्थिति यस्तो थियो कि एमाले र माओवादी नब्युँतिदासम्म माधव नेपालहरु खुशी थिए, प्रधानमन्त्री ओली रक्षात्मक थिए। तर, फागुन २३ मा गरेको सर्वोच्चको फैसलाले राजनीतिक परिदृश्य नै उल्ट्याइदियो। र माधव नेपालहरु विखलबन्दमा परे। यसको कारण थियो। नेकपा कायम रहँदा उनीहरुले प्रचण्डसँगको सहकार्यमा ओलीविरुद्ध मोचाबन्दी गरेका थिए।

जसले ओलीलाई नेकपाको अध्यक्षबाट हटाउँदै पार्टीको साधारण सदस्यसमेतबाट हटाएको थियो। र नेकपाको संसदीय दलको नेताबाट पनि हटाएको थियो। प्रधानमन्त्री ओली नेकपाको सचिवलाय, स्थायी कमिटी केन्द्रीय कमिटी र संसदीय दलमासमेत अल्पमतमा थिए।

तर एमाले ब्युँतिएपछि उनी फेरि शक्तिशाली बने। कारण एमालेको स्थायी कमिटी बाहेक अन्य सबै किमटीहरुमा उनी बुहमतमा छन्। संसदीय दलमा त झण्डै दुई तिहाई बहुमत ओलीसँग छ।

यसरी आफूले नै कारबाही गरेको ओलीलाई अध्यक्ष मानेर अगाडि बढ्नुको विकल्प माधव नेपालहरुसँग थिएन र छैन। तर, ओलीले प्रतिसोध साँधे भने के ? त्यसैले माधव समूहले ओलीले चैत ७ गतेका लागि बोलाएको बैठकमा जान वातावरण बन्नुपर्ने बताएको थियो। र रणनीति तय गर्न राष्ट्रिय कार्यकर्ता भेला नै बोलाएको छ।

एमालेमा दुबैपक्ष आक्रामक रुपमा अगाडि बढेपछि एमाले पनि विभाजनको बाटोमा गएको विश्लेषण हुन थालेको बेला सोमबार भएको धुम्बाराही वार्तामा कुनै सहमति नजुटेपछि वार्ताको ढोका भने खोलेको छ। र दुबै पक्षले कुलडाउन हुने संकेत गरेका छन्।

बैठकपछि जानकारी दिँदै एमाले सचिव प्रदीपकुमार ज्ञवालीले छलफल सकरात्मक भएको जानकारी दिए। उनलाई ओली समूहले प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ। उनले े दुबै समूहबीच विभिन्न तहमा वार्ता जारी राख्ने सहमति भएको तर मिति भने तय भइनसकेको बताए।

यस्तै माधव समूहका नेताहरुले पनि वार्ता सकरात्मक रहेको तर निश्कर्ष ननिस्केको बताएका छन्। उनीहरुले छलफलमा आफूहरुले फागुन २८ को बालुवाटार बैठकबाट भएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखेको बताएका छन्। बैठकपछि बोल्दै एमाले उपाध्यक्ष भीम रावलले आफूहरुले २८ गतेको निर्णय खारेज हुनुपर्ने अडान राखेको तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीले त्यो स्वीकार गरिनसकेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *