एमाले फुट्यो भने युवा नेताको भविष्य के हुन्छ?

डिसी नेपाल
३ चैत २०७७ १०:२१

काठमाडौं। सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववत अवस्थमा फर्काएपछि एमालेभित्र स्पष्ट दुई धार देखिएका छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ब्यूँतिएसँगै आफ्नो राजनीति भविष्य जोगिएको ठानेका छन् भने वरिष्ठ नेता माधव नेपाल समूह भने आफू कर्नरमा परेको ठानिरहेको छ।

एमाले ब्यूँतिएपछि पार्टी विभाजनतर्फ अगाडि बढिरहेको भन्दै युवा नेताहरुले भने चिन्ता जनाउन थालेका छन्। पार्टी ब्युँतिएपछि सोमबार दिउँसो अध्यक्ष ओलीले माधव नेपाल समूहसँग छलफल गरे। तर दुवै समूहमा विगतको गल्ती कमजोरीप्रति पश्चाताम गरेनन्, बरु आफूलाई सही सावित गर्ने प्रयास गरे।

सोमबारको छलफलले वार्ताको ढोका खोलेपनि सहमतिको संभावनालाई जीवित राख्न सकेको छैन। पार्टी विभाजनतर्फ अग्रसर भइरहँदा माधव नेपाल समूहमा आवद्ध युवा नेतामा भने चिन्ता देखिएका थालेको र उनीहरु जसरी पनि पार्टी एकताबद्ध बनाउनु पर्छ भन्दै आवाज उठाउन थालेका छन्।

मंगलबार विहान एमाले प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘टुटेको संवाद जोडिनु राम्रो हो। सबैले सकारात्मक पहल गरौं। संभावित दुर्घटना रोकौं, भावी पुस्तालाई जोगाउँ।’

भट्टराईले संवाद हुनु राम्रो भएपनि त्यो संवाद सकारात्मक परिणाम दिनेतर्फ अगाडि नबढेको संकेत गरेका छन्। माधव नेपाल समूहमा आवद्ध भट्टराई जस्ता अन्य नेताहरुले पनि पार्टी एकता जोगाउनु पर्ने आवाज उठाउन थालेका छन्।

भट्टराईले जस्तै मंगलबार विहान माधव नेपाल निकट नेता विष्णु रिजालले पनि पार्टी एकताको पक्षमा सामाजिक संजालमा स्टाटस लेखेका छन्।

‘नेकपा एमालेका नेताहरुबीच संवाद प्रारम्भ हुनु आफैंमा सुखद् छ। एउटै बसाइबाट तिक्तता अविश्वास र आशंका मेटिँदैनन्,’ उनले लेखेका छन्, ‘तर, भित्रबाट चुकुल लगाएर किन भित्र नआएका भन्दा कुरा मिल्दैन। फागुन २८ मा केन्द्रीय कमिटीकासबै सदस्यहरुलाई खबरै नगरी भएका ‘निर्णय’ खारेज गर्ने वित्तिकै स्वतः एकताको वातावरण बन्छ। यतिबेला एमालेमा सबैसँग माग नै छैन। नवौं महाधिवेशनपछि बनेको र निर्वाचन आयोगको अभिलेखमा रहेको केन्द्रीय कमिटीको बैठक आयोजना गर्नासाथ पार्टी ‘लिक’ मा हिँड्न थालिहाल्छ। अनि कुनै पनि विषयमा सर्वसम्मत्ति नभएमा पार्टी विधान बमोजिम बहुमत–अल्पमतका आधारमा निर्णय गरेर अघि बढ्ने स्पष्ट बाटो हुँदाहुँदै किन सुरुङभित्र छिर्ने? एकता संभव छ, यसको सुखद विकल्प छैन।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल अहिलेको अवस्थामा माओवादी केन्द्रले नाम परिवर्तन गर्ने र एमालेभित्रको एउटा समूहलाई समेटेर नयाँ दल बनाएर अघि बढ्ने संभावना रहेको बताउँछन्।

‘अहिले एमालेभित्रको एउटा ठूलै समूह माओवादीसँग सहकार्य गर्न तयार देखिन्छ,’ राजनीतिक विश्लेषक पोखरेलले डिसी नेपालसँग भने, ‘तर माओवादीमै जान उनीहरुलाई समस्या हुन सक्छ, त्यसैले अहिले माओवादीको नाम परिवर्तनको कुरा पनि उठिरहको छ। अब माओवादीको नाम परितर्वन गरेर नयाँ कम्युनिष्ट पार्टी गठन गर्न सक्छन्। त्यसपछि एमाले वा नयाँ पार्टी मध्ये कुन मुलधारको हुन्छ त्यसका आधारमा युवा नेताको भविष्य निर्धारण हुन्छ।’

एमाले र माओवादी केन्द्रभित्र भविष्य बोकेका धेरै युवा नेता रहेको उल्लेख गर्दै पोखरेलले मुलधारमा आउने दलका पछि धेरै युवा नेता लाग्ने भएकाले केही समय अहिलेको ध्रुबीकरणलाई नियाल्नुपर्ने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *