भारतीय मिडियालाई प्रधानमन्त्रीको अन्तरवार्ता ‘चीनका कारण भारत–नेपाल सम्बन्ध बिग्रिँदैन’

डिसी नेपाल
३ चैत २०७७ ११:००

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र नेपालबीच पछिल्लो समय विकसित हुँदै गएको द्विपक्षीय सम्बन्धले यसअघि नेपाल र भारतबीच रहँदै आएको सम्बन्धलाई कुनै असर नपार्ने बताएका छन् । भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धबारे कुनै शंका वा द्विविधा हुन नहुने बताउँदै प्रधानमन्त्रीले भारत र चीन दुवैसँग नेपालको बराबरी सम्बन्ध रहेको बताए । भारतीय टेलिभिजन सिएनएन न्यू १८ लाई दिएको एक अन्तरवार्तामा प्रधानमन्त्रीले नेपालमा चीन र भारत दुवैको लगानी रहेको बताउँदै नेपालले अन्य देशहरुबाट समेत लगानी स्वीकार गर्ने प्रस्ट पारे ।

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशित गरेपछि नेपाल र भारतबीचको सम्बन्धबारे कुरा गर्दै प्रधानमन्त्रीले यस विषयमा दुई देशबीच छलफल सुरु भइसकेकोले सत्य र वार्ताका आधारमा यसको समाधान निकालिने विश्वास व्यक्त गरे ।चीनले नेपालमा गरिरहेको लगानीले नेपाल पछि ऋणको पासोमा पर्ने खतरा नभएको बताउँदै प्रधानमन्त्रीले चीनबाट नेपालमा भएको लगानी खतराको स्थितिसम्म नपुगेको बताए ।

भारतले नेपाललाई कोभिड–१९ को १ मिलियन डोज उपलब्ध गराउनु कूटनीतिको विषय नभएको प्रधानमन्त्रीले बताए । भारतले मैत्रीपूर्ण छिमेकीको रुपमा नेपाललाई भ्याक्सिन दिएको बताउँदै उनले यो केवल मित्रताको विषय भएको बताए । कोभिड –१९ महामारीले नेपाल र भारतबीतको द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताउँदै प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध साझा हित, साझा सम्मान र वास्तविकतामा आधारित रहेको बताए ।

पछिल्लो ३–४ वर्षयता सार्कको शिखर सम्मेलन गर्न नसकिएकोमा अब सार्कको शिखर सम्मेलन आयोजना गरी जिम्मेवारी हस्तान्तरण गर्न नेपाल तत्पर रहेको प्रधानमन्त्रीले बताए । अहिले नेपाल सार्कको अध्यक्ष राष्ट्र हो र अब नेपालले पाकिस्तानलाई सार्कको अध्यक्षता हस्तान्तरण गर्नुपर्नेछ । सार्कका सदस्यहरुमा यो संगठन त्यति प्रभावकारी छैन भन्ने भ्रम रहेको बताउँदै प्रधानमन्त्रीले सार्कको कामबाट अहिल्यै सन्तुष्ट हुन नसकिने भए पनि यसको निष्कर्ष सकारात्मक भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *