सर्वदलीय बैठकमा राष्ट्रपतिले भनिन्ः मैले संविधानअनुसार नै संसद विघटनको निर्णय सदर गरेकी हुँ

डिसी नेपाल
३ चैत २०७७ १८:३३

काठमाडौं। तत्कालिन सत्तारुढ दल नेकपाको आन्तरिक विवादमा सरकारले प्रतिनिधिसभा विघटन गरेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हतार हतारमा सदर गरेको भन्दै केही दलहरुले आलोचना गरे। र राष्ट्रपति भण्डारीलाई विवादमा तानियो।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछि यो विषय सेलाइसकेको छ। तर, यो प्रकरणमा दल र राष्ट्रपतिबीचको सम्बन्ध सुमधुर भएको थिएन। र राष्ट्रपति भण्डारी र दलका नेताहरुबीच भेटघाट पनि भएको थिएन।

मंगलबार राष्ट्रपति भण्डारीले आफ्नो आसन्न बंगलादेश भ्रमणको अवसरलाई उपयोग गर्दै पूर्वप्रधानमन्त्रीहरुसहित सर्वदलीय बैठक बोलाइन्। यो बैठकले दलका शीर्ष नेताहरु र राष्ट्रपति भण्डारीबीच छलफलको अवसर जुर्यो।

बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको प्रसंग निकाल्दै आफूले संविधानमै रहेर संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को निर्णयलाई सदर गरेको बताएकी छन्। ती नेताका अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनबारे आफ्नो भनाइ राखेपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो सरकारको निर्णयको बचाउ गरेका थिए। उनले ताजा जनादेशमा जानेकुरा अन्नेथा नभएको भन्दै जनादेशमा जानेकुरा ठिकै भएको बताएका थिए।

वर्तमान राजनीतिक गतिरोधबारे बोल्दै राष्ट्रपति भण्डारीले दलहरुलाई मिलेर जान सुझावसमेत दिएकी छन्। उनले सबै दलहरु मिलेर देश विकासमा लाग्नुपर्ने सुझाव दिएकी थिइन्। बंगलादेश भ्रमणबारे बोल्दै राष्ट्रपति भण्डारीले आफ्नो राजकीय भ्रमणका अवसरमा कोरोनाका असर, जलवायु परिवर्तनको विषयमा केन्द्रित हुने बताएकी थिइन्।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खासै नबोलेको बैठकमा सहभागी एक नेताले बताए। उता माओवादी केन्द्रक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले भने राजनीतिक विषयमा केही बोल्ने समय नभएको बताएका थिए। उनले आफूलाई यो बैठक खाली भेटघाटमात्र होला भन्ने लागेको उल्लेख गर्दै राजनीतिक विषयमा धेरै नबोल्ने बताएका थिए।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूलाई कार्यक्रममा स्वागत गर्दै हाम्रो मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी थिइन्।

राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ। यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *