जेलब्रेककी कमाण्डर भुजेललाई पक्राउ गर्न पुर्जी जारी

डिसी नेपाल
३ चैत २०७७ २२:४४

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी विप्लबसमूहकी स्थायी समिति सदस्य उमा भुजेल शिलुलाई फेरि पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ। उनलाई घरमा नभेटेपछि उनको घरमै पक्राउ पुर्जी टाँस गरिएको छ। उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गर्न पुर्जी जारी भएको हो।

गोर्खा जेलब्रेककी कमाण्डर भनेर चिनिएकी भुजेलको गोर्खास्थित घरमै पुगेर प्रहरीको टोलीले पक्राउ पुर्जी टाँस गरेको हो। भर्खरै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारवीच ३ बुँदे सम्झौता भएको र त्यसमा धरपकट नगर्नेमात्रै होइन जेल परेका नेता कार्यकर्तालाई रिहा गर्नेसमेत उल्लेख छ।

यो सम्झौताको १५ पनि नबित्दै भुजेलको घरमा पक्राउ पुर्जी टाँसिनुले अरु नेता कार्यकर्तामाथि पनि पुन धरपकड शुरु हुने पो हो कि भन्ने आशंका थप भएको बिप्लव समूहका एक नेताले डिसी नेपाललाई बताए।

नेकपा र नेपाल सरकारवीच भएको तीन बुँदे सहमतिमा नेकपा माथिको प्रतिबन्ध हटाउने, पक्राउ परेका नेताकार्यकर्ता रिहा गर्ने उल्लेख छ। तर नेताहरु हेमन्तप्रकाश ओली, माइला लामालगायतका उच्चस्तरका नेता पनि हालसम्म जेलमै छन्।

नेकपाकी पूर्व मेची व्यूरो इन्चार्जसमेत रहेकी स्थायी समिति सदस्य उमा भुजेल शिलुको गोर्खाको भानुचेक काफलडाँडास्थित घरमा प्रहरीले पुनः पक्राउ पुर्जी टाँस गरेको उनको पारिवारिक श्रोतले बताएको छ। उक्त पुर्जी जिल्ला अदालत मोरङबाट जारी गरिएको छ।

पक्राउ पुर्जी कर्तव्य ज्यान मुद्दामा जारी भएको र भान्चेक प्रहरी चौकीमा इन्चार्जसमेत रहेका सईको नेतृत्वमा गएको प्रहरी टोलीले टाँसेर फर्केको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *