बहराइनका राजकुमारले उपहार दिएको कोभिड भ्याक्सिनको नेपालको नियामकले अनुसन्धान गर्दै

डिसी नेपाल
४ चैत २०७७ १०:५६

काठमाडौं। सगरमाथा आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीले नेपालको एक गाउँलाई उपहार दिन भन्दै ल्याएको २ हजार डोज कोभिड भ्याक्सिनको नेपालको औषधि नियामक निकायले अनुसन्धान गरिरहेको छ । राजकुमार शेख मोहमद हमाद मोहमद अल खलीफा सोमबार राति तीन बेलायती नागरिकसहित अन्य १५ जनालाई लिएर काठमाडौँ आइपुगेका थिए। बहराइन रक्षा फौजको एक हिस्साको रुपमा विश्वको सर्वोच्च हिमाल आरोहण गर्न लागिएको हो।

उनीहरूको आधिकारिक इन्स्टाग्राममा पोस्टका अनुसार पर्वतारोहण उपकरण तथा प्रावधानहरूका साथसाथै उनीहरूको टिमले १ हजार मानिसहरूलाई भ्याक्सिन दिनको लागि अक्सफोर्ड÷एस्ट्राजेनेका खोपको पर्याप्त मात्रा पनि ल्याएको छ। यी खोपहरू सगरमाथासम्म पुग्ने बाटोमा हिमालय पर्वतमाला नजिकैको एक गाउँका बासिन्दाहरूलाई दिइनेछ । यो गाउँका बासिन्दाले हालै बहराइनको शाही परिवारको नाममा स्थानीय हिमालको नाम परिवर्तन गरेर बहराइन रोयल पिक्स राखेका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार तथा मेजर जनरल शेख नासर बिन हमाद अल खलीफाको इन्स्टाग्राम पोस्टमा भनिएको छ ‘जब उनीहरू आरोहणका लागि जानेछन्, उनीहरू बहराइन रोयल पिक्सको छेउमा १ हजार नागरिकहरू भएको गाउँ हुँदै जानेछन् र त्यो गाउँका बासिन्दाहरूलाई खोप लगाउनेछन्।’ अर्को पोस्टमा भनिएको छ ‘बहराइनबाट पठाइएका अत्यावश्यक खोपहरू आगामी दिनहरूमा नेपालको स्वास्थ्य मन्त्रालयको निर्देशनमा वितरण गरिनेछ । योजना र प्रशासन भोलिबाटै सुरु हुनेछ ।’

यो घोषणा नेपालको औषधि नियामकका लागि आश्चर्यको कुरा भएको छ । द काठमाडौं पोस्टसँग कुरा गर्दै औषधि व्यवस्था विभागले आफूलाई कुनै पनि भ्याक्सिन यसरी नेपाल ल्याइन लागेकोबारे जानकारी नभएको बताएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले काठमाडौँ पोस्टलाई भने, ‘पूर्व स्वीकृति नलिई मुलुकमा कसरी खोप ल्याइयो भन्ने विषयमा छानबिन गर्न औषधि निरीक्षकको टोली खटाएका छौँ ।’ कोल्ड चेन र सुरक्षा मापदण्ड पूरा गर्नका लागि देशभित्र खोप आयात गर्ने जो कोहीले पनि आधिकारिक माध्यममार्फत गर्नुपर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *