प्रधानमन्त्री बन्न देउवा किन अनिच्छुक ?

डिसी नेपाल
४ चैत २०७७ ११:५१

काठमाडौं। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइ दिएपछि राजनीतिको केन्द्रमा फेरि नेपाली कांग्रेस अगाडि आएको छ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने वित्तिकै सरकार अल्पमतमा पर्छ। माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेको छ तर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

एमाले र माओवादी केन्द्र फरक पार्टी भएपछि नयाँ सरकार गठनका लागि कांग्रेसलाई अगाडि बढ्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले आग्रह गरेका छन्। कांग्रेसभित्रै पनि सरकारको नेतृत्व गर्न सभापति शेरबहादुर देउवालाई सुझाव आइरहेको छ। तर देउवा सरकारमा जाने वा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विषयमा मौन देखिन्छन्।

सत्ता र सरकारको चाबी आफ्नै हातमा आउँदा पनि बुढानिलकण्ठ शान्त देखिन्छ। प्रधानमन्त्री हुन २०७३ को स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग अस्वभाविक गठबन्धन गरेको आरोप खेपेका देउवा अहिले सरकारको नेतृत्व लिन अग्रसर नहुनु अनौठो रहस्य भएको राजनीतिक बृतमा व्याख्या हुन थालेको छ।

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षदलको नेता ‘प्राइममिनिस्टर इन वोइटिङ’ हो। सरकार असफल हुँदा स्वभाविक रुपमा विपक्षीदलको नेताले अग्रसर लिनुपर्ने हो। भावी सत्ता समीकरणका विषयमा अहिलेसम्म नेकपा माओवादी  केन्द्र र संसदको चौथो दल राजपाको दौडधुप चलेको छ। तर नेपाली कांग्रेस सभापति देउवा ढोकामै आएको प्रधानमन्त्री पद छोडेर झ्यालबाट चिहाइरहेका छन् भनेर आम राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

अहिलेको परिदृश्यमा प्रधानमन्त्री बन्ने प्रवल सम्भावना भएका नेताको रुपमा देउवा नै अग्रपंक्तिमा छन्। तर उनी प्रतिस्पर्धामा नभई स्वतः रुपमा प्रधानमन्त्रीको जिम्मेवारी लिने दाउमा देखिन्छन्।

सभापति देउवाको मौनतामा रहस्य भएको उनकै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आरोप लगाउन भ्याए। नेता पौडेलले कांग्रेस अनिर्णयको बन्दी हुनुमा सभापति जिम्मेवार रहेको दावी गरे ।

‘कांग्रेस अहिले अनिर्णयको बन्दी भइरहेको आरोप लागिरहेको छ,’ पौडेलले डिसी नेपालसँग भने, ‘हाम्रो सभापतिज्युको अहिलेको उदासिनता मलाई पनि रहस्यमय लागिरहेको छ।’ पौडेलले देशमा ‘राजनीतिक अराजकता’ बढिरहेको समयमा नेपाली कांग्रेसले चाँडै ठोस निर्णय गरेर राजनीतिक निकाश दिनुपर्ने धारणा राखे।

यो समय कांग्रेस ठोस निर्णयविहीन र मौन बसे राष्ट्रको मूल राजनीतिमा भूमिका नदेखिने बताउँदै नेता पौडेलले भने, ‘अझै पनि निर्णय दिन नसक्ने हो भने राष्ट्रको मूल राजनीतिमा कांग्रेसले भूमिका खेलेको ठहर्दैन, दायित्व पूरा गरेको ठहर्दैन। यो अनिर्णयको, ढुलमुल अवस्थामा कांग्रेस रहनु हुँदैन।’

सत्ता र सरकारको चाबी आफ्नै हातमा आउँदा पनि बुढानिलकण्ठ शान्त देखिन्छ। प्रधानमन्त्री हुन २०७३ को स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग अस्वभाविक गठबन्धन गरेको आरोप खेपेका देउवा अहिले सरकारको नेतृत्व लिन अग्रसर नहुनु अनौठो रहस्य भएको राजनीतिक बृतमा व्याख्या हुन थालेको छ।

वरिष्ठ नेता पौडेललाई डिसी नेपालको यो प्रश्नमा सभापतिको मौनतामा रहस्य हुनु आज सम्म ठोस निर्णयको बन्दी हुनुनै प्रमुख रहस्यको कारण रहेको बताउँछन्। केन्द्रीय सदस्य गुरुराज घिमिरे सभापति मौन र कम बोलेपछि यो खाले अड्कलबाजी हुनु स्वभाविक भएको ठान्छन्। तर, मौनताको रहस्य हुनु भनेको सही समयमा सही निर्णयको पर्खाई पनि हुन सक्ने उनको तर्क छ।

‘कांग्रेस हतार गरेर निर्णय लिने पक्षमा छैन हामी मुलुकलाई राजनीतिक निकाश दिन छलफलमै छौँ। सभापति देउवाको मौनता भनेको सरकारको नेतृत्व लिन मात्र हैन धैर्यता पूर्वक नयाँ राजनीतिक निकाश हो। राजपाको सरकारमा जान केही मुद्धाहरु पनि प्रस्तावमा आएको छ। यो सबै विषयमा गहन छलफल गरेर निष्कर्षमा पग्छौँ,’ घिमिरेले भने।

तर सभापति देउवा निकट मानिने केन्द्रीय सदस्य एनपी साउद भने कांग्रेस मौन बसेको भन्ने मान्न तयार छैनन्।

जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको तर्क गर्दै नेता साउदले भने, ‘हामीलाई जनताले प्रतिपक्षको मत दिएको हुनाले हामीसँग बहुमत छैन। ओली सरकार असफल भैसकेको छ। स्वभाविक रुपमा नयाँ सरकार निर्माणको जिम्मेवारी हामीलाई छ। हामीलाई नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जसपाको समर्थन चाहिन्छ। मओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन भने राजपाको मागहरु ओली सरकारलाई पनि प्रस्ताव गरेको अवस्था छ।’ नयाँ सरकार गठनका लागि कांग्रेस छलफल कै क्रममा रहेको उनको भनाइ थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *