माओवादीले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीलाई फरक नपर्ने !

डिसी नेपाल
४ चैत २०७७ १५:४८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन दिएर सरकार टिकाइरहेको नेकपा माओवादी केन्द्रले हिजो बसेको संसदीय दलको बैठकमा पनि प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेन । हिजोको संसदीय दलको बैठकपछि नेता वर्षमान पुनले समर्थन फिर्ताबारे हतारमा निर्णय नगर्ने बताएका थिए ।

पुनले पत्रकारहरुसँग कुरा गर्दै जसपाको बुधबार बस्ने बैठकपछि माओवादी, कांग्रेस र जसपाको संयुक्त सरकार बन्ने दावी गरेका थिए । तर, जुन दिन जसपाले आफ्नो पक्षमा निर्णय गर्छ भन्ने माओवादीको आशा थियो त्यही दिन जसपाले भने माओवादीलाई धक्का दिएको छ । बुधबार जसपा नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री जसपाका मागका विषयमा सकारात्मक देखिएको भन्दै आफ्नो पार्टीले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने संकेत गरे ।

यदि जसपाले प्रधानमन्त्रीलाई समर्थन गरेमा माओवादीले समर्थन फिर्ता लिए पनि फरक पर्ने छैन । प्रधानमन्त्रीसँग एमाले र जसपा गरेरै बहुमत पुग्नेछ । यद्यपि आफ्नै पार्टी विभाजन भएको अवस्थामा भने प्रधानमन्त्रीलाई फरक पर्न सक्छ । तर, त्यो सम्भावनालाई सहजै भइहाल्ने घटनाको रुपमा हेरिएको भने छैन ।

सिंहदरबारमा बुधबार संचारकर्मीहरुसँग कुरा गर्दै जसपा नेता कर्णले संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दाहरुलाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक देखिएको बताएका हुन् । कर्णले जसपाको नेतृत्वमा सरकार गठनको सम्भावना भने नभएको बताए । ‘सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय फरक हो’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *