बालुवाटारमा एमाले संसदीय दलको बैठक, नेपाल समूहको भेला हेरिटेज गार्डेनमा

डिसी नेपाल
५ चैत २०७७ ११:१३

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटामा सुरु भएको छ। तर संसदीय दलको बैठकमा माधव नेपाल समूह भने सहभागी भएको छैन। नेपाल समूहले संसदीय दलको बैठककै समय पारेर ललितपुरको हेरिटेज गार्डेनमा सांसदहरुको भेला बोलाएको छ।

उक्त भेलामा दुवै सदनका सांसहरुलाई बोलाएको एक सांसदले डिसी नेपाललाई जानकारी दिए। ‘हामी बालुावटारमा बस्ने दलको बैठकमा सहाभागी हुँदैनौं,’ ती सांसदले भने, ‘अहिले हाम्रो समूहको छलफल हेरिटेज गार्डेनमा बसिरहेको छ।’

‘सूर्य चिन्हबाट निर्वाचित भएको सबै सदस्यलाई दलको बैठकमा सहाभागी हुन सूचना पठाइएको छ,’ एमालेका मुख्य सचेतक विशाल भट्टराईले डिसी नेपालसँग भने, ‘यो नियमति प्रक्रिया अन्तर्गतको बैठक हो। संसद जारी रहेको बेला पटक पटक दलको बैठक बस्ने गर्छ। तर दलको बैठकमा अनुपस्थितिका कारण कारवाहीको विषय बन्दैन।’

दलको बैठकमा सहभागी नभएकै कारण कारवाही हुने अवस्था भने नरहेको मुख्य सचेतक भट्टराईले बताए। ‘कुनै काम विशेषले पनि दलको बैठकमा सहभागी नहुन सकिन्छ, त्यसैलाई आधार मानेर कारवाही गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘दलको नेताले ह्वीप जारी गर्दा ह्वीप उल्लघंन गर्दा भने कारवाही हुन्छ।’

पछिल्लो समय एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। असन्तुष्ट माधव नेपाल पक्षले बुधबार र बिहीबार दुई दिनसम्म राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। जसलाई अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एक नजर राखिने चेतावनी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *