माया शेर्पासहितको टोली अन्नपूर्ण हिमाल चढ्दै
काठमाडौं। नेपाल माउन्ट एसोशिएनकी द्वितीय उपाध्यक्ष माया शेर्पासहित चार जनाको टोली अन्नपूर्ण हिमाल चढ्ने भएको छ। लायन्स क्लब अफ नेपाल शेभ हिमालयका चार सदस्यहरुले यस वर्षको स्प्रिङ सिजनमा अन्नपूर्ण हिमाल (८०९१ मिटर)आरोहण गर्ने भएका हुन्।
अन्नपूर्ण विश्वको १०औं अग्लो हिमाल हो। आरोहण गर्ने सदस्यमा क्लबकी उपाध्यक्ष माया शेर्पा, सदस्य ल्हाक्पा देण्डी शेर्पा, सदस्य दाबुटी शेर्पा र सदस्य गेसमान तामाङ रहेका छन्। आरोही माया शेर्पा विश्वका अग्ला १४ हिमाल आरोहण गर्ने अभियानमा लागेकी छन्।
उनले यस अघि नै सगरमाथा, कंचनजंगा र केटुलगायतका हिमालहरु आरोहण गरिसकेकी छन्। लायन्स क्लबले चार आरोहीलाई विदाई कार्यक्रम गरेको छ।
सोलुखुम्बु महाकुलुङ गाउँपालिका–२ मामिरकुका ल्हाक्पा देण्डी शेर्पाले धेरै पटक सगरमाथा लगायत अन्य हिमालहरुको सफल आरोहण गरिसकेका छन्। आरोही ल्हाक्पा देण्डी शेर्पाले १० दिनमा ३ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको रेकर्ड छ।
दोलखा गौरीशंकर गाउँपालिका–३ सिमिगाउँकी दाबुटी शेर्पा (बारिस्ता दावा)ले २०१८ मा स्वदेशी कफीलाई बिश्वमा प्रवद्र्धन गर्ने उद्देश्यले र सगरमाथा शिखरमै कफी खुवाउने साहसिक अभियानको साथ सगरमाथाको शिखरको सफल आरोहण गरिसकिकी छन्। दाबुटी शेर्पाले आमाडब्लम लगायत अन्य पिकहरुको आरोहण गरिसकिकी छन्।
सोलुदुधकुण्डा नगरपालिका–८ का गेस्मान तामाङले पनि सगरमाथा लगायत अन्य हिमालहरुको सफल आरोहण गरिसकेका छन्। माया शेर्पाले पिक प्रोमोशन, ल्हाक्पा देण्डी शेर्पा र गेसमान तामाङले शेभेन समित र दाबुटी शेर्पाले ईमेजिङ नेपालबाट अन्नपूर्ण हिमालको आरोहण गर्ने छन्।
लायन्स क्लबबाट अन्नपूर्ण आरोहणमा जाने महिला आरोहीहरुलाई क्लबका सदस्य दोलखा गौरीशंकरका ङिमा गोम्बु शेर्पाले ५/५ सिलण्डर अक्सिजन सहयोग उपलब्ध गराएका छन्।
Facebook Comment