हेलम्बुमा ग्रेटवालकै झल्को दिने ‘धर्म चक्र पर्खाल’ निर्माण गरिँदै

डिसी नेपाल
६ चैत २०७७ १४:३९

हेलम्बु। विश्व प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी हेलम्बुमा हिमालय ग्रेट ट्रेल अर्थात् ‘धर्म चक्र पर्खाल’ निर्माण भइरहेको छ। पर्यटकलाई आकर्षित गर्नको लागि हेलम्बु गाउँपालिकामा ६० किलोमिटर लामो पैदल पदमार्ग अर्थात् ट्रेल बनाउने कामको थालनी गरिएको हो।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले धेरैले निर्माण हुँदै गरेको ग्रेट हिमालय ट्रेल भनेर चिन्ने गरेको सो ट्रेलको नाम भने ‘धर्म चक्र पर्खाल’ राख्ने सोच रहेको बताए। उनका अनुसार सरकारले बजेट छिटो गरिदिए सो ट्रेल चाँडै बन्ने थियो।

उनले भने, ‘सरकारबाट बजेट पनि आउन थालेको छ। हामी यो प्रोजेक्ट चाडोभन्दा चाडो सकाउने सोचमा छौं, यस प्रोजेक्टले हेलम्बुका स्थानीयहरुलाई रोजगार दिएको छ। यस प्रोजेक्टको लागि अरु ठाउँहरुबाट कामदारहरु ल्याएका छैनौं।’

नागीडाँडा बुद्ध पार्कबाट सुरु हुने यस पदमार्ग आमा याङ्ग्री पर्वत (३७७१ मिटर) पार गरेर घोप्टेघ्याङ्गमा सम्पन्न हुनेछ। सेर्माथाङ गाउँका स्थानीय टासी ह्याल्मोका अनुसार देशमा द्वन्द्व सुरु हुनु अघि हेलुम्बको नाका भएर प्रायःपर्यटकहरु निकुञ्जमा प्रवेश गर्ने गर्दथे।

दुई वर्ष अघिदेखि पदमार्ग निर्माण सुरु गरिए पनि केही किलोमिटर मात्र पदमार्ग बनेको दाबी गर्दै सिन्धुपाल्चोक क्षेत्र नंं.२ का प्रदेश सांसद निमा लामा ह्याल्मोले पदमार्गमा पर्यटकको सहजताको लागि ढुङ्गा छाप्ने बताए। उनले भने, ‘म सरकारलाई यो परियोजनालाई प्राथमिकता दिन आग्रह गर्छु।’

उनका अनुसार थप करिब चारदेखि पाँच अर्ब रुपियाँको बजेट अनुमानित गरिएको यस पदमार्ग निर्माणको लागि प्रदेश र संघीय संसदमा बजेटको लागि ताकेता भैरहेको छ।

यस पदमार्ग निर्माणको लागि अहिलेसम्म छ करोड रुपियाँ खर्च भैसकेको छ। हेलम्बु गाउँपालिकाबाट एक करोड ६५ लाख, बागमती प्रदेशबाट ५० लाख र नेपाल पर्यटन बोर्डले तीन लाख ९२ लाख रुपयाँ खर्च भैसकेको जनाइएको छ। यो पदमार्ग सम्पन्न भएपछि हेलम्बुमा पर्यटकहरुको आगमन अझ बढ्ने बताइएको छ।

हेलम्बु कस्तो ठाउँ हो?

नेपालको सिन्धुपाल्चोक जिल्लामा पर्ने हेलम्बु क्षेत्र पर्यटन उद्योगमा निकै चर्चित छ। हेलम्बु, काठमाडौंबाट नजिकैकै गन्तव्य हो। नेपालको पर्यटकीय क्षेत्रमा हेलम्बु धार्मिक र ग्रामीण पर्यटनले प्रख्यात छ।

हेलम्बु क्षेत्रको भौगोलिक बनावट हावापानी, सामाजिक संरचना र ह्योल्मोलीहरुको हँसिलो मुस्कानसहितको स्वागत सत्कार नै यहाँको पर्यटकीय आकर्षण हो। दर्जनौ गुम्बा, मानेहरु, प्राकृतिक जंगल हावापानी र जंगली जनावरहरुको संरक्षण सम्बद्र्धनले हेलम्बु प्रख्यात छ।

बौद्धधर्मावलम्बीहरुका अनुसार हेलम्बुलाई पवित्र तपोभूमिको रुपमा चिनिन्छ। सत्ययुगमा गुरु रिम्पोचे, मिलारेब्बलगायतका धर्मगुरुहरुले ह्योल्मो क्षेत्रमा तपस्या गरी ज्ञान हासिल गरेको कुरा बौद्धधर्म ग्रन्थहरुमा उल्लेख भएकाले हेलम्बुलाई बौद्धधर्मलम्बीहरुले पवित्र पुण्यभूमिको रुपमा पुज्ने गर्छन्।

आठौँ शताब्दीमा हेलम्बुमा गुरु रिम्पोचे पद्मसम्भवको लामो बसाई रहेको बौद्धधर्म ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ। बौद्ध धार्मिक ग्रन्थहरुमा हेलम्बुको बारेमा यही कुरा उल्लेख भएकोले हेलम्बुको नामले चिनिने प्रमुख वस्तीहरुमा पशुपंक्षीको काटमार निषेध छ। अहिंसावादी धर्मका अनुयायीहरुको प्रमुख गन्तव्यको रुपमा परिचित हेलम्बुमा प्रत्येक दिन सयौंको संख्यामा धार्मिक पर्यटकहरु आउने गर्छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने तीन द्वार मध्ये हेलम्बुबाट यस आर्थिक वर्षमा एक सय ६४ जना पर्यटकहले प्रवेश गरेको सरकारी तथ्याङ्कमा रहेको छ। होटल तथा अन्य आवश्यक पूर्वाधारको अभावको सामान गरिरहेका हेलम्बुमा हाल आन्तरिक पर्यटकको संख्या भने बढेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *