महिला शिक्षित भए समाज शिक्षित हुन्छः पूर्वराष्ट्रपति यादव
चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले महिला शिक्षित भए समाज शिक्षित हुने बताएका छन् । शुक्रबार चितवनमा आयोजित मैयादेवी कन्या कलेज भरतपुरको देस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उनले आजको युग महिलाको भएको भन्दै महिलालाई शिक्षित बनाउन आवश्यक रहेको बताए।
ग्रामीण क्षेत्रमा रहेका मधेशी, दलित, जनजाति, मुस्लिम समुदायका महिला अझै अशिक्षित हुँदा समाजमा विकास हुन नसकेको भन्दै उनले भने, “दलित, मुस्लिम, मधेशी आदिवासी समुदायका बालिका अझै शिक्षाको पहुँचबाट बाहिर रहेका छन् । उनीहरुलाई शिक्षाको पहुँचमा पुर्याउन सके समुन्नत समाजको विकास हुन्छ ।” महिला शिक्षित भएका देश विकसित भएको भन्दै उनले शिक्षाले विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भने । उनले भने, “महिलालाई शिक्षित बनाउन सके समाजमा भ्रष्टाचार न्यूनीकरणमा ठूलो योगदान पुग्छ ।” कन्या कलेजले महिलाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यादवले शिक्षा विनाको समाजको अभ्यास गर्न नसकिने टिप्पणी गरे । वाग्मती प्रदेशका पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाले विद्यालयस्तरमा नै महिला लक्षित शिक्षा दिनु आवश्यक रहेको बताइन् । उनले भनिन्, “रोजगारीको सिलसिलामा विदेशिने महिला र नेपालमा नै रहेका महिला पनि असुरक्षित रहेका छन् । उनीहरुलाई लक्षित गरी विद्यालयस्तरबाटै शिक्षा दिनुपर्छ ।” समाजमा रहेको विकृति अन्त्यका लागि महिला शिक्षित हुन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कलेज परिसरमा संरक्षक मैयादेवी श्रेष्ठको अर्धकदको शालिक र सरस्वतीको मूर्ति अनावरण गरिएको थियो । सभामा कलेजका संस्थापक अध्यक्ष रामकृष्ण घिमिरे, कलेजका अध्यक्ष टङ्कनाथ पौडेल, कलेजका प्रमुख जेवी गुरुङलगायतले बोलेका थिए । सो अवसरमा कलेजलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । रासस
Facebook Comment