विद्यालय निर्माणका लागि सहयोग जुटाउन साइकल यात्रामा निस्केका बस्न्यात दाङ पुगे
काठमाडौं। एक विद्यालय र एक पुस्ताकालय निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले साइकल यात्रमा निस्केका साइकल यात्री देवेन्द्र बस्न्यात शुक्रबार दाङ पुगेका छन्। उनी शुक्रबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने दाङको कुसुम पुगेका हुन्। उनले शुक्रबार बिहान दाङको लालमटियाबाट यात्रा शुरु गरेका थिए।
शताब्दी पुरुष सत्यमोहन जोशीको आशिर्वाद लिएर यात्रामा निस्केका उनी शनिबार बाँकेतर्फ लाग्नेछन्।
कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कद्वारा दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालयका लागि सहयोग जुटाउने उद्देश्यका साथ उनी साइकल यात्रामा निस्केका हुन्।
दोलखाबाट यात्रा शुरु गरेका बस्न्यातले डोटीको दिपायलसम्म करीब १२ सय किलोमिटर एकल साइकल यात्रा गर्नेछन्। उनले ११ गते दिपायल पुग्ने लक्ष्य लिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ।
साइकल यात्राबाट उठेको सहयोगले दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माण गरिने हेल्प नेपाल नेटवर्कले जनाएको छ। बस्न्यातको साइकल यात्राको संयोजन हेल्प नेपाल नेटवर्कले गरेको हो। हेल्प नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ।
नेटवर्ककी सचिव लता घिमिरेले संस्थाले विपदका बेला अल्पकालीन सहयोग पनि गरिरहेको बताइन्। उनले यो अभियानबाट संकलन हुने रकम दोलखाको विद्यालय भवन र भक्त बीबी फर ह्युमेनिटीको संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने जानकारी दिइन्।
हेल्प नेपाल नेटवर्क युएसले यो अभियानमा सघाउन चाहने सहयोगी दाताहरुलाई https://www.gofundme.com/f/henns-pedal-for-education?utm_campaign=m_pd+share-sheet&utm_medium=copy_link_all&utm_source=customer मा गएर सघाउन आग्रह गरेको छ।
त्यस्तै नेपालमा हेल्प नेपाल नेटवर्कको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१ मा सहयोग रकम जम्मा गर्न सकिने छ।
सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहेका बस्न्यातले विश्व साइकलयात्री पुश्कर शाहसँग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रर्वद्धन लगायतका काम गर्दै आएका छन्।
फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दिपुरुष सत्यमोहन जोशी, पूर्व मंत्री तथा कांग्रेस नेता गगन थापा, संस्थाका सल्लाहकार एवं पूर्वअर्थमन्त्री शंकर कोइराला, विजय राजभण्डारी लगायतले बस्न्यातलाई विदाई गरेका थिए।
बस्न्यातले अभियानका क्रममा आफूले कुनै रकम नलिने र साइकलको मर्मत लगायतको खर्च पनि आफैले व्यहोर्ने बताएका छन्।
Facebook Comment