नेपाल दक्षिण एसियाकै सबैभन्दा खुसी देश

डिसी नेपाल
७ चैत २०७७ ११:०९

काठमाडौं। कोरोनाभाइरस महामारीले मानिसहरुको कामकाज, दैनिकी, व्यवसाय, रोजगारी, शिक्षा लगायतमा गम्भीर नकारात्मक प्रभाव पारे पनि त्यसले नेपालीहरुलाई खुसी हुनबाट भने रोक्न सकेन । त्यसैले पछिल्लो १ वर्षमा नेपालीहरु अघिल्लो वर्षभन्दा झन् बढी खुसी रहेको पाइयो । विश्वभरीका देशहरुको खुसीको परिमाण मापन गर्ने ‘वर्ल्ड ह्यापीनेस रिपोर्ट’ले नेपालीहरु अघिल्लो वर्षभन्दा झन बढी खुसी भएको देखिएको छ ।

रिपोर्टका अनुसार नेपाल यो रिपोर्टमा दक्षिण एसियाली देशहरुमध्ये शीर्ष स्थानमा छ । विश्वव्यापी बरियतामा नेपाल ८७ औं स्थानमा छ र नेपालको अंक ५.२६९ छ । यो अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो वर्ष नेपाल ९२ औं स्थानमा थियो र त्यस वर्ष नेपालको अंक ५.१३७ थियो । यद्यपि छिमेकी देश चीनको प्रगति भने नेपालको भन्दा बढी छ । अघिल्लो वर्ष चीन नेपालभन्दा पछाडि ९४ औं स्थानमा थियो र उसको अंक ५.१२४ थियो । अहिले भने चीन नेपाललाई उछिन्दै ५.३३९ अंकका साथ ८४ औं स्थानमा आएको छ ।

दक्षिण एसियामा नेपालभन्दा पछि ५.१९८ अंकका साथ माल्दिभ्स ८९ औं स्थानमा, ५.०२५ अंकका साथ बंगलादेश १०१ औं स्थानमा, ४.९३४ अंकका साथ पाकिस्तान १०५ औैं स्थानमा, ४.३२५ अंकका साथ श्रीलंका १२९ औं स्थानमा, ३.८१९ अंकका साथ भारत १३९ औं स्थानमा र २.५२३ अंकका साथ अफगानिस्तान १४९ औं स्थानमा छन् । भुटानलाई भने सर्वेक्षणमा सामेल गराइएको छैन ।

यस वर्ष नेपालसहित बंगलादेशले पनि प्रगति गरेको छ । अघिल्लो वर्ष ४.८३३ अंकका साथ बंगलादेश १०७ औं स्थानमा थियो । माल्दिभ्स भने अघिल्लो वर्ष ८७ औं स्थानमा रहेकोमा यस वर्ष खस्किएको छ । अघिल्लो वर्ष ६६ औं स्थानमा रहेको पाकिस्तान धेरै पछि पुगेको छ । अघिल्लो वर्ष १३० औं स्थानमा रहेको श्रीलंकाले सुधार गरेको छ । अघिल्लो वर्ष १४४ औं स्थानमा रहेको भारतले पनि सुधार गरेको छ । अघिल्लो वर्ष १५३ औं स्थानमा रहेको अफगानिस्तान पनि केही अगाडि आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *