माधव समूहमाथि कारबाहीको प्रक्रिया शुरु, ४ नेतासँग मागियो स्पष्टीकरण

डिसी नेपाल
७ चैत २०७७ १८:२६

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेमा चर्केको विवादका बीच वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि कारबाहीको प्रक्रिया शुरु भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटी बैठकले माधव समूहका ४ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकपछि जानकारी दिँदै सो समूहले प्रवक्ता तोकेका प्रदीप ज्ञवालीले ४ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो।

फागुन २३ पछि पनि गुटगत भेला गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए। २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो। ४ जना बाहेक अन्य नेताहरुले आत्म समीक्षा गरी पार्टीमा सक्रिय भए स्वागत गरिनेसमेत ज्ञवालीले जानकारी दिए। उनले भने, ‘अब एमालेमा कुनै गुट रहँदैन।’

यस्तै बैठकले १० औं महाधिवेशन आयोजक कमिटी गठन गरेको छ। एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको ज्ञवालीले जानकारी दिए। उनले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई आयोजक कमिटी बनाइएको र त्यसको पदाधिकारीमा अध्यक्ष र महासचिबमात्र रहेको जानकारी दिए।
यस्तै बैठकले स्थायी कमिटी र नेताहरुको जिम्मेवारीबारे गृहकार्य गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, मोर्चा विभाग प्रमुख टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेको कार्यदल बनाइएको छ।

यस्तै एमाले सम्बद्ध जनवर्गी संगठनहरुको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीम रुपान्तरण गर्न पनि निर्देशन दिने निर्णय गरिएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *