राजनीतिक संकटबारे छलफल गर्न काँग्रेसले बोलायो पदाधिकारी बैठक

डिसी नेपाल
८ चैत २०७७ १९:०२

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान राजनीतिक संकटबारे छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा सोमबार दिउँसो २ बजेका लागि वर्तमान तथा पूर्व पदाधिकारी बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उनका अनुसार यो बैठकका दुई एजेन्डा छन्। पहिलो पार्टीको महाधिवेशन र दोस्रो वर्तमान राजनीतिक संकट। उनका अनुसार बैठकमा महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ। मुख्यगरी क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुसहितको बैठक हुने भएकाले क्रियाशील सदस्यता नवीकरण तथा वितरणको विषयलाई टुंगो लगाउन यो बैठक बोलाइएको हो।

यस्तै राजनीतिक संकटबारे पनि छलफल हुने प्रवक्ता शर्माले बताए। उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्ने भन्ने विपक्षी दलहरु एकजुट नभएको अवस्थामा काँग्रेसले कस्तो रणनीति लिने भन्ने विषयमा छलफल हुन्छ।’

सरकारलाई समर्थन दिइरहेको माओवादी केन्द्रले समर्थन फिर्ता नलिइने प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएको छ भने विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना एजेन्डामा सहमत भए पनि ओली सरकारलाई पनि समर्थन दिन सकिने धारणा राखेको छ। जसका कारण अहिले सरकारलाई बहुमत यथावतै रहेको भए पनि समर्थन गरिरहेको दलले नैतिकताका आधारमा राजीनामा मागिरहेकाले राजनीतिक संकट गहिरिँदै गएको छ।

उता सत्तारुढ दल एमालेमै किचलो बढेकाले पनि ओली नेतृत्वको वर्तमान सरकार आफ्नो स्पष्ट नीतिका साथ अगाडि बढ्न नसक्ने अवस्था बनेको छ। जसले गर्दा सरकारको पफरमेन्स नै खस्किन पुगेको छ। जसको मार अन्ततः आम जनतालाई नै परेको छ।

यस्तो जटिल संकटमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने कुनै ठोस निर्णय लिएको छैन। काँग्रेसले पनि नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने भन्दै आएको छ। तर ओलीको विकल्पमा को ? भन्ने प्रश्नको उत्तर भने कुनै पनि दलसँग हालसम्म छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *