‘जसपाले कांग्रेसलाई सरकारकाे नेतृत्व गर्ने प्रस्ताव राखे कांग्रेस सरकारकाे नेतृत्व लिन तयार छ’

डिसी नेपाल
९ चैत २०७७ ११:३१

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि मुलुकको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ। अहिले दलहरुबीच नयाँ सरकार गठन गर्ने कि वर्तमान सरकारलाई नै निरन्तरता दिने भन्ने विषयमा मत बाँझिएको छ।

माओवादी केन्द्रले वर्तमान सरकारलाई लिएको समर्थन फिर्ता लिएको छैन भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि नयाँ सरकार गठनमा सक्रिय देखिएको छैन। कांग्रेसभित्र नयाँ सरकार गठनलाई लिएर दुई धार देखिएको छ।

सभापति शेरबहादुर देउवाको ध्यान सरकार गठन भन्दा पनि आगामी भदौमा हुने महाधिवेशनका केन्द्रित देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने मत राख्छ। यसै सेरोफेरोमा कांग्रेसको आगामी योजनाका विषयमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसँग डिसी नेपालका लागि सम्भव सिंह ठकुरीले गरेको कुरकानीको सम्पादित अंश

अहिले नेपाली कांग्रेस के गर्दै छ ?
हामी देशमा र संसदमा प्रमुख प्रतिपक्षदल हौं। मुलुकको राजनीति कठिन परिस्थितिमा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संविधान विपरित गरेर देशलाई अफ्ठेरो मोडमा पुर्याउने काम गर्नु भएको थियो अदालतले बदर ग-याे।

संसदमा अघिल्लो अधिवेशनदेखि रहेको धेरै विधेयकलाई केपी ओलीले बढाउन चाहनु भएको छैन। व्यवस्था नमान्ने जर्वजस्ती सत्तामा बस्ने काम गरिरहनुभएको छ। यसबाट देश र जनतालाई कसरी मुक्ति दिने भन्ने विषयमा गम्भिरतापूर्वक लागेका छौं।

नयाँ सरकार समीकरणको बारेमा माओवादी केन्द्र र जसपासँग बसेको बैठकले सार्थकता नपाउनुको कारण के हो? यो विषयले कहिले निकाश पाउँछ ?

मेरो विश्लेशणमा काँग्रेस नेतृत्वको सरकारले मात्र समाधान सम्भव छ। एमाले र माओवादी केन्द्र बाम गठबन्धन भनेर चुनाव लडुनु भयो तर अहिले बामहरु एकै ठाँउमा छैनन्। स्थिर सरकार दिन्छौं भन्नु भयो जनताले विश्वास गरेर मत हाले र झन्डै दुई तिहाई छेउ पुग्नु भयो।

तर, त्यो गठबन्धन टिक्न सकेन। अहिले पूर्ववत् अवस्थामा आएको एमाले र माओवादी भित्र एमाले एक पनि हुन सकेको छैन, दुई पनि हुनसकेको छैन, माओवादी केन्द्रको पनि केही साथीहरु पार्टी छोडेर अर्को पार्टीमा पुगेको अवस्था छ।

त्यसरी जनताले दिएको अभिमत खण्डित भएको छ। यो अवस्थामा स्वभाविक रुपमा काँग्रेस नेतृत्वको सरकार बन्नु पर्दछ। तर हामीले अन्यदलहरु सँग गरेको कुराकानी मध्ये जनता समाजवादी पार्टीले कांग्रेस नेतृत्वको सरकार बारे प्रस्ताव राख्नु भएको छैन। जबसम्म जसपा कांग्रेस नेतृत्वको सरकार बनाउन तयार हुँदैन तब सम्म हामले बहुमत जुटाउने अवस्था छैन। उहाँहरुले निर्णय नलिएसम्म हामीले अग्रसरता लिनुको अर्थ छैन।

त्यसैले जनता समाजवादी ले जहिले कांग्रेस नेतृत्वको सरकार स्वीकार्छ त्यो बेला हामी नेतृत्व लिन तयार छौं। हैन भने हामीलाई जनताले प्रतिपक्षको म्याण्डेट दिएको हो, हामी प्रतिपक्षमै बस्छौँ।

तर जनता समाजवादी पार्टीका नेताहरु हामी संसदको चौथो दल हौँ प्रमुख प्रतिपक्षदलनै नेतृत्व लिन सकेको छैन हामी के गर्न सक्छौँ र भनेको अवस्था छ नि!

जसपाले आज निर्णय गरेर कांग्रेस नेतृत्वको सरकार स्वीर्काछौँ भनोस् न हामी नयाँ सरकार निर्माणको लागि भोलिबाट प्रकिृया अघि बढाउँछौँ। उहाँहरुको सोचनै मिलेको छैन। उहाँहरु प्रष्ट नभई हामीसँग नभएको सांसद उफ्रेर त सरकार बन्दैन नि।

हामी प्रमुख प्रतिपक्षदल हौँ। आजको समस्या हाम्रो कारणले निम्तेको हैन। कम्युनिष्ट पार्टीको कारण सृजना भएको यो निकाशको लागि जसपाको निर्णय आवश्यक छ।

जसपासँगको बैठकमा उहाँहरुले के प्रस्ताव राख्नुभएको थियो?

उहाँहरुले कांग्रेस नेतृत्वको सरकार बारे प्रस्ताव राख्नुभएको छैन।

प्रस्ताव नै नआई कांग्रेस कता दौडिने?

यो राजनीतिक अन्यौलताको निकाश के हो त ?

मैले अघि पनि भनिसके जसपाले कांग्रेस नेतृत्वको सरकार प्रस्ताव गर्नु पर्यो अनि हामी सकिृय हुने हो। उहाँहरुकै नेताहरु खुलेर भनिराख्नुभएको छ, प्रधानमन्त्री ओलीले हाम्रो माग सम्वोधन गर्नु हुन्छ ओलीजीसँग कुराकानी भइरहेको छ, ओलीजीले पूरा गर्नुहुन्छ भने जानुहोस् हाम्रो भन्नु केही छैन। हामी प्रमुख प्रतिपक्ष हौं प्रतिपक्षमा नै बस्छौँ।

प्रधानमन्त्री ओलीको बर्हिगमन हुनुपर्छ भन्ने बिषयमा कांग्रेसको मत विभाजन भएको भन्ने राजनीतिक बृतमा चर्चा हुन थालेको छ, खास कुरा के हो ?

त्यस्तो छैन। कांग्रेसको निर्णयमा ओलीलाई बर्हिगमन गर्ने नै भनिएको छ। कांग्रेसले सांसदको संख्या नै नपुगी कता हुइँकिने?

उसो हो भने प्रधानमन्त्री ओली बर्हिगमन गर्ने निर्णय ढिलो भएन र ?

कसरी निर्णय गर्ने संसद संख्या नै नभई त्यसै निर्णय हुन्छ? कसैले समाचार लेखेकै भरमा हामी गुटुटु कुदेर भएन नि। जसपा ओली सरकारसँग गए जाओस् हामी प्रतिपक्षमै बस्छौँ। त्यसो हैन ओलीजीको विकल्प खोजेको हो भने हामीलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गर्नु पर्छ हामी तयार छौँ।

कांग्रेस जसपालाई आरोप लगाउने, जसपा काँग्रेसलाई आरोप लगाउने माओवादी दुबै दललाई आरोप लगाउने खास कुरा के हो?

आरोप हैन। यो प्रश्न मलाई हैन जसपालाई सोध्नुुस््। संसदबाट अस्तिको बैठकबाट बाहिर निस्किँदा जसपाको नेताहरु हामी ओलीजीसँग कुरा गर्दै छौँ भन्नु भएको थियो। उहाँहरु ओलीजीसँग कुरा गर्ने अनि हामीले नेतृत्व लिन सकेनौँ भन्ने? हामी अहिले संसदमा प्रतिपक्षमै छौँ। हाम्रो भूमीका परिवर्तन हुन सांसद संख्या पुग्नु पर्छ।

पुनःस्थापित संसदको पहिलो बैठकमा नै कांग्रेसले अध्यादेश फिर्ता गर भन्दै अबरुद्ध गर्यो तर त्यो विधेयक फेल गर्न पनि बैठक बसेर बहुमत बाट फेल गर्नु पर्ने होला नि!

संवैधानिक परिषद् सम्वन्धी अध्यादेश यही सरकारले फिर्ता गरेको हो नि। यो विषयमा अदालतमा मुद्धा परेको छ। संविधानमा संवैधानिक परिषद बनाउने कुराको लागि प्रधानमन्त्री,विपक्षी दलको नेता, प्रधानन्याधीश, प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष हुन्छ।

त्यो भनेको के हो भने राज्यको तीन अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका हुन्छ। सरकार र प्रतिपक्ष हुन्छ त्यस्तै प्रतिनिधिसभामा सभामुख र उपसभामुख हुन्छ किनभने सभामुख र उपसभामुख एउटै पार्टी र लिङ्गको हुन पाउँदैन। त्यसैले संवैधानिक परिषदको गठनमा सबैको प्रतिनिधित्व हुने परिषदलाई ओलीजीले बिगार्न खोज्दैमा हामीले सलाम गर्न पर्छ भन्ने कहाँ लेखेको छ?

हामीले अरु अध्यादेशको विरोध गरेका छैनौं, एसिड आक्रमण लगायत अरु अध्यादेश समर्थन गरेका छौं। संवैधानिक परिषद् सम्वन्धी अध्याधेशमा मात्र बिरोध गरेको हो।

संसदमा उपसभामुखको निर्वाचन हुन नसक्नुको कारण के हो?

मैले गर्ने हैन नि । सभामुख, उपसभामुखको निर्वाचन कांग्रेसले गर्दैन र प्रतिपक्षदलले गर्दैन। यो प्रश्न सभामुख महोदयलाई सोध्नुस् न।

दल विभाजन सम्वन्धी विधेयक ल्याए नेपाली काँग्रेसले समर्थन गर्ने भनिएको थियो यो किन आवश्यक छ ?

आजको दिनमा हेर्नुहोस् न ओलीजीले पार्टीलाई बन्धक बनाएर राजनीतिनै ध्रुवीकृत बनाएको अवस्था छ। एकातर्फ पार्टीका आधा मान्छेलाई बाहिर राख्नुभएको छ। प्रदेश नम्वर एकमा पन्ध्र जना सांसदलाई निलम्वन गरेको छ। पार्टीको त्यति माथिल्लो तहको नेताहरुलाई स्पष्टिकरण माग्नुभएको छ। ओलीजीले महाराज शैलीमा एक्लैले संससदीय दलबाट पारित गर्छ।

माओवादी केन्द्रबाट चुनिएका रामबहादुर थापा नेकपा माओवादी केन्द्र नछोडी कसरी एमालेको प्रदेश इन्चार्ज हुनुभयो। यो निर्दलीय व्यवस्था त हैन नि। ओलीजीले दल एक ठाउँमा राख्नु सक्नुभएन। अब यस्को निकाश भनेको अहिले अनौपचारिक फुट बाट वैधानिक बाटो खोजेर राजनीतिक सहजताको लागी हामीले यो विधेयक आवश्यक छ भनेको हो।

दल विभाजन गर्ने विधेयक ल्याएर कम्युनिष्ट फुटाउने हाम्रो चाहना हैन। तर कम्युनिष्टको किचलोले संसदलाई बन्धाक बनाउन त पाइँदैन नि। त्यसैले यो विधेयक आवश्यक छ भनेको हो।

विधेयकले राजनीति त अस्थिर हुने होला नि!

अस्थिर विधेयकले हैन ओली प्रवृत्तिले भइराछ।

भदौमा हुने महाधिवेशनको तयारी कस्तो भइराखेको छ ?

तयारी गर्दै छौँ। कृयाशील सदस्य छानबिनको अन्तिम चरणमा छौँ। असार ५ गते वडा तहमा अधिवेशन हुन्छ। असार ७ गते गाउँपालिका, नगरपालिकामा हुन्छ। त्यसपछि क्रमश जिल्ला, प्रदेश हुँदै भदौ ७ देखि १० सम्म केन्द्रीय महाधिवेशन हुन्छ।

पार्टी भित्र पुस्तान्तरणको कुराहरु पनि उठिराखेको छ १४ औँ महाधिवेशनमा सम्भावना कस्तो छ ?

हामीले पुस्तान्तरण गर्नुस् भनेर हात जोडेर हुँदैन। म भन्दा शेरबहादुर देउवा १२ वर्ष जेठो हुनुहुन्छ । म भन्दा २० वर्ष कान्छो नेताहरुले पनि म भन्दा माथिको राजनीति उचाई बनाइ सक्नुभएको छ त्यसैले प्रतिस्पर्धाबाट जसले सक्छ उही आउने हो।

संस्थापन पक्षभन्दा पनि इतर पक्षमा धेरै सभापतिको आकांक्षी देखिन थालेको छ। यसले बर्तमान सभापतिलाई नै निरन्तरता हुने सम्भावना छ भनेर व्याख्या गरेको अवस्था छ नि!

अब रोएर त भएन। उहाँको विकल्पमा राम्ररी पार्टी सन्चालन राम्रो सभापति खोज्ने मेरो प्रयत्न हुनेछ। विकल्प निर्माण गर्ने भूमिकामा लागि पर्ने छु।

१४ औँ महाधिवेशनमा तपाईँ कुन भूमिकामा देखिनुहुन्छ ?

मैले प्रष्ट रुपमा भनेको छु, सभापतिमा मलाई मत हाल्छ भन्ने विश्वास मलाई छैन। सभापति पछि महत्वपूर्ण जिम्मेवार भनेको महामन्त्रीको हुन्छ। त्यसैले महामन्त्री पदमा मेरो उमेद्वार हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *