काँग्रेस क्रियाशील सदस्यता : ९ जिल्लाले अझै सदस्यता नवीकरण गरेनन्

डिसी नेपाल
९ चैत २०७७ १९:०७

काठमाडौं। आगामी भदौंमा १४ औं महाधिवेशन अनिवार्य रुपमा गर्नुपर्ने तयारीका साथ महाधिवेशनमा होमिएको काँग्रेसले चैत १० गतेसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सक्ने कार्यतालिका बनाएको थियो।

यो काम सक्न एक दिनमात्र बाँकी रहँदा कार्यतालिकाअनुसार काम भने पूरा नहुने देखिएको छ। क्रियाशील छानविन समिति र पार्टीका पदाधिकारी पूर्वपदाधिकारीको सोमबार बसेको बैठकमा छानविन समितिले क्रियाशील सदस्यता वितरण, नवीकरणबारे भएको प्रगतिबारे जानकारी गराएको छ।

छानविन समितिका संयोजक रशेम लेखकले हालसम्म ६८ जिल्लाबाटमात्र नवीकरण र वितरणको नाम सफ्टवेयरमा इन्ट्री भएको जानकारी दिए। उनका अनुसार सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पामा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको विवरण ‘इन्ट्री’ को काम नै सुरु भएको छैन।

काँग्रेसले १० लाख क्रियाशील सदस्यता पुर्याउने लक्ष्य राखेको छ। तीन लाख ९२ हजार सात सय ९४ क्रियाशील सदस्यताको नाम ‘इन्ट्री’ भएको छ। जसमध्ये दुई लाख १२ हजार पाँच सय १९ जनाको नाम नवीकरणमा ‘इन्ट्री’ भएको छ भने एक लाख ८० हजार दुई सय ७५ जनाको नाम नयाँ क्रियाशील सदस्यता लिनेका नाममा ‘इन्ट्री’ भएको छ।कार्यतालिकाअनुसार समयमै नवीकरण र वितरणको विवरण इन्ट्री नगर्ने जिल्लाबारे के भन्ने भन्ने टुंगो भने लागिसकेको छैन।

संयोजक लेखकले पार्टीले यसअघि चैत १० गतेसम्म नवीकरण तथा वितरणको काम नसक्ने जिल्लालाई महाधिवेशनमा सहभागी नगारउने निर्णय गरे पनि सो अनुसार नहुने संकेत गरे। उनले यो विषयमा नेताहरुबीच छलफल भएर कुनै निष्कर्षमा पुगिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *