एमाले विवादः ४ नेताले स्पष्टीकरणको जवाफ दिने तर प्रश्न पनि गर्ने

डिसी नेपाल
९ चैत २०७७ २१:४२

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेमा चार जना नेताहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ दिन वरिष्ठ नेता माधवकुमार नेपाल, एमालेका तत्कालिन उपाध्यक्ष भीम रावल, तत्कालिन उपमहासचिब घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डे तयार भएका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकले यी नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेअनुसार महासचिब ईश्वर पोखरेलले सोमबार चारै नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए।

तीन दिन भित्र जवाफ दिन भन्दै सोधिएको स्पष्टीकरणमा गुटगत भेला गरेकाले किन कारबाही नगर्ने भन्ने विषय छ। स्पष्टीकरण पत्र प्राप्त भएपछि माधव समूहले आवश्यक रणनीति बनाउन सोमबार साँझ स्थायी कमिटीका सदस्यहरुको बैठक गरेको थियो। सो बैठकले स्पष्टीकरणको जवाफ दिने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘जवाफ दिने कुरा भएको छ। जवाफमा प्रश्न पनि सोधिने छ। अहिलेको अवस्थाबारे अध्यक्ष तथा प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्छ।’ तत्कालिन नेकपा कायम रहँदा प्रचण्ड र माधवकुमार नेपाल मिलेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कारबाहीसमेत गरेका थिए। तर, सर्वोच्च अदालतले फागुन २३ मा तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरण खारेज गर्दै ती दुबै पार्टीलाई ब्ँयुताइदिएपछि प्रचण्डले माओवादी सक्रिय गराएका छन् भने माधव नेपालहरु प्रचण्डबाट विदा भएका छन्। तर, एमालेमा ओली शक्तिशाली हुँदा माधव नेपालहरु निरीह बन्नुपर्ने अवस्था छ।

यहीबीचमा ओलीले माधव नेपालहरुलाई कर्नरमा पार्ने गरी फागुन २८ मा गरेको निर्णय चैत ७ मा बोलाईको केन्द्रीय कमिटीबाट पारित गराएका छन्। र सोही बैठकले चारजना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

यहीबीचमा माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्दै समानान्तर गतिविधिलाईसमेत अगाडि बढाएको छ। युवा संघको समानान्तर कमिटी बनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *