एमाले विवाद : अलमलमा नेपाल समूह

डिसी नेपाल
१० चैत २०७७ ८:४०

काठमाडौं। सोमबार वरिष्ठ नेता माधव नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोधेपछि एमालेभित्र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको दूरी झन् बढेको छ।

अध्यक्ष ओलीले आफ्नो समूहको बैठक राखेर एकलौटी निर्णय गर्ने र माधव नेपाल समूहले समानान्तर गतिविधि जारी राखेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। अझ नेपालसहितका नेतालाई स्पष्टीकरण नै सोधेपछि पार्टीभित्र वरिष्ठ नेता नेपाल रक्षात्मक अवस्थामा पुगेका छन्।

एकता भंग हुनुपूर्वको अवस्थामा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओलीका कदमविरुद्ध आवाज उठाउँदै आएका नेपाल अहिले एमालेभित्र पार्टी निर्देशनविपरीत गुटगत भेला राखेर समानान्तर गतिविधि सञ्चालन गर्दै आएका छन्।

ओली पक्षले प्रचण्डको निर्देशनमा नेपालले एमाले फुटाउने गरी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ, भने नेपाल समूहले ओली पार्टी कब्जा गर्ने गरी एकलौटी रूपमा निर्णय गर्दै अगाडि बढेको आरोप लगाउँदै आएको छ।

अध्यक्ष ओलीले एकपछि अर्को गर्दै नेपाल समूहलाई कर्नरमा पार्ने निर्णय गरेपछि नेपाल समूह निरीह बनेको छ। अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि नेपाल समूहले ठोस निष्कर्ष निकाल्न सकेको छैन।

ओलीले पार्टीको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्दै कारबाहीको लागि नेताहरूको सूची तयार भइरहेका बेला नेपाल समूहले समानान्तर गतिविधि सञ्चालन गर्न छाडेको छैन। केन्द्रीय समितिले ओलीलाई संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने अधिकार दिएको भोलिपल्टै नेपाल समूहले जनसंगठनहरूमा समानान्तर कमिटी गठनको थालनी गरेको छ।

ओली समूहले आफ्नो समूहको छुट्टै भेला गरेर धमाधाम निर्णय गर्न थालेपछि नेपाल खनाल समूहले चैत ६ गते अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनाएको थियो। नेपाल समूहले महिला संघको नेतृत्वमा जयन्ती राईलाई जिम्मेवारी दिएको थियो।

त्यसपछि नेपाल समूहले युवा संघमा पनि समानान्तर कमिटी बनाएको छ। नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाइएको हो। यो समूहले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जिएम महासचिव चयन भएका छन्।

केन्द्रीय कमिटी बैठकले समानुपातिकको बन्द सूची हेरफेर गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई दिएपछि समानुपातिक सांसदभित्र खैलाबैला भएको छ। अध्यक्ष ओलीले एकपछि अर्को गर्दै नेपाल समूहलाई कर्नरमा पार्ने निर्णय गरेपछि नेपाल समूह निरीह बनेको छ। अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि नेपाल समूहले ठोस निष्कर्ष निकाल्न सकेको छैन।

आन्तरिक छलफल गरेपनि अब कसरी अगाडि बढ्ने भन्नेमा नेपाल समूह अलमलमा परेको छ। चार जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ दिने निचोडमा नेपाल समूह पुगेको एक नेताले जानकारी दिए। ‘दुई लाइन भएपनि स्पष्टीकरण दिने सोचमा उहाँ (नेपाल) हुनुहुनछ,’ नेपाल निकट स्रोतले भन्यो, ‘तर आफ्नो समूहका कमिटीका भेला भने तत्काल रोकिँदैनन्।’

नेपाल समूहले आजै आफू निकट अनेरास्ववियूको भेला गर्दैछ। नेपाल समूहले पार्टी भित्रै रहेर संघर्ष गर्ने र थप रणनीति बनाउँदै जाने नीति लिएको बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *