माओवादी स्थायी कमिटी बैठकमा समर्थन फिर्ता लिने एजेन्डाले प्रवेश नै पाएन

डिसी नेपाल
१० चैत २०७७ २२:४६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पटक पटक प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओली माओवादीको समर्थनमा बहुमत प्राप्त गरेर सत्तामा रहेका छन्। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा समर्थन फिर्ता लिने एजेन्डाले प्रवेश नै पाएन ।

बैठकले नेकपा खारेज गर्ने सर्वोच्चको फैसला विरुद्ध पुनरावलोनकमा जाने निर्णय गरेपनि समर्थन फिर्ता लिनेबारे कुनै छलफल नभएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइ दिएको थियो। तत्कालीन नेकपाभित्र रहँदादेखि नै माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माओवादीका सांसदले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएका थिए। पछिल्लो पटक बसेको माओवादी संसदीय दलको बैठकले समेत प्रधानमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो।

तर, हालसम्म यदि माओवादीले समर्थन फिर्ता लिने हो भने सरकार अल्मपतमा पर्ने भएकाले माओवादीले नैतिकताको कुरा उठाउनै पर्दैन। अल्पमतमा परे प्रधानमन्त्री ओलीले कानुनतः नै राजीनामा दिनुपर्ने हुन्छ

उता प्रधानमन्त्री ओली भने जसपाको समर्थनका सरकार टिकाउने दाउमा छन्। जसपा नेताहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै ओलीले सत्ता साझेदारीको प्रस्ताव राखेका छन्। जसपा नेताहरुले पनि आफूहरुको माग सम्वोधन भए सरकारमा सहभागी हुने सकिने जवाफ दिएका छन्। जसपाले निर्वाचित सांसद रेशम चौधरीलाई रिहाइ गर्नु पर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतका माग राखेको छ।

प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु र जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीच मंगलबार भएको भेटवार्ता सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन्।

‘आजको भेट पनि यसअघिकै निरन्तरता हो,’ भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘छलफल सकारात्मक भएको छ। निष्कर्षमा पुग्न भने बाँकी छ।’

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारीमा पनि नरहेको र अविश्वास प्रस्तावको पक्षमा पनि नरहेको बताएका छन्।

सभापति देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिए। उनले भने,‘हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *