तनहुँमा मतदाता नामावली सङ्कलन पुनः शुरु
तनहुँ । निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः शुरु भएको छ। सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले नामावली सङ्कलन स्थगन गरेको थियो। सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएसँगै आयोगले नामावली सङ्कलनलाई अगाडि बढाएको हो।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माले चैत ५ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक शुरु गरिएको जानकारी दिए। कार्यालयले नागरिकता बनाउन आउनेलाई प्रशासन कार्यालयबाटै नामावली सङ्कलनको व्यवस्था मिलाएको छ भने कार्यालयबाट पनि नाम दर्ता गर्न सकिनेछ। कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदानस्थल, जन्ममिति, नागरिकता, बुवाआमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनका लागि आवश्यक प्रमाणसहित निवेदन दिन कार्यालयले आग्रह गरेको छ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा विसं २०७४ को निर्वाचनपछि गत पुस ५ गतेसम्म २० हजार २४ मतदाता थपिएका छन्। विसं २०७४ को निर्वाचनअनुसार तनहुँमा दुई लाख ११ हजार ३९६ मतदाता रहेका थिए। गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन्।रासस
Facebook Comment