पर्वतीय पथप्रदर्शकको पहिलो अनुमतिपत्र कामिरिता शेर्पालाई
काठमाडौं। पर्यटन विभागले किर्तिमानी आरोही कामिरिता शेर्पालाई देशकै पहिलो पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) को अनुमति पत्र प्रदान गर्दै माउन्टेन गाइडहरुलाई अनुमति पत्र दिने प्रक्रिया सुरु गरेको छ । पर्यटन विभागले पर्वतीय पथप्रदर्शकहरुलाई परिचय पत्र वितरण प्रक्रिया सुरु गरेको र कामिरिता परिचय पत्र पाउने पहिलो पथप्रदर्शक भएको विभागकी निर्देशक मिरा आचार्यले बताइन् ।
नेपाली पर्वतीय पर्यटनलाई व्यावसायिक र मर्यादित बनाउनका लागि पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराउन सुरु गरिएको आचार्यले बताएकी छिन् । विभागले उपलब्ध गराउने अनुमतिपत्र पाँच वर्ष अवधिको हुनेछ । विभागले अनुमतिपत्र वितरणका लागि गत चैत १ देखि अनलाइनमार्फत आवेदन माग गरेको थियो। कामी रिता शेर्पाले पहिलो नम्बरमा नाम दर्ता गराएकाले उनले पहिलो अनुमतिपत्र प्राप्त गरेको र आवेदन दिएकाहरूको अनुमतिपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको पनि निर्देशक आचार्यले बताइन्।
अनुमतिपत्रका लागि दुई सयभन्दा बढीको आवेदन परेको विभागले जनाएको छ । ‘हामीले अरूको सीप र क्षमताहरू स्वीकार्यौं भने हामी एउटा राष्ट्र निर्माण गर्न सक्दछौं । सरकारले हाम्रो पर्वतारोहीहरूको पहिचान गर्न थालेको छ र पर्वतारोहणको लागि सधैँ ढोका खुला छ । हामीले यहाँबाट सुरु गर्यौं र यो जारी नै रहनेछ’ आचार्यले सामाजिक संजालमा लेखिकी छिन्। कामिरिता शेर्पाले २४ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् र अब उनी २५ औं आरोहणको तयारीमा छन् ।
Facebook Comment