चिनियाँ राजदूत होउले भेटिन् प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार रिमाललाई

डिसी नेपाल
११ चैत २०७७ १७:२८

काठमाडौं। नेपाल राजनीतिक संकट गरिरहेको बेला उत्तरी छिमेकी चीनकी काठमाडौंस्थित राजदूत होउ यान्कीको सक्रियता बढेको छ। केही दिन अगाडि एमालेका नेता माधवकुमार नेपालसँग भेटेकी होउले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसँग भेट गरेकी छन्।

सिंहदवरास्थित रिमालको कार्य कक्षमा सो भेटवार्ता भएको हो। भेटमा के कुरा भयो भन्नेबारे दुबै पक्षले केही जानकारी दिएका छैनन्। तर, राजनीतिक संकट गहिरिएका बेला भएको यो भेटलाई महत्वपूर्ण मानिएको छ।

तत्कालिन नेकपामा आन्तरिक शक्ति संघर्ष चर्किँदा सरकारले प्रतिनिधिसभा विघटन गरिदिएको थियो। तर, पुस ५ भएको भएको सो विघटनको निर्णयलाई फागुन ११ मा सर्वोच्च अदालतले बदर गरिदियो।

त्यसपछि फागुन २३ मा सर्वोच्चले नेकपा नै खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतामा चीनको भूमिक रहेको चर्चा हुने गर्छ। र नेकपासँग चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी(को सम्झौता नै भएको थियो।

संसद विघटनपछि पनि चिनियाँ प्रतिनिधिमण्डलले नेपालमै आएर नेकपाको विवाद समाधान गर्ने प्रयास गरेको थियो। अहिले एमाले पनि विभाजनतर्फ गइरहेको छ भने माओवादीले आफ्नो अलग्गै अस्तित्व देखाइसकेको छ। यस्तो अवस्थामा राजदूत यान्कीको सक्रियता बढेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *