एमाले संसदीय दल बैठकः माधव समूहको नरम प्रस्तुति, ओलीको अडान कायमै

खेमराज थापा
१३ चैत २०७७ १७:४१

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमाले ब्युँताएपछि पहिलो पटक माधव समूह एमाले संसदीय दलको बैठकमा सहभागी हुँदा नरमरुपमा प्रस्तुत भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल अनुपस्थित भए पनि सो समूह अर्का वरिष्ठ नेता झलनाथ खनालको अगुवाईमा बैठकमा सहभागी भयो।

शुक्रबारको बैठकमा माधव समूहमा रहेका नेता र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलेमात्र बोलेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। उनका अनुसार वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले बोलेपछि प्रधानमन्त्री ओलीले उनीहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए।

प्रमुख सचेतक भट्टराईले डिसी नेपालसँग भने, ‘आजको बैठकमा उहाँहरुको प्रस्तुति नरम थियो। उहाहरुको जोड पार्टीलाई एकतावद्ध बनाउनमै थियो।’ बैठकमा वरिष्ठ नेता खनालले प्रतिनिधिसभालाई सर्वोच्च अदालतले ब्युँताइदिएको भन्दै सबै सांसदहरुलाई शुभकामना दिएर आफ्नो भनाइ राख्न शुरु गरेका थिए।

एमाले केन्द्रीय सदस्य तथा सांसद राजबहादुर बुढाका अनुसार वरिष्ठ नेता खनालले सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँतिएको भन्दै २०७५ जेठ दुई गतेकै विन्दुबाट पार्टीको गतिविधि शुरु हुनुपर्ने र त्यसका लागि अध्यक्ष ओलीले नै पहल गर्नुपर्ने बताएका थिए। फागुन २८ गते भएको निर्णय र त्यसपछिका निर्णयहरु पनि खारेज गर्दै २०७५ जेठ दुई गतेकै विन्दुबाट पार्टीलाई अगाडि बढाएर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने सुझाव खनालले दिएका थिए। नेताहरु घनश्या भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पनि सोही धारणा राखेका थिए।

यसपछि बोल्न खोजेका वामदेव गौतमले भने बोल्ने अनुमति पाएनन्। प्रधानमन्त्री ओलीले उनलाई बिचमै रोकेर आज बोल्ने समय नरहेको भन्दै उनलाई बोल्न अनुमति दिएनन्। त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो जवाफी भनाइ राखेका थिए।

प्रुमख सचेतक भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले आफूहरुले गरेका कुनै पनि निर्णय फिर्ता नहुने बताएका थिए। प्रधानमन्त्री ओलीले सबै निर्णयहरु विधि र प्रक्रिया पूरा गरेर गरिएको भन्दै अब भइसकेका निर्णय फिर्ता हुने कुनै सम्भावना नरहेको बताएका थिए। यस्तै व्यक्ति विशेषका समस्याबारे छलफल गर्न सकिने भए पनि समूहगत, गुटगत विषयमा छलफल नै गर्न नसकिने प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *