व्यग्य : कहीँ नभएको जात्रा हाम्रै गाउँमा
अचेल देशमा साह्रै रमाइलो वातावरण छ। चारैतिर खुसीयाली छ। ऋतु परिवर्तनसँगै सबैतिर हरियाली छ। जनता खुसी छन्, सुखी छन्, समृद्ध भइसकेका छन् र यो क्षेत्रको सबैभन्दा खुसी जनताको स्तरमा गइसकेका छन्। यो सबैको कारण भनेका हाम्रा अति जनप्रिय र जनहित बाहेक कुनै कुरा नसोच्ने सबै दलका सक्षम नेतृत्व वर्ग नै हुन्।
भन्ने नै हो भने सँसारमा यति सक्षम र यति धेरै जनताको नाम लिएर काम गर्ने नेतृत्व अन्त कतै छैन भनेर ठोकुवा गर्न अप्ठ्यारो मान्न र यसलाइ अन्यथा ठान्न आवश्यक छैन। बिहान उठेदेखि राति नसुतेसम्म जनतालाई सम्झेर नथाक्ने र कुनैपनि काम सुरु गर्दा जनतालाइ नभाक्ने नेता अहिलेसम्म देखिएका छैनन्।
अझ धेरैजसो नेताहरु त सपनामा पनि जनताकै नामको जपना गर्छन् रे भन्ने उहाँहरुकै चम्चाहरुबाट जानकारी पाइन्छ र जनताप्रति उहाँहरुको चिन्ताको स्तर सुनेर चकित खाइन्छ। देश र जनताको हितलाइ नै नेताहरुले आफ्नाे जित सम्झने रहेछन् भन्ने त नेताहरुले प्रत्येक वाक्य पिच्छे महत्वपूर्ण शब्दको अगाडि जन भन्ने शब्द झुण्ड्याएर बोलेको र जन भन्ने शब्दबाटै मुख खोलेको देख्दा सबैले नपत्याइ सुखै छैन।
अन्य देशका नेताहरुले हाम्राले जस्तो जनहित, जनकल्याण,जनभावना,जनकदर आदि आदि जस्ता शब्दहरु उच्चारण गर्न जानेको र उनीहरुले यसैलाइ सर्बोपरी मानेको अनि जनताले पनि नेताहरुलाई आफ्नाे परम हितैषी ठानेको जस्तो लाग्दैन। जनताको हितमा अत्यन्त चिन्तित भएर नै हाम्रा नेताहरु जनताको लागि प्राणभन्दा प्यारा भएका हुन्।
एक बर्ष अगाडि कोभिडको कारणले लकडाउन हुँदा अत्ताल्लिएका जनता भोकै प्यासै बालबच्चा च्यापेर हप्तौंसम्म पैदल हिँडेर घर जाँदा उनिहरुको दुख प्रत्यक्ष देखिएला र आफ्नाे जनपक्षीय भावनामा चोट पुग्ला भन्ने डरको साथै जनताको मायाले त्यो दृश्य हेर्न नसकेर नेताहरु घरैमा बस्न बाध्य भए। कुनै एउटा नेतालेपनि यस बारेमा बोल्न र मुख खोल्न फिटिक्क आवश्यक भएजस्तो गरेन।
भोट हाल्ने र आफूलाई जिताएर पाल्ने समय नआइसकेको हुनाले यसो सहयोग गरेजस्तो गरेर जनताको मुख टाल्ने बेला नभएको हुनाले सबैले यसलाइ सामान्य हिसाबले लिनु स्वाभाविक हो। यस्तो अवस्थामा को भोकै पर्यो को अलपत्र परेर मर्यो भनेर लेखाजोखा गर्ने त झन् आबश्यक देखिँदै देखिएन।
बिहानदेखि बेलुकासम्म चौबिसै घण्टा जनताको नाम जपेर बस्ने र चुनावको बेलामा यो गर्छु उ गर्छु भनेर चिप्लो घस्ने नेताहरुले लकडाउनको समयमा आप्mनो मुखलाई पनि लकडाउन गरेकोलाई नेताहरुले सरकारी आदेशलाई अक्षरश पालना गरेको रुपमा लिएका र जनताले यसलाइ सराहनिय कार्यको दर्जा दिएका छन्।
एकैचोटि नयाँ महामारी आइलागेको र जनता माथि जाइलागेको हुनाले रोकथाम र उपचारको ब्यबस्था मिलाउन अनि जनतालाई राहत दिलाउन सरकारका माथिदेखि तलसम्मका सम्बन्धित पदाधिकारीहरुले मास्क,स्यानिटाइजर, व्यक्तिगत सुरक्षाका सामानहरु लगायतका अन्य उपयोगि सामानहरु आयात गरे। जुन स्वाभाविक पनि हो।
सरकार प्रधानको कुर्सीमा बसिदिन पर्यो र अहिलेकालाई हटाएपछि जसरी भएपनि आफैं त्यसमा बस्न अघि सर्यो अनि सबैलाई सधैंभरी यसै गरी पिरायो र जहाँबाट माल झार्न सकिन्छ त्यहीँ सुँढ छिरायो। यसै गरिगरी विभिन्न कालखण्डमा बस्दै आएको आफ्नो घरपनि भत्काउँदै जाने र अर्काको घरपनि भत्काएर बिदेशबाटसमेत त्यसको ठूलो भाग खाने फर्मुला सबैले चाल पाइसकेको भेउ अहिलेसम्म नपाएको हो कि लाज पचाएर चपाएको हो त्यो चाहीँ उनि आफैं जानुन्।
यसको जिम्मा पाउने ब्यक्ति र कम्पनीहरुको सरकारको माथिल्लो तहसम्मको पहुँचको कारणले सरकारसँगको सम्बन्धको सदुपयोग गर्दै सबै सामानहरु एकलौटी झिकाउने र यसलाई अस्वाभाविक मूल्यमा बिकाउने अनि सबैलाई भागशान्ति गरेर सम्बन्ध अझ बलियो गरी टिकाउने सारै राम्रो ब्यबस्था मिलाएको र महामारीको नाममा पनि अकुत कमाउने मौका दिलाएकोमा बिरोध गर्न आवश्यक नभएरै होला कुनै नेताले चुइक्क समेत बोलेको सुनिएन। सुरु देखि नै काले काले मिलेर खाउँ भाले गर्दै आएको हुनाले कोहीपनि नबोलेको भन्ने कुरामा जनतालाई चाहिँ बिश्वास भएजस्तो देखिँदैन।
कोभिडकै बीचमा एकथरी उच्च तहका नेताहरुलाई जनताको लागि आफ्नै दलको सरकार प्रधानको पत्तासाफ गरेर सत्तामा नगइ नहुने अवस्था आइलाग्यो। सरकार प्रधानको स्वास्थ्य स्थितिको कारणले गर्दा छिटै कुर्सीमा जाइन्छ र बिना रोकटोक धेरै बर्षसम्म मजाले खाइन्छ भनेर गरिएको अप्राकृतिक एकतालाई स्वदेशमै फेरिएको सरकार प्रधानको किड्नीले चकनाचुर पारिदियो र बनावटी एकतालाई सतहमा झारिदियो।
किड्नी फेरेर नवजीवन पाएका सरकार प्रधानको तन्दुरुस्ती, सक्रियता र फूर्तिफार्ती देखेपछि चिन्ताले अर्का दुई नम्बरका अध्यक्षको भोक निद्रा हराएको र सत्ता हातबाट फुस्केला भनेर साह्रै डराएको हो कि भन्ने जनताको अड्कल त्यति सत्य नहुनपनि सक्छ तैपनि जनताले शंका चाहिँ गरे।
यसपछि उनिहरुले कोभिड सँक्रमणलाइ चटक्कै बिर्सेर पटक्कै वास्ता नगरेको देख्दा सत्तासुखको अगाडि सबै दुख गौण रहेछ भन्ने प्रमाणित गरेजस्तो देखियो। आफ्नै दलको झण्डै दुईतिहाइको सरकार ढाल्न र त्यसलाई मुढेबलद्वारा फाल्न बर्षौंसम्म पहिले भित्रभित्र र पछि खुलेआम लागेको र कोभिडमा बिर्सिएका जनतालाइ सम्झेर जागेको देख्दा कुर्सी धरापमा परेपछि जनता भनेका भगवान हुन् हाम्रा लागि जनता भन्दा ठूलो अरु कुनै बस्तु छैन भन्ने चेत खुल्ने रहेछ भनेर प्रमाणित भयो।
आफ्नै दल भित्रको लामो समयको किचकिच, भनाभन, खिचातानी, लुछाचुँडी, असहयोग,गुट उपगुटको राजनीति आदिको चरम विकासले गर्दा दुईतिहाइ मत दिने जनतालाई समेत शरम लाग्ने अवस्था आयो रे भन्ने बजारे हल्ला सुनिएपनि कसैले पत्याएन।
यसैबीचमा आफूलाई असहयोग गरेर काम गर्न नदिएको भन्ने अत्यन्त जायज कारण देखाउँदै सरकार प्रधानले संसद भंग गर्न गरेको सिफारिसलाई झण्डै साठी मिनेटको लामो समयसम्म गहन अध्ययन, छलफल, परामर्श र सोचबिचार गरिसकेपछि राष्ट्र प्रधानबाट स्विकृति प्राप्त भयो। संसद बिघटनको घोषणा भएपछि सरकार चलाइरहेको एउटै दलको एउटा पक्ष ससद पुनस्र्थापनाको माग राखेर र अर्को पक्ष बिघटन जायज छ भन्ने पक्षमा देशैभरिबाट जनता उतारेर एकअर्कालाई नंग्याउने पुनित कार्यमा लागेको देख्दा जनताले कोभिडको त्रासदीमा केही मनोरञ्जन गरेर समय बिताउन र दुवै पक्षको भलो चिताउन पाए।
ज्योतिषले सातपल्ट सरकार प्रधान हुनेमा ढुक्क पर्नु र आफूले गर्नपर्ने बाहेकका सबै काम गर्नु भनेका प्रमुख प्रतिपक्षी दलका नेतालाई स्वघोषित महान नेताले सरकार प्रधान बनिदिनोस् भनेर पटक पटक अनुरोध गर्दापनि टेर पुच्छर नलगाएको देख्दा सबैजना आश्चर्य चकित भएका छन्। ज्योतिषको बचन खेर गएको हो कि यिनको मतिमा सुधार आएर यो गति भएको हो धेरैले बुझेका छैनन्।
नेताहरुले त कोभिडलाई पुरै बिर्सेर एकअर्कालाई गरिएको अत्यन्त निम्नस्तरको गालीगलौज सुनेर मनोरञ्जन गर्न खेतालाहरु खटाएर र सरकारबाट तोकिएको कोभिडको मापदण्ड अघोषित रुपमा हटाएर अनि जनतालाई धपाएर ल्याउने खेतालाहरुलाई राम्रै आर्थिक प्याकेजको गुलियो चटाएर भिड जम्मा पारेर आफ्नाे असली औकात देखाए।
यसमा बिभिन्न ठाउँबाट बस चढेर आउने जनतालेपनि बाटो खर्चसहित मासुभात खाएर अलिअलि शहर डुलेर र केही समयलाई भएपनि कोभिडलाई भुलेर मनोरञ्जन गर्न पाए। महिनौंसम्म चलेको यो सिलसिलामा हुन गएको अरबौंको खर्च बिदेशबाट भित्रिएको हो कि स्वदेशमै फलेको हो त्यो चाहिँ अहिलेसम्म कसैले बुझेको थाहा भएन।
यति ठूलाठूला सडक प्रदर्शनको होबाजीमा एकअर्कालाइ गालीगलौज गर्नु बाहेक जनताकोे पक्षमा एक शब्द खर्च भएको र त्यस दिशामा कोही गएको थाहा भएन। न्याय दिने दिलाउने भन्दापनि बिचौलियाको सेटिङ्ग अनुसार फैसलाको ब्यबस्था मिलाउने कार्यमा ज्यादै दक्ष र हातलागि हुने थैलीको आधारमा पक्ष लिने न्यायमूर्तिहरुबाट संसद बिघटनको बिरुद्धमा फैसला आएपछि सरकार प्रधानले नैतिकताको आधारमा राजिनामा दिन्छन् र राजनीतिबाट सन्यासको बाटो लिन्छन् भनेर मिठाइ ख्वाइख्वाइ गरेका उही दलका प्रतिपक्षीहरुको आशापनि पूरा हुन सकेन।
राजनीतिको शब्दकोषबाट नैतिकता भन्ने शब्द हराएको धेरै बर्ष भइसकेको र नैतिकता नेताहरुबाट धेरै टाढा गइसकेको प्रष्ट देखियो। सरकार चलाउने, आफूले सकेमा सरकार ढलाउने, सरकारवाला दल आपसमा लडेर सरकार ढलेमा भाग्य फलाउने ताकमा रहेको बिपक्षी,आफू टुक्राटुक्रा भएर सकिन लागेको भएपनि परिस्थितिले फेरि पलाउने आशाका साथ राजनैतिक दौडमा रहेका केही दलहरु आदि सबैका मूल नेतृत्वको नैतिकतामा परेको खडेरीलाई जनताले सहज रुपमा लिइदिएको हुनाले यसबाट कोही आत्तिन र केके न आइलाग्ने भयो भनेर मात्तिन पर्ने अवस्था देखिँदैन।
यति ठूलो आन्दोलन,प्रदर्शन र कोभिडको जोखिमसम्मलाई कुनै पर्वाह नगरी जनताको स्वास्थ चुनौती सहेर पुनस्र्थापित भएको संसदले यत्रो दिनसम्म एक दुईवटा शोक प्रस्ताव पारित गर्दै स्थगित गर्दै भत्ता पचाएको देख्दा जनताको प्रतिनिधिमुलक सबैभन्दा ठूलो संस्थालाई नेताहरुले गरेको सारै राम्रो र उचित व्यवहारबाटै उहाँहरुको नजरमा जनताको औकात प्रष्ट हुन्छ।
यसो कहिलेकाहीँ गएर मुख देखाएको भरमा भत्ता आएकै छ, माननीयज्यू भनेर मान सम्मान पाएकै छ, चोचोमोचो मिलाएपछि आउने अतिरिक्त माल खाएकै छ र जता लागेर फाइदा हुन्छ त्यता धाएकै छ भनेपछि यो भन्दा सक्कली जन प्रतिनिधि अरु को हुन सक्ला र? जसले पुनस्र्थापनाको फैसला गरेको हो उसैले संसद चलाइदिन पर्ने र चलाउन नसक्ने भए किन पुनःस्थापना गर्ने भन्ने प्रश्न सरकार प्रधानले तेस्र्याए भने पनि कसैले उदेक नमाने हुन्छ।
हुने र मिल्ने भए सरकार प्रधानलाई निचोरेर काँचै निल्ने सम्मको दुश्मनी भएजस्तो देखिने अभिव्यक्ति दिएर सरकार प्रधानले राजीनामा दिनैपर्छ र दक्षिणी छिमेकीलाई अनुकूल हुने सरकारको नेतृत्व आफूले लिनै पर्छ भनेर नथाक्ने स्वघोषित महान नेताले सरकारलाई दिएको समर्थन फिर्ता नलिनु पनि एउटा आश्चर्यकै बिषय भएको छ।
छलछाम, धम्की, घुर्की, धोका,डरत्रास आदि देखाएर धेरै वर्षसम्म राजनीतिको नाममा गरेको लाजनीति सबैले थाहा पाएको हुनाले जनताले चुनावमा धुलो चटाउलान् र औकात भन्दा ठूलो फूर्ती गरेर हिँड्दा जमानत जफत जस्तो अप्रिय घटना घटाउलान् भन्ने डरले सरकारले पाइरहेको समर्थन फिर्ता लिएर आफूले खाइरहेको सुबिधा गुमाउनुलाई जनताले पनि राम्रो नमान्न सक्छन्।
त्यही भएर सरकार प्रधानको कुर्सीमा बसिदिन पर्यो र अहिलेकालाई हटाएपछि जसरी भएपनि आफैं त्यसमा बस्न अघि सर्यो अनि सबैलाई सधैंभरी यसै गरी पिरायो र जहाँबाट माल झार्न सकिन्छ त्यहीँ सुँढ छिरायो। यसै गरिगरी विभिन्न कालखण्डमा बस्दै आएको आफ्नो घरपनि भत्काउँदै जाने र अर्काको घरपनि भत्काएर बिदेशबाटसमेत त्यसको ठूलो भाग खाने फर्मुला सबैले चाल पाइसकेको भेउ अहिलेसम्म नपाएको हो कि लाज पचाएर चपाएको हो त्यो चाहीँ उनि आफैं जानुन्।
ज्योतिषले सातपल्ट सरकार प्रधान हुनेमा ढुक्क पर्नु र आफूले गर्नपर्ने बाहेकका सबै काम गर्नु भनेका प्रमुख प्रतिपक्षी दलका नेतालाई स्वघोषित महान नेताले सरकार प्रधान बनिदिनोस् भनेर पटक पटक अनुरोध गर्दापनि टेर पुच्छर नलगाएको देख्दा सबैजना आश्चर्य चकित भएका छन्। ज्योतिषको बचन खेर गएको हो कि यिनको मतिमा सुधार आएर यो गति भएको हो धेरैले बुझेका छैनन्।
यसैगरी निष्क्रिय र चुपचाप बसेर आफूलाई ठूला भन्ने दुई बामपन्थीहरुको लडाइँबाट फाइदा उठाएर चुनाव जित्ने र अरु सबैको योजना तुहिएर बित्ने सोचमा भाग्यमा भए डोकोमा दुध अड्याउने धोकोले काम गरे त राम्रै होला नत्र केही भन्न सकिन्न। अरु बिपक्षीहरु पनि काम गरेर भन्दा पनि अरुको गल्तिबाट चुनावमा फाइदा उठाएर खल्ती भर्ने दाउमा लागेका देखिन्छन्।
अहिलेको स्थिति र नेताहरुको काम गराइ हेर्दा संसारका अरु देशका नेताहरु कति हाँसेका होलान् अनि यसबाट उत्पन्न हुने नतिजाले भविष्यमा जनता कति रोलान् भनेर नेताहरु सारै चिन्तित भएका छन् रे भनेको सुन्दा चुट्किला सुन्न अन्त कतै जान नपर्ने भयो भन्ने मुर्खहरु पनि कतैकतै देखिन्छन्।
उहिले राणाहरुको कार्यालय भनेपनि आफ्नो दरवार नै हुन्थ्यो। उनीहरु सबै काम त्यहीँबाटै गर्थे। त्यही गौरवमय परम्परालाई कायम राख्दै अहिलेका सरकार प्रधानले पनि बर्षौंसम्म कार्यालयमा पाइला नहालीकन र त्यहाँबाट सिन्को नढालिकन बालुवाटारबाटै सबै काम फत्ते गरिरहेका छन्। यो त संसार भरकीा सरकार प्रधानहरुले अनुसरण गर्न पर्ने बिषय हो।
सरकार प्रधान नै बर्षौंसम्म कार्यालय नगइकन सरकार हाँकिरहेका छन् भने सबै तहका कर्मचारहीरु पनि कार्यालय नआए के भो र? जो अगुवा उही के भनेजस्तो नैतिकता यहाँपनि हराएको हो कि भन्ने मुर्खहरु पनि नभएका होइनन्।
राणाहरुले जनताको ढाडमा बोकाएर ल्याएको गाडी, हात्ती, घोडा,मान्छेको बुई आदि चढेर ससुराली गएको परम्परा कायम राख्न एकजना सर्वहारा मुख्यमन्त्रीले चारवटा हेलिकोप्टर लिएर र अहिलेसम्मका सबै सर्बहाराहरुलाई माथ दिएर ससुरालीमा भेटघाटमा जान भ्याएछन्। यो सारै राम्रो कुरा हो।
जनताको छोरा, सर्वहारा वर्गको उदियमान नेताले यतिसम्म गर्नुलाई जनताको ठूलो जित, उन्नति र प्रगतिको रुपमा सबैले ग्रहण गरेर ठूलो गर्व र शानको रुपमा लिनपर्छ अनि भबिष्यमा यसलाई अझ बढावा दिनपर्छ। अनि बल्ल सुखी जनता र समृद्ध देशको सपना यथार्थ रुपमा पूरा हुने कुरा जनतालाइ राम्ररी थाहा छ।
यति हुँदाहुँदै पनि दक्षिण एशियामा सबैभन्दा खुसी जनतामा हामी परेछौं र यसपाली हामी निकै माथि तरेछौं। यसको श्रेय पनि खासगरी सरकार प्रधान र अरु शिर्ष नेतृत्वलाई नै जान्छ अनि उहाँहरुकै बुद्धि र ब्यबहारले हामीलाई त्यतातिर तान्छ।
आफ्नो काम जति सबै गोली मारेर दिनदिनै जनतालाई उखानटुक्का, चुट्किला, क्यारिकेचर, प्रहसन, नौटंकी, एकअर्कालाई गाली, गलौज, श्राप, रिस, इष्र्या, डाह, कुण्ठा, असन्तोष आदि मात्रै बकेर जनतालाई हँसाउने बाहेक केही नगर्ने शिर्ष नेतृत्व वर्ग भएपछि जनता खुसी र सुखी नहुने कुरै आएन।
यो बिजयको सम्पूर्ण श्रेय उहाँहरुलाई नै दिनपर्छ र भविष्यमा पनि उहाँहरुबाट यहि खाले अपेक्षा लिनपर्छ। त्यही भएर कहीँ नभएको राजनैतिक जात्रा हाम्रै गाउँमा भन्ने नयाँ उखान ठिक हो भन्ने जनताको ठम्याइ छ।
Facebook Comment