समर्थन फिर्ता नलिन जबरजस्त दबाब छ, तर अब धेरै पर्खिन सक्दिन : प्रचण्ड

डिसी नेपाल
१४ चैत २०७७ १६:४०

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वलाई दिएको समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाब रहेको बताएका छन्। नागरिक आन्दोलनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले समर्थन फिर्ता नलिन दबाब रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘मलाई समर्थन फिर्ता नलिन जबरजस्त दबाब छ। हिजो संसद विघटनलाई असंवैधानिक भन्दै सडकमा सँगै रहेकाहरुबाट दबाब छ। तर म अहिले नाम भन्दिन कसको दबाब भन्ने।’ उनले अगाडि भनेका छन्, ‘समर्थन फिर्ता लिने बेला भइसकेको छैन। फिर्ता लियो भने उल्टो हुन्छ भन्नेहरु पनि छन्। तर, अब म पर्खिन सक्दिन। नैतिक र राजनीतिक रुपमा मैले अब पर्खिन सक्ने अवस्था छैन। हामीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भनेको सरकारलाई मैले नैतिक रुपमा पनि समर्थन दिइरन पर्दैन। अब जेसुकै होस समर्थन फिर्ता लिन्छु।’

तर प्रतिनिधिसभा विघटनविरुद्ध सँगै सडक आन्दोलनमा रहेका दलहरुबीच न्युनतम समझदारी होस् भन्ने आफूले चाहेको उनले बताएका छन्। उनले भनेका छन्, ‘अविश्वास प्रस्ताव ल्याउने र समर्थन फिर्ता लिने एकै पटक होस भन्ने हो। अहिलेको समर्थन दाह्रा किटेरै गरिएको छ।’

प्रचण्डले संसद पुनःस्थापना हुनेवित्तिकै सरकारका विषयमा निर्णय लिनुपर्नेमा गल्ति गरिएको उनले बताए। उनले भने, ‘संसद पुनःस्थापनापछि रिल्याक्स गरियो, ठूलो लडाइँ जितियो भन्ने लाग्यो। दोस्रो योजनामा गम्भीर भएनौं। रिल्याक्स गरेयौं गल्ति भयो। यो सबै डिजाइनमा भएको हो भन्ने बुझ्न सकेनौं। गल्ति त्यहाँ भयो। फागुन २३ को सर्वोच्चको फैसला अप्राकृतिक हो। तर पनि सर्वोच्च इज सर्वोच्च भन्ने छ। यो सिस्टममा सर्वोच्चको फैसला मान्नैपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *