राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा नाराका साथ सफाइ
काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४११औँ हप्तामा वाग्मती र रुद्रमती (धोबीखोला) दोभानमा सफाइ गरिएको छ ।
काठमाडौं महानगरपालिका–११ को पहलमा भएको सफाइबाट छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाको पनि सफाइ सक्रियता थियो ।
यसैगरी महानगरपालिका–११ का सदस्य आशा श्रेष्ठ, सोही वडाका टोल वासी, राजेश मार्ग टोल सुधार समितिका अध्यक्ष ज्ञानुकुमार बज्राचार्यसहितको समूह, रोज बर्ड स्कूल, नेपाली सेना चन्डि दल गण सिंहदरबार, सशस्त्र प्रहरी वल, वाग्मती फोहर उन्मुलन उपभोक्ता समिति, गायत्री परिवार एव वाग्मती सफाइ महाअभियानका अभियानकर्मीको उपस्थिति थियो ।
अधिकार सम्पन्न वाग्मती समितिले नदीमा डोजर लगाई फोहरलाई व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। रास्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियान शुरु भएदेखि हालसम्म चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकुल परिस्थितिमा पनि सफाइ महाअभियान जारी छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३८१औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा माथिल्लो क्षेत्रका अभियानकर्मीको सक्रियता थियो ।
महाअभियानबाट प्रभावित भएर वाग्मतीको गुह्येश्वरीमाथिको नदी क्षेत्र, तिलगङ्गा क्षेत्र, आलोकनगर क्षेत्र, सुन्दरीघाट क्षेत्र, सहायक नदीहरु रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरीखोला लगायतमा पनि सफाइ अभियान शुरु भएको छ । ती नदीमा आज पनि सफाइ अभियान जारी रहेको छ ।
उपत्यकाको अभियानबाट प्रभावित भएर उपत्यकाबाहिरका मुख्य शहर, प्रमुख नदीलगायत देशभर १०७ भन्दा बढी स्थानमा पनि सफाइ अभियान भइरहेको छ । वाग्मती सफाइ महाअभियानको प्रभावबाट देशभर सफाइ जागरण फैलिए पनि स्थानीय सरकारले बेवास्ता गरेको अभियानकर्मीको गुनासो छ ।
यसैगरी चक्रपथ पश्चिम खण्डको सफाइको १९९औँ हप्ताको सफाइ स्यूचाटारबाट कलंकीसम्मको क्षेत्रमा सफाइ गरी दुई गाडी फोहर व्यवस्थापन गरिएको छ । सफाइमा सामाजिक सुधार अभियानकर्मी ज्ञानेन्द्र शाहीलगायत करिब ४०० जना अभियानकर्मीको उपस्थिति रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । यसैगरी चक्रपथको उत्तरी खण्डमा पनि सफाइ हुँदै आएको छ । रासस
Facebook Comment