म्यानमार हिंसाप्रति काँग्रेसद्वारा निन्दा

डिसी नेपाल
१५ चैत २०७७ १६:३०

काठमाडौं। म्यानमार सेनाले कू गरेपछि भएको विरोध प्रदर्शनमा सेनाले अत्यधिक बल प्रयोग गरी सर्वसाधारणको ज्यान लिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निन्दा गरेको छ। शनिबार म्यानमारमा सेनाको गोलीबाट १ सयभन्दा धेरै सर्वसधारण मारिएका थिए।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै म्यानमार हिंसाविरुद्ध एक्यवद्धता जनाउन आव्हानसमेत गरेका छन्। उनले भनेका छन्, ‘म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ। जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकि लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको छ।’

गत फेब्रुअरीमा सेनाले त्यहाँको जननिर्वाचित सरकारलाई च्यूत गर्दै सत्ता हातमा लिएको थियो। त्यसयता म्यानमा दैनिक विरोध प्रदर्शनहरु भइरहेका छन्। सेनाले भने प्रदर्शनकारीमाथि निर्ममरुपमा बल प्रयोग गरिरहेको छ। कू भएयता हालसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ। शनिबारको हिंसापछि अमेरिका, बेलायत, यूरोपेली युनियनलगायतले म्यानमारको सेनाको तिब्र आलोचना गरेका छन्।

शनिबारको घटनाबारे नेपाल सरकारको औपचारिक भनाइ नआउँदै प्रमुख प्रतिपक्षी दल काँग्रेसले प्रतिक्रिया दिएको हो।

काँग्रेसले भनेको छ, ‘विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यवद्धता जनाउने नीति नेपाली काँग्रेसले लिंदै आएको छ। म्यानमारको पछिल्लो कू लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालि रहेका छौं। सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ।’

काँग्रेसले दमनका विरुद्ध लोकतन्त्रका पक्षमा म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमि गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यवद्ध हुन सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *