होली पर्वः २६ सय सवारी साधान कारबाहीमा
काठमाडौं। महानगरीय ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने २६१६ सवारी चालकहरुलाई कारबाही गरेको छ। होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि बाइक हुँइक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिबिधीमा संलग्न चालकहरुमाथि कारबाही गरिइएको ट्राफिक प्रहरीले जनाएको छ।
रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर चेकिङ्लाई कडा बनाइएको थियो। आइतबार दिनभरि छिटफुट दुर्घटना भएको छ। चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ८२ जनालाई कारबाहि गरेको छ।
उपत्यकाका तीन जिल्लामा आइतबार दिनभरिमा २८ वटा सामान्य किसिमका दुर्घटनाहरु भएका छन्। एयरपोर्टमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको केएमसी र बुढानिलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाईते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ।
दुर्घटना रहित होली बनाउने बिशेष योजना सहितको चेकजाँचको क्रममा मोडिफाइ गरेको मोटरसाइकललाई कारबाही गर्दा पाँचसय रुपैया दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरि मालीगाँउ बृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरि होहल्ला गर्ने मोटरसाईकललाई कारबाहि गर्न खोज्दा एक हजार रुपैँया दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारबाही सातदोबाटो बृत्तमा पठाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढि ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको थियो।
Facebook Comment