केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट पर्यो होला, देशलाई कहाँ संकट परेको छ ? प्रधानमन्त्री

डिसी नेपाल
१७ चैत २०७७ २०:३५

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो देशमा कुनै संकट नरहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एकता भन्ने शब्दको हुर्मत प्रज्ञा भवनको डबलीमा बसेर लिईएको भन्दै आलोचना गरे । देश संकटमा नपरेको पनि उनले दाबी गरे । बरु, केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको होला तर देशलाई संकट नपरेको उनको दाबी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई केही विमारी त आफूले नदेखेको पनि उनको जिकिर छ । उनले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ ? भन्दै प्रतिपश्न गरे ।

उनले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुने भन्दै त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ भन्दै प्रश्न गरे ।उनले सम्बोधनको क्रममा भने,‘चुनाव भएर लोकतन्त्रलाई खतरामा पार्छ भने अब २० महिनामा त चुनाव नै हुन्छ नि । तालसुरमा कुरा गर्नुपर्छ मान्छेले ।’

उनले प्रतिनिधिसभा विघटनको सिफारिश अदालतले बदर गरेको उल्लेख गर्दै आफू कुनै आवेश र उत्तेजनामा नआएको स्मरण गराए । उनले अदालतको फैसलालाई आफूहरुले मान्ने र कार्यान्वयन गर्ने पनि सुनाए । संसद् पूनःस्थापना हुँदा अदालतलाई गुणगान गर्दै अविर जात्रा गरेको भन्दै प्रचण्ड र माधव नेपालतर्फ ईंगित गर्दै पछि उनीहरुले नै फेरि अदालतको आदेशको आलोचना गरेको पनि उनले टिप्पणी गरे ।

प्रधानमन्त्रीले क्लबले सफलताका २३ वर्ष पार गरेकोमा हार्दिक बधाई तथा धन्यवाद दिए । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझै बढि जनताको विश्वास आर्जन गर्न सकोस भन्ने शुभकामना पनि दिए । प्रधानमन्त्री ओलीले क्लबले मिशन पत्रकारिताभन्दा पनि निश्पक्ष र स्वच्छ पत्रकारिता गरेको विश्वास दिलाए । उनले नेपालमा पछिल्लो समय केहीले मिशन पत्रकारिता गरिरहेको भन्दै आलोचना गरे । साँचो पत्रकारिताको अभ्यास क्लबले गरेको उनले स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *