कर्णाली सरकार जोगाउन माओवादी शीर्ष नेताहरुबीच छलफल

डिसी नेपाल
१८ चैत २०७७ १७:०१

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार जोगाउन माओवादी केन्द्रले अन्तिम प्रयास थालेको छ। बुधबार खुमलटारस्थित प्रचण्डनिवासमा कर्णाली सरकार जोगाउन माओवादी शीर्ष नेताहरुबीच छलफल भएको छ ।

स्रोतका अनुसार छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मातृकाप्रसाद यादव , वर्षमान पुन , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र जनार्दन शर्मा लगायत शीर्ष नेताहरुको उपस्थिति रहेको थियो । करिब २ घण्टा लामो छलफलमा मुख्य सहयोगी नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संकटमा परेको कर्णाली प्रदेशको सरकार कसरी जोगाउने भन्ने बिषयमा छलफल भएको स्रोतले बतायो ।

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कर्णाली सरकार संटकमा परेको हो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेको २० सिट छ। एमालेलाई बहुमतका लागि एक सिट आवश्यक पर्छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। तर, यसअघि एमालेभित्र पनि माधव नेपाल समूहले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै आएको थियो। तर पछिल्लो समय नेपाल समूह पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सहमत भएको छ।

पार्टीभित्र केन्द्रको राजनीतिक समीकरणमा परिवर्तन आएसँगै नेपाल समूह पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सहमत भएको माधव नेपाल समूहका सांसद सुशील थापाले जानकारी दिए।

कर्णाली प्रदेशमा माओवादी केन्द्रका १३ सदस्य छन्। ती मध्ये एक जना सदस्य धर्म रेग्मी माओवादी छोडेर एमाले प्रवेश गरिसकेका छन्। कर्णाली प्रदेशसभा केही दिनभित्रै बस्नेछ र ३० दिनभित्र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुपर्छ। विश्वासको मत लिन नसके उनले राजीनामा दिनुपर्ने हुन्छ।

मुख्यमन्त्री शाहीको सरकार परिवर्तन भएमा एमाले नेतृत्वमा सरकार बन्ने पक्का छ। त्यस्तो अवस्था आए मुख्यमन्त्री यमलाल कँडेल हुनेछन्। उनी कर्णाली प्रदेशमा एमाले संसदीय दलका नेतासमेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *