सगरमाथामा तेन्जिङ नोर्गेले आरोहण गर्दादेखिको फोहोर छ : कामिरिता शेर्पा
सोलुखुम्बुको थामे गाउँका ५१ वर्षीय कामिरिता शेर्पाको नाममा विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गरेको कीर्तिमान छ। उनले २४ पटक सगरमाथाको आरोहण गरिसकेका छन्। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्नेको सूचीमा दोस्रो स्थानमा रहेका ङिमा नुरु शेर्पाभन्दा कामिरिताले थप ३ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्।
कामिरिता अब २५ औं पटक सगरमाथाको शिखरको यात्रामा निस्किँदैछन्। अप्रिल महिनाको पहिलो हप्ता बहराइनका राजकुमारसहितको टोलीको नेतृत्व गर्दै उनी सगरमाथाको शिखरतर्फ उक्लिनेछन्। सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।
कामिरिताले एकै याममा दुई पटक सगरमाथा चढ्न लागेको यो चौथो पटक हो। यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथाको आरोहण गरिसकेका छन्। उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए।
हुन त सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए। तर आधार शिविर नआइकन चौथो शिविरबाटै पुनः माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन।कामिरितासँग उनको २५ औं आरोहणसहित नेपालको पर्वतारोहणसम्बन्धी विषयमा डिसीनेपालका लागि फुर्पा शेर्पाले गरेको कुराकानी :
सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान आफ्नै नाममा हुँदाहुँदै फेरि किन आरोहण गर्न लाग्नुभएको ?
मैले आफ्नै रेकर्ड तोड्नको लागि २५ औ पटक सगरमाथा आरोहण गर्न लागेको होइन । मेरो साथमै आरोहण गर्नको लागि भनेर आरोहीहरुको टिम आएकोले मैले आरोहण गर्न लागेको हुँ । रेकर्ड होल्डरसँग आरोहण गर्दा सजिलो होला भनेर हुनसक्छ विदेशीहरु हामीसँगै आरोहण गर्न चाहन्छन्।
मैले २०२० मै ५० वर्ष उमेर पुग्दा २५ औं पटक सगरमाथा आरोहण गरेर सिल्भर जुभली हासिल गरेर छोड्ने सोच थियो तर कोरोनाले गर्दा २०२० मा आरोहण गर्न पाइएन । त्यसैले यसपटक २०२१ मा चढ्न लागेको छु, र यस वर्षमा सगरमाथा आरोहण गरेर सिल्भर जुभली मनाउने सोच छ।
अहिलेका पर्वतारोहीहरुलाई सजिलो भएको छ। तालिम दिने ठाउँहरु पनि खुलेका छन्। पहिले तालिम दिने ठाउँहरु पनि थिएनन्। अहिले जताततै पर्वतारोहण, आइस क्लाइम्बिङ जस्ता तालिम स्कूलहरु छन्। त्यसले गर्दा अहिलेको पुस्तालाई अलिकति भएपनि हिमाल आरोहण सम्बन्धी ज्ञान भएर केही सजिलो भएको छ।
मेरो एउटा किताब निकाल्ने सोच पनि थियो। अहिले त्यो किताब ‘हाउ टु क्लाइम्ब एभरेष्ट’ प्रकाशित भइसक्यो र बिक्रीपनि भइरहेको छ। हुन त मैले नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदा नै अब पर्वतारोहण सम्बन्धी काम नगर्ने भनेको थिएँ । तर, विदेशीहरुले तिमी छैनौ भने नआउने, तिमी नै नेतृत्व गर्दैनौ भने हामी पनि नआउने भन्न थाले।
सगरमाथा वा अन्य जुनसुकै हिमाल आरोहणमा म एक जनाले नेतृत्व गरेर पाँच छ जना विदेशी पर्यटक आउँछछन् भने त्यो पाँच छ जना विदेशीले पर्यटकको टोलीको लागि ४०/५० व्यक्तिले काम पाउँछन्। उनीहरु आउँदा यहाँका होटलदेखि लिएर विमान, बाटो पसलहरुको पनि व्यापार हुन्छ।
मेरै कारणले विदेशी आउँदा हाम्रो नेपालमा आम्दानी हुन्छ भने मैले किन छोड्ने भनेर २०२१ मा २५ औं पटक सगरमाथा आरोहण गर्न जान लागेको हो । यो रेकर्ड राख्न जान लागेको होइन । मेरो पहिले नै २४ औं पटकको रेकर्ड भइसकेको छ।
अब २५ औं पटक सगरमाथा आरोहण गरेपछि फेरि निरन्तरता दिनुहुन्छ कि सन्यास लिनुहुन्छ ?
यस विषयमा कुरा गर्नु पर्दा सम्झौताको कुरा आउँछ। हाम्रो कम्पनीमा सम्झौता हुन्छ। कम्पनीबाट नेतृत्व हुन्छ। विदेशी कम्पनीमा पनि हाम्रो सम्झौता हुन्छ। त्यसअनुसार मैले अझै दुई–तीन वर्ष चाँहि गर्नु पर्ने हुन्छ किनभने मेरो सम्झौतामा अझै दुई–तीन वर्ष बाँकी छ। कम्पनीको नियमअनुसार हामीले चल्नु पर्छ।
मैले २५ औं पटक आरोहण गरेर स्थगित गर्ने सोच बनाएको थिएँ । तर, कम्पनीसँग सम्झौता भइसकेकोले यो कुरा आउने समयले बताउँछ। मेरो सम्झौता बाँकी छँदै फेरि अर्को टिम मेरै नेतृत्वमा जाने गरी आयो भने जान पनि सक्छु । यही अन्तिम पनि हुन सक्छ।
कहिले जानु हुन्छ २५ औं पटक सगरमाथा आरोहणको लागि?
अप्रिलको पहिलो हप्ता जाने हो।
कति दिनको लागि आरोहण हो? यसपटक तपाइँको टिममा कति जना हुनुहुन्छ ?
सामान्यतया एक महिनाको हुन्छ । मौसमले साथ दियो भने बाटो खुल्छ त्यसैले चाँडो पनि हुन सक्छ । यसपटक मौसमले साथ दियो भने ट्राफिक जाम पनि नहोला कि भन्ने आशा छ हाम्रो । मैले नेतृत्व गर्ने बहराइनका राजकुमार सहितको टोली हो। टिममा १६ जना छन्। कम्पनीको चाहीँ ६ समूह छ। सबैलाई मैले नेतृत्व गर्नुपर्छ । यसपटकको टोलीलाई मैले क्याम्प २ देखि माथि बाटो खोल्ने र बहराइनका राजकुमारको टोलीलाई नेतृत्व गर्नु पर्छ।
पहिलोचोटी सगरमाथा आरोहण र २४औं पटकको आरोहणमा के फरक महसुस गर्नु भएको छ ? पहिलो पटक देखेको सगरमाथाको अवस्था र अहिले २४ औंं पटक आरोहण गर्दा के फरक पाउनुभयो?
म भर्खर भर्खर हिमाल चढ्ने समयमा काठमाडौंमा ट्रेकिङ पसलहरु थिएनन्। अहिले ट्रेकिङ पसलहरु धेरै छन्। पैसा छ भने आफूलाई कस्तो लुगा चाहिन्छ किन्न पनि पाइन्छ । अहिले त सजिलो लुगाहरु पसलमा पाइन्छ।
तातो कपडाहरु सजिलै पाउने सुविधा छ । राम्रो प्रविधि, उपकरण, गियर्सहरु आइरहेका छन् र सजिलो भएको छ। पहिले मौसम पूर्वानुमानको सुविधा नभएर पनि अलि गाह्रो भयो हामीलाई । आफैले नै विचार गर्नु पर्थ्यो।
सरकारले एउटा नीति ल्याउनु पर्ने हो । सरकारले के गर्यो भने हामीले २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भनियो । तर अस्ती विरोध गर्ने समयमा हजारौं जना जम्मा भएर विरोध गर्दा केही भनिएन । त्यस्ता कार्यक्रममा त मास्क पनि लाउनु नपर्ने रे, भौतिक दुरी नहुने, त्यस्तो पनि सरकारको नीति हो ?
त्यो बेला हामीले राति तारा हेरेर हप्ता दिन मौसम ठिक हुने रहेछ भनेर अनुमान गर्थ्यौं। अहिले भने प्रविधिले मौसम पूर्वानुमान गर्दा हावा यति रहेछ, यो दिन पानी पर्छ, यो दिन हावा चल्छ भन्ने थाहा पाउन सजिलो छ।
अहिलेका पर्वतारोहीहरुलाई सजिलो भएको छ। तालिम दिने ठाउँहरु पनि खुलेका छन्। पहिले तालिम दिने ठाउँहरु पनि थिएनन्। अहिले जताततै पर्वतारोहण, आइस क्लाइम्बिङ जस्ता तालिम स्कूलहरु छन्। त्यसले गर्दा अहिलेको पुस्तालाई अलिकति भएपनि हिमाल आरोहण सम्बन्धी ज्ञान भएर केही सजिलो भएको छ।
समय अनुसार पर्वतारोहणमा सजिलो भएको हो त?
पहिलाको भन्दा अलि सजिलो छ किनभने अब आफूसँग ज्ञान छ भने धेरै फरक हुन्छ। ज्ञान छ भने जुन पनि कुरामा धेरै फरक पर्छ। त्यही भएर अहिले काठमाडौं बस्यो भने ठाउँ ठाउँमा पर्वतारोहण, आइस क्लाइम्बिङ सम्बन्धी तालिम लिने ठाउँहरु छन्। त्यहाँबाट केही भए पनि पर्वतारोहणसम्बन्धी ज्ञान लिन पाइन्छ। अहिले सजिला र राम्रो प्रविधि उपकरण र गियर्सहरु पनि सजिलै पाइने भएकोले पनि केही सजिलो भएको छ।
विदेशी पर्यटकहरुलाई नेतृत्व गर्न कत्तिको गाह्रो छ ?
हिमाल चढ्ने मात्र होइन टे«किङ वा जुनसुकै पर्यटन क्षेत्रमा नेतृत्व गर्ने काम एकदमै सजिलो चाहीँ छैन। हेर्दा काम सजिलो जस्तो लाग्छ। ए, तिमी गाइड भनेर मान्छेले सोच्छन् तर गाइडको दिमाग कति खायो भनेर मान्छेले बुझ्दैनन्।
हामीसँग दिमागदेखि लिएर धेरै कुराहरु हुनुपर्छ । हामीले नियन्त्रण गर्न सक्नुपर्छ। काठमाडौंदेखि नै हाम्रो जिम्मा हुन्छ। कुल्लीदेखि लिएर हामीले होटलवालादेखि सबै सम्बन्धितलाई व्यिवस्थित तरिकाले चलाउनुपर्छ। त्यो मान्छेलाई कसरी सम्बन्धित ठाउँसम्म लैजाने भन्ने योजना हामीले बनाउने हो । गाइड राम्रो भएन भने गुनासो बढी आउने त्यही कारणले हो गाइड राम्रो भनेर बोल्ने मात्र भएर भएन त्यसमा प्राबिधिक ज्ञान पनि चाहिन्छ।
अहिलेका युवाहरु पढेका छन् तर पहिलेकोहरुले पढेको छैनन्। पहिलेकाले सिद्धान्तबाट सिकेर जान्दथे। अहिलेकाहरु धेरै बोल्ने भन्ने गुनासो पनि आउँछ। बोल्ने मात्र भएर हुन्न सिद्धान्त पनि हुनुपर्छ। उचाइमा के गर्नुपर्छ? उचाइमा के सम्बन्धी सिकाउनु पर्छ? उचाइमा बिरामी भयो भने के गर्नु पर्छ ? त्यो सबै थाहा हुनुपर्छ।
त्यही भएर अलिकति गाह्रो हुन्छ, गाइडको जिम्मा पाउनु भनेको गाह्रो जिम्मा हो । गाइड भनेको हामै परिवारमा बुबा हुनुहुन्छ र घरको रेखदेख सबै गर्नुहुन्छ भनेजस्तै हो। बुवाले सबै गर्नुहुन्छ र धेरै टाउको दुखाइ हुन्छ, गाइडलाई पनि त्यस्तै हुन्छ । हामी गाइडहरुले पनि पूरै टिमको जिम्मा लिनुपर्छ त्यही भएर धेरै नै गाह्रो हुन्छ।
अहिले धेरै व्यक्तिहरु हिमाल आरोहण गरिरहेका छन्, त्यहाँ वरिपरि फोहोर पनि होला। के छ त्यहाँको अवस्था? कसरी सफा गर्न सकिन्छ?
फोहोरको कुरा गर्नु पर्दा, त्यहाँ भएको फोहोर अहिलेका पर्वतारोहीहरुले छोडेको होइन। किनभने अहिलेको पर्वतारोहीहरुलाई त्यहाँ फोहोर छोड्न दिइँदैन।
हामीले माथि जाँदा फोहोर निस्किने कति सामान लगियो भनेर फाराम भरेर जानुपर्छ र फर्किंदा त्यही टिमले लगेको फोहोर ल्याउँछ कि ल्याउँदैन भनेर बेस क्याम्पमै जाँच हुन्छ। सगरमाथामा भएको फोहोर तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले चढ्दादेखिको हो । त्यही समयदेखि नै सगरमाथा आरोहण गर्ने बाटो पत्ता लागेको हो। त्यही समयदेखिको फोहोर हो।
समयमा हिउँ परेन, पानी पर्ने बेला पानी परेन त्यही भएर पहिलाको फोहोरहरु हिउँ पग्लेर त्यहीँ जम्मा भएको हो। यो फोहोरलाई एक–दुई चोटी सफा गरेर सफा हुने खालको होइन। आज घर सफा गरे अहिले नै फोहोर हुन्छ यो पनि त्यस्तै हो। सगरमाथामा पनि हरेक वर्ष सफा गर्नुपर्छ।
सरकारले २०१९ मा पनि अलिअलि फोहोर सफा गरेको हो तर सबै फोहर हटाइएको छैन। अहिले सेनाले एउटा टिम छुट्याएको छ। यो टिम आठ वटा हिमालहरुको सफाइका लागि जाँदैछ । सरसफाइमा ध्यान दिनुपर्ने देखिएको छ। खासमा यो काम सेनालाई दिने पनि होइन। युद्धमा पो सेना पठाउने, सगरमाथामा फोहोर सफा गर्न त शेर्पा नै चाहिन्छ। सेनालाई दियो भने पनि टेन्डर खोलेर शेर्पालाई भाडामा लिन्छन् ।
यसो गर्नुभन्दा सिधै कुनै कम्पनीलाई दियो भने त्यो फोहोर सफा गर्ने पर्वतारोहीलाई जिम्मा दिँदा काम पनि राम्रो हुन्छ । सफा गर्ने काम सेनालाई दियो भने पनि घुमिफिरी काम पाउने भनेको शेर्पाले नै हो । त्यसैले सरकारले सरसफाइको जिम्मा पर्वतारोहण संघहरुलाई दिनुपर्छ।
आरोहीहरुलाई फोहोर सफा गर्ने जिम्मा दियो भने फोहोर सफा हुन्छ। अलिकति लापरवाहीबाट पनि सफाइ नपुगेको हो । नेपाल पर्वतारोहण संघलाई दिएर उनीहरुलाई नै हिमालमा को जान सक्छ, सक्दैन् बुझेर काम लगाउन दिनुपर्छ।
हिमालमा जान सक्नेलाई खटाएर फोहोर सफा गर्न लगायो भने हिमालहरु सफा हुन्छ। हामीलाई गुनासो पनि आउँछ तर हामीले भनेर सरकारले सुन्दैन। विदेशीहरुले सगरमाथा डम्पिङ क्षेत्र भयो भन्न थालेका छन् ।
हिमाल चढ्न कसरी प्रेरित हुनुभयो ?
तेन्जिङ नोर्गे शेर्पा हाम्रै गाउँको हो। आङरिता शेर्पा पनि हाम्रै गाउँकै हुनुहुन्छ। आपा शेर्पा हाम्रै गाउँको हो। उहाँहरु मात्र नभएर अरु पनि धेरै छन् । हाम्रो गाउँलाई पर्यटन क्षेत्र भन्छन् तर हामी बसेको थामेको नाम चलेको आरोहणकै कारणले हो। हामीअघिका आरोहीहरुलाई पच्छ्याएर नै आरोहण सिकेको हो।
किनभने हाम्रो गाउँ थामे भनेको सगरमाथाको क्षेत्र हो। नाम्चे यता त विकास नै छ तर हाम्रो गाउँ त दुर्गम छ। हामीलाई स्कूल पनि थिएन, पढ्न पाएनौं, हिमाल आरोहणमै लागियो। अहिले हाम्रो गाउँमा एडमण्ड हिलारीले स्कूल खोलिदिए। अहिलेको बच्चाहरु स्कूलतिर लागेका छन्। हामीले पढ्नुपर्छ भन्ने सोच्छन्। हामी आरोहीहरुले पनि आफ्नो बच्चाहरुलाई पढाउँछु बरु हामी नै दुःख गर्छौं भन्ने सोच्छौं।
पहिले हामीले काठमाडौं काम खोज्न जाँदा तीन महिना अघि काठमाडौंमा आएर ट्रेकिङ कम्पनीहरुमा गएर कुन कम्पनीमा यसपालि कुन हिमालको काम छ भनेर सोधेर काम माग्थ्यौं। त्यहाँका निर्देशकरुलाई ढोगेर, बियरहरु लगेर काम माग्थ्यौं। उनीहरुले पनि पछि हेर्दै गरौंला भन्थे।
अहिले भने हामी गाइडलाई तीन महिना अगाडि उनीहरु ढोग्न आउँछन्। समय उल्टो भयो। नेपालमा आरोहीहरु घट्न थाले। नेपालमा राम्रा राम्रा आरोहीहरुलाई सुविधा नदिएपछि उनीहरु विदेश जान थाले। उनीहरुलाई इज्जत नै नदिइएपछि सबै विदेश जान खोज्छन्। विदेशमा गयो भने राम्रो काम पाइन्छ भन्ने परिसक्यो।
नेपालमा जस्तो नाम कमाएपनि काम छैन भन्ने सोच बनिसक्यो। नेपालमा पर्वतारोहण सम्बन्धी काममा भविष्य नभएकाले अब बिस्तारै शेर्पाहरुले काम छोड्ने तयारीमा छन्। त्यस्तो देखिइरहेको छ। अहिले स्मार्ट गाइडहरु कम छन्। पहिलाको तुलनामा ३० प्रतिशतले काम छोडिसके।
कोरोनाले पर्वतारोहण क्षेत्रमा के कस्ता समस्या ल्यायो ?
विश्वमै यसले असर गरेको छ । नेपालमा त अर्थतन्त्रको प्रमुख स्रोत भनेको नै पर्यटन हो। त्यही कारणले गर्दा समस्या भयो। सरकारले राहत पनि दिएन । ट्रेकिङ गाइडहरुलाई गाह्रो भयो। अहिले हिमाल आरोहणसम्बन्धी काम त खोलिएको छ तर अझै पनि पर्यटन क्षेत्रमा काम गर्नेहरुलाई दुःख नै छ। त्यसमा सरकारले सहयोग गर्नु पर्छ। कोरोनाको खोप आइरहेको छ।
सरकारले एउटा नीति ल्याउनु पर्ने हो । सरकारले के गर्यो भने हामीले २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भनियो । तर अस्ती विरोध गर्ने समयमा हजारौं जना जम्मा भएर विरोध गर्दा केही भनिएन । त्यस्ता कार्यक्रममा त मास्क पनि लाउनु नपर्ने रे, भौतिक दुरी नहुने, त्यस्तो पनि सरकारको नीति हो ?
Facebook Comment