जसको नाममा सहमति जुट्छ त्यसकै नेतृत्वमा सरकार बन्छः मिन विश्वकर्मा

डिसी नेपाल
२१ चैत २०७७ २२:३६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका छन्। उनले भने,‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत्त परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘जनताले केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन् । यो सरकारले गरेको ज्यादती अति भयो, यसले संविधान मिच्यो, यसले कानून मिच्यो, यसले जनजिविकाको विषयलाई पटक्कै हेरेन, उखान टुक्का र छलछाममा मात्रै यो सरकार व्यस्त भयो, भ्रष्टाचारमा लिप्त भयो, मुलुकमा विसंगति बढायो, त्यसको भएको हुनाले यसको विकल्पमा अर्को सरकार गठन गर्नुपर्यो, कांग्रेस किन चुप लागेर बसेको छ भन्ने दबाबका बीच हिजो भएको केन्द्रीय समितिको बैठकमा हामीले पनि आन्तरिक रुपमा लामो छलफल र बहस गरेपछि अब जनताको भावनालाई आत्मसात् गर्दै राष्ट्रिय राजनीतिक दलहरुको बेला बेलाको परामर्श र सुझावलाई ग्रहणलाई गर्दै हामीसँगै रहेको, आन्दोलनमा सँगै रहेको, सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि कांग्रेसको नेतृत्वसँग पटक पटक परामर्श गरिसकेपछि कांग्रेसले पनि वैकल्पिक सरकार गठन गर्ने बाटो हिजो केन्द्रीय समिति बैठकबाट खोल्यो ।’

उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे । नेता विश्वकर्माले ओली नेतृत्वको सरकारले सरकार सञ्चालनको लागि कानूनी, राजनैतिक र नैतिक धरातल गुमाएको उल्लेख गर्दै आफूहरुले राजीनामा मागेको पनि स्पष्ट पारे । उनले भने,‘आँफैले विघटन गरेको संसदमा जान प्रधानमन्त्रीलाई पटक्कै जाँगर लागेको छैन् । यो कुरा त सत्य हो । र, यो सरकारलाई संसदलाई विजनेश दिनपनि पटक्कै मन छैन् ।’ उनले संसद् सुचारु गर्न र जनप्रिय सरकार सञ्चालनको लागि अब संसद्ले अर्को सरकार खोज्नुपर्ने कुरा सत्य भएको सुनाए ।

उनले नेकपा (माओवादी केन्द्र) ले पनि तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए । उनले भने,‘माओवादी केन्द्रले छिटोभन्दा छिटो समर्थन फिर्ता लिनुपर्छ । आन्तरिक कारणले हो कि, वा रणनैतिक कारणले हो, अथवा प्राविधिक कारणले हो, किन हो ? उहाँहरुले फिर्ता लिनुभएको छैन् । उहाँहरुले समर्थन फिर्ता लिएर बाटो खोलिदिएपछि नेपाली कांग्रेसले सबै राजनीतिक दल, सबै भनेको केपी ओली नेतृत्वको एमाले होईन है, तर एमालेभित्रपनि उत्पीडनमा परेकाहरुसँगपनि बृहत्त परामर्श र छलफल गरेर अघि बढ्छौं । र, यो मुलुकलाई राजनीतिक निकास दिनको लागि, संसदीय पद्धतीलाई सुचारु गर्नको लागि, र अब बजेट र योजना तर्जुमा गर्ने बेलामा वैधानिक र बहुमत, र जनताको सरकार निर्माण गर्नको लागि सरकार तयार छ । यो भन्दा अगाडि पनि कांग्रेसले पहल गरिरहेको थियो । अब औपचारिक रुपमा वार्ता तथा छलफलबाट नयाँ सरकारको गठनको तयारीमा हुन्छौं ।’

उनले संसदले अर्को सरकार खोजिरहेको भएपनि प्रधानमन्त्री ओलीले भने अर्को संसद बनाउनको लागि विभिन्न भेन्टिलेशन खोजिरहेको टिप्पणी गरे । उनले भने,‘बाहिर हल्ला हुन्छ, फेरि संसद विघटन गर्दै हुनुहुन्छ अरे, एपटक आगोमा छोएर हात डढाईसकेको बच्चाले त फेरि त्यो आगोमा हात हाल्दैन भने प्रधानमन्त्री त्यति बालकभन्दा मुर्ख हुनुहुन्छ जस्तो मलाई लाग्दैन् ।’ नेता विश्वकर्माले प्रधानमन्त्री ओली अब संसद विघटनतर्फ नजाने विश्वास दिलाए । उनले भने,‘अहिलेकै संसदले अर्को वैकल्पिक सरकार खोज्नुबाहेक अर्को विकल्प छ जस्तो लाग्दैन् ।’ उनले माओवादी केन्द्र र जसपाका भएकाजति सबै सांसदहरुलाई नटुक्रिनेगरि र नछुट्टिनेगरि एकीकृत ढंगबाट अहिलेको वैकल्पिक सरकार गठनको लागि दत्तचित्त भएर लाग्नेगरि अविश्वासको प्रस्ताव ल्याएर हुन्छ वा प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने त्यसको लागि अघि बढ्ने सुनाए ।

उनले अब बन्ने सरकारको नेतृत्व कसले गर्ने ? प्रधानमन्त्री बन्ने भन्नेबारे विवाद नहुने पनि जिकिर गरे । उनले भने,‘जसको नाममा सहमति जुट्छ, यहाँ हक हिस्सा खोज्ने कुरा होईन । जसरी हिजो राजा ज्ञानेन्द्रको निरंकुशको बेला को अगाडि ? को पछाडि ? भनेनौं, अहिले वैकल्पिक सरकार गठन गर्नु भनेको यो सुविधाको अवस्था होईन । यो बाध्यताको अवस्था हो । बाध्यताको परिस्थितिमा उहाँ नै प्रधानमन्त्री बन्नुपर्छ अन्यथा हुन्न भन्यो भने नयाँ सरकार बन्दैन् । त्यसो भएको हुनाले वैकल्पिक प्रधानमन्त्री जो कोही हुनसक्ने गरि साझेदार दलहरुका बीचमा अत्यन्तै खुकुलो ढंगबाट छलफल गरेर, अत्यन्तै उत्साहका साथ छलफल गरेर, बाध्यताका साथ छलफल गरेर होईन, वैकल्पिक सरकार दिनुपर्छ । अहिलेको जनविरोधी सरकारको विकल्प खोज्नुपर्दछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *