पौडेल–ठाकुर भेट : सरकारप्रति पौडेल आक्रामक, ठाकुर सकारात्मक

डिसी नेपाल
२२ चैत २०७७ १४:२३

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको दुई दिनपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।

वर्तमान सरकारको बर्हिगमनका पक्षमा देखिएका नेता पौडेल जसपा अध्यक्ष ठाकुरलाई भेट्न आइतबार विहान नौ बजे हात्तिवन पुगेका थिए। झण्डै एक घण्टा भएका भएको छलफलमा पौडेलले नयाँ सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष ठाकुर बसेर कुरा गर्न सुझाव दिएको पौडेल निकट स्रोतले जनाएको छ।

‘मुलत सरकार परिवर्तनका विषयमा नै छलफल भयो, वरिष्ठ नेताले वर्तमान सरकारको विकल्प खोज्न ढिला गर्न नहुने सुझाव दिँदै कांग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्ष बसेर छलफल गर्न सुझाव दिनु भयो,’ पौडेल निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘उहाँहरुबी सौहार्दपूर्ण वातावरणमा छलफल भयो।’

पौडेलले बारम्बार वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताएपनि ठाकुरले भने आफूलाई त्यसरी प्रस्तुत नगरेको स्रोतले जनाएको छ। ठाकुरले वर्तमान सरकारको विकल्प किन खोज्ने भन्ने विषयमा पुष्टि हुनुपर्ने भन्दै आफूहरुको माग सम्वोधन गर्ने सरकारसँग सहकार्य हुने बताएका थिए।

जसपाभित्र वर्तमान सरकारको विकल्प खोज्ने नखोज्ने भन्ने विषयमा विवाद छ। अध्यक्ष महन्थ ठाकुरसहित पूर्व राजपा समूह ओली सरकारसँग सहकार्य गर्नुपर्ने पक्षमा देखिएको छ भने डा. बाबुरा भट्टराई, उपेन्द्र यादवसहित पूर्व समाजवादी समूह भने ओली सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छ।

यद्यपी सरकार र जसपाबीच पछिल्लो समय वार्तासमेत भइरहेको छ। सरकार जसपाको माग सम्वोधन गर्न लचकताका साथ प्रस्तुत भएपछि जसपाको एउटा समूह सरकारप्रति सकारात्मक देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *