जसपा भित्र के भइरहेको छ? सरकारको विषयले जसपा विवाद उत्कर्षमा

डिसी नेपाल
२४ चैत २०७७ ७:३८

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनका लागि पलह गर्ने निर्णयपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा खुशी देखिए।

पार्टीको कार्यक्रमका लागि कपिलबस्तु पुगेका प्रचण्ड कांग्रेसको निर्णयपछि हतार हतार काठमाडौं। फर्किए। आइतबार माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायो र सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा चल्यो। तर अचानक स्थायी कमिटीको बैठक स्थगित भयो। अहिले पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन तर राजीनामा माग्न पनि छोडेको छैन।

उता अर्को विपक्षी दल जनता समाजवादी पार्टीले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसरता लिने निर्णयप्रति सन्तुष्ट देखिँदैन। जसपाका नेताहरुले कांग्रेसले आफूसँग कुनै छलफल र सल्लाह नै नगरी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै जसपा वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अग्रसरता लिने कांग्रेसको निर्णयप्रति असन्तुष्टि जनाउँदै भने, ‘कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएर देखायोस्, कांग्रेसलाई कसले रोकेको छ सरकार गठन गर्न? यो निर्णय गर्दा कांग्रेसले हामीहरुसँग कुनै छलफल नै गरेको छैन। त्यसैले यो विषयमा टिप्पणी गर्नु उचित हुँदैन।’

ओली सरकार आफूहरुको माग सम्वोधन गर्न सकारात्मक देखिएको भन्दै जसपाभित्रको पूर्व राजपा समूह ओली नेतृत्वको सरकारकै निरन्तरताको पक्षमा छ। तर अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई भने बर्तमान सरकारको बहिर्गमन चाहन्छन्। यही विषयलाई लिएर जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

प्रतिनिधिसभा पुनःस्थापना भएसँगै प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने, त्यसो नभए अविश्वासको प्रस्तावमार्फत पनि प्रधानमन्त्रीलाई हटाइने दाबी गर्दै आएको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकेको छैन भने कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसर हुने अमूर्त निर्णय गरेको छ।

तर वर्तमान राजनीतिको ‘किङमेकर’ मानिएको जसपाको एउटा समूह वर्तमान सरकारलाई नै समर्थन गरेर जाने पक्षमा देखिएको छ। विशेष गरी पूर्व राजपा समूह ओली सरकारप्रति नरम देखिएको छ।

ओली सरकार आफूहरुको माग सम्वोधन गर्न सकारात्मक देखिएको भन्दै जसपाभित्रको पूर्व राजपा समूह ओली नेतृत्वको सरकारकै निरन्तरताको पक्षमा छ। तर अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई भने बर्तमान सरकारको बहिर्गमन चाहन्छन्। यही विषयलाई लिएर जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

अहिले सबै दलको रोजाइमा जसपा परेको छ। विशेष गरी अध्यक्ष महन्थ ठाकुरलाई मनाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लागिपरेका गरेका छन्। आइतबार वरिष्ठ नेता पौडेल जसपा अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास हात्तिवन पुगेका थिए। त्यहाँ उनले प्रचण्ड र देउवासँग छलफल गर्न ठाकुरलाई सुझाव दिएका थिए।

ठाकुरले स्पष्ट जवाफ नदिए पनि अहिलेको संकट समाधानका लागि आफूहरूले प्रयास गरिरहेको उल्लेख गर्दै आफ्ना मागहरूका विषयमा दुवै पक्षसँग छलफल गरी निष्कर्षमा पुग्ने जवाफ दिए।

जसपामा दुई धार देखिएका छन्, ओलीको पक्ष र विपक्षमा। तर, कांग्रेसमा जस्तो दबाब सिर्जना गरेर पनि निर्णय गर्न सक्ने अवस्था तत्काल देखिँदैन। यद्यपि, ओलीलाई समर्थन गर्दै अगाडि बढ्नुपर्छ भन्ने पक्ष जसपामा बलियो छ। अहिले कांग्रेस माओवादी नेताहरूले जसपालाई फकाउने हर प्रयास गरिरहे पनि जसपाका नेतहरूले भने उधारोमा हुने सहमति हुने सम्भावना कम रहेको बताउँदै आएका छन्।

ओली अहिले प्रधानमन्त्री पदमा भएकाले आफूहरूले उठाएका मागहरू पूरा गर्न सक्षम रहेको नेताहरूको बुझाइ छ। तर, ओलीको विकल्पमा आउने व्यक्तिले माग पूरा गर्न सक्छ भन्ने विश्वास नेताहरूमा देखिँदैन।

आफ्नो नेतृत्वको सरकार टिक्ने अवस्था नरहेमा जसपालाई नेतृत्व दिन ओली तयार रहेको समाचार सार्वजनिक भइरहेका बेला जसपाका नेताहरू अहिले कांग्रेस र माओवादी केन्द्रसँग आफूलाई नेतृत्व दिने अवस्था आएमा मात्रै समीकरण बन्न सक्ने बताउँदै आएका छन्।

नयाँ सरकार बनाउन काँग्रेस तातेसँगै जसपालाई कि त एउटा कित्तामा खुल्नुपर्ने नभए विभाजनमा जानुपर्ने बाध्यता सिर्जना भएको छ। जसपाका नेता राजेन्द्र महतो र महन्थ ठाकुरको आग्रहअनुसार प्रधानमन्त्री केपी ओलीले टीकापुर घट्नाका दोषी रेशम चौधरीलाई जेलमुक्त गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता समिति बनाई वार्तासमेत सुरु भएको छ।

सोही प्रक्रिया अघि बढाइसकेकाले पनि महतो र ठाकुरलाई अब काँग्रेसको समर्थनमा जान नैतिक कठिनाई भएको छ। यता बाबुराम र उपेन्द्रले भने ओली गणतन्त्र सिध्याउन स्वयच्छाचारी ढंगले अघि बढेको भन्दै उनको बर्हिगमनको विकल्प नरहेको बताउँदै आएका छन्। उनीहरूलाई ओलीको समर्थनमा जान नैतिक कठिनाई देखिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *