दिपाश्रीको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ
काठमाडौं। फिल्म क्षेत्रका कलाकारको फेसबुक ह्याक गरी रकम उठाउने एकजना पक्राउ परेका छन्। कलाकार दिपाश्री निरौला र सराेज खनालले ले केही दिन अगाडि आफ्नो फेसबुक ह्याक भएको र रकम मागिएको भन्दै सार्वजनिक गरेका थिए। निराैलाले साइबर ब्युरोमा उजुरीसमेत गरेकी थिइन्।
सो उजुरीका आधारमा प्रहरीले खोजी गर्दा १४ वर्षीय ह्याकरलाई पक्राउ गरेको छ। साइबर ब्युरोका प्रवक्ता एसएसपी (वरिष्ठ उपरीक्षक) नविन्द्र अर्यालले ह्याकरलाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पर्साबाट एक १४ वर्षीय किशोर पक्राउ परेका छन्। प्रहरीले उनको नाम भने गोप्य राखेको छ। प्रवक्ता अर्यालले पक्राउ परेका किशोरले आरोप स्वीकार गरिसकेको र उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
प्रहरीले सामाजिक सञ्जाल ह्याक गरेर रकम असुल्नेहरुको विगविगी बढेको भन्दै सामाजिक सञ्जाललाई बलियो बनाउन टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्न सुझाव दिएको छ। यो अप्सन प्रयोग भए अनाधिकृत स्थानबाट फेसबुक खोल्ने प्रयास गरिए मोबाइल नम्बरकोसमेत आवश्यक पर्छ। मोबाइलमा आउने म्यासेज कोडबाटमात्र फेसबुक खोल्न सकिने हुन्छ। त्यसैले यो अप्सन प्रयोग गर्न प्रहरीले सुझाव दिएको हो।
Facebook Comment