शुक्रबारदेखि वायु प्रदुषणको मात्रा घट्यो
काठमाडौं। विगत केही दिनदेखि उच्च विन्दुमा पुगेको वायु प्रदुषणको मात्रा शुक्रबार कम भएको छ। बिहीबार साँझ हावाहुरी सहित परेको वर्षापछि काठमाडौंमा वायु प्रदुषणको मात्र कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार उपत्यकाको भिजिविलिटी दुई आसपास भएपनि शुक्रबार बढेर पाँच हजार आसपास पुगेको छ।
मौसमविद् निराजन सापकोटाले बिहीबारको तुलनामा शुक्रबार मौसममा सुधार आएको बताए। उनले शुक्रबार साँझ पहाडी क्षेत्रमा आंकिश बदली हुने पनि जनाए। ‘बिहीबारको तुलनामा शुक्रबार उपत्यकाको वायुमा प्रदुषण कम छ,’ मौसमविद् सापकोटाले डिसी नेपालसँग भने, ‘बिहीबार काठमाडौंको भिजिबिलिटी दुई हजारको आसपासमा थियो। आज त्यो बढेर पाँच हजार आसपास पुगेको छ। त्यो भनेको मौसममा सुधार आएको हो।’
मौसममा सुधार आएपनि अस्वस्थकर वायु भने कायमै रहेको वातावरण अध्येता उत्तमबाबु श्रेष्ठ बताउँछन्। ‘केही दिनदेखि उच्च विन्दुमा पुगेको वायु प्रदुषण शुक्रबार केही कम भएपनि वायुमा अस्वस्थकण कामयै रहेको छ,’ वातावरण अध्येता श्रेष्ठले डिसी नेपालसँग भने, ‘अब राम्रोसँग पानी नपरेसम्म वायुमा हुने अस्वस्थकण कायमै रहन्छ।’
यो सिजनमा विगतका वर्षहरुमा पनि वायु प्रदुषण उच्च विन्दुमा पुग्ने गरेको भन्दै श्रेष्ठले नेपालमा बढिरहेको वायु प्रदुषणमा बाह्य भन्दा पनि आन्तरिक मुख्य जिम्मेवार रहेको बताए। उनले यो सिजनमा आगलागीका घटना बढी हुने, सवारी साधन, उद्योग, कलकारखानबाट निस्किने धुँवा र सडकको धुलोका कारण वायु प्रदुषण उच्च विन्दुमा पुगेको बताए।
Facebook Comment