जुत्ता सिलाएरै छोरालाई पिएचडी, ७२ वर्षको उमेरमा पनि भन्छन्, ‘अझै थाकेको छैन’
काठमाडौं। विद्यावारिधि (पिएचडी) धेरैले सोच्न पनि सकिरहेका हुँदैनन्। तर, बाटोमा बसेर जुत्ता सिलाउने व्यक्तिले छोरालाई बायो क्यामेष्ट्रिमा पिएचडी गराउँदै छन् भन्ने सुनेपछि पनि धेरैले पत्याउँदैनौं।
नेपालमा राम्रै जागिर गरे पनि विहान बेलुकाको छाक टार्न सकिन्न भन्नेहरु पनि नभएका होइनन्। तर, लगनशीलताले लक्ष्यमा पुर्याउँछन भन्ने कुराका उदाहरणीय व्यक्ति हुन झरोखी राम।
उनी ५२ वर्षदेखि सुन्धाराको एक कुनामा बसेर जुत्ता सिलाइरहेको भेटिन्छन्। भारतको बिहार राज्यमा जन्मिएका उनी १७ वर्षको उमेरमा नेपाल प्रवेश गरेका थिए।
‘मेरो एकजना चाचा (अंकल) ले यहाँ ल्याएर आउनु भएको हो’, आफ्ना पुराना दिन सम्झिँदै उनले भने, ‘म त्यो बेला १७ वर्षको थिएँ। म बसेको ठाउँमा त्यो बेलामा जंगल थियो। यतिधेरै घरहरु थिएन।’
त्यहाँ बसेर जुत्ता सिलाउन थालेपछि पनि नगरपालिकाले धेरै पटक उठाएको उनको अनुभव छ। त्यही कुनाले उनलाई स्थापित गरायो। भारतबाट आएका उनी अहिले नेपाली पनि राम्रो बोल्न जानेका छन्।
‘दुई छोरा र दुई छोरी छन्,’ झरोखी रामले आफ्नो परिवारको बारेमा सुनाउँदै भने, ‘छोरीको विहे भयो। एउटा छोरा मोबाइलमा काम गर्छ अर्को छोराले भारतको चेन्नाई विश्वविद्यालयबाट बायो केमेस्ट्रिमा पिएचडी गर्दै छ।’
झरोखी राम आफू ७२ वर्षका भए। उनलाई अहिले नातिले सघाइरहेको देखिन्छ। ‘अहिले त दिनमा ५ सयदेखि ८ सयसम्मको कमाइ हुन्छ।’ उनले भने, ‘त्यो बेलामा एक रुपैयाँ, दुई रुपैयाँ कमाई हुन्थ्यो। कोठाभाडा तिर्न तीन मोहोर चाहिन्थ्यो। एक सुक्काको चिया आउँथ्यो।’
‘सुक्कादेखि चलेको दैनिकी अहिले हजारमा आएको छ,’ उनले अनुभव सुनाए, ‘त्यो बेलाको र अहिलेको कुरा धेरै फरक छ। तर, हामीलाई खान बस्न पुगेको छ। यो काठमाडौंमा जंगल थियो। म बसेको ठाउँमा पनि जंगल थियो।’
सानोमा आफूलाई पढ्न मन भए पनि पढ्न नपाएको उनको तितो अनुभव छ। ‘पढ्न त मन लाग्थ्यो। पैसा हुन्थेन। बुबाले रक्सी खाने गर्थे’ उनले भने, ‘आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउँछु भन्ने ठानेको थिएँ। त्यही सोचाइले अहिले छोराले पढ्दै छ।’
विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म उनको दैनिकी एउटै हो। फाटेको जुत्ता सिलाउने। आफू सुनधारामा भए पनि काठमाडौंका विभिन्न ठाउँमा ग्राहकहरु आउने गरेको उनको भनाइ छ।
‘पहिलेदेखि नै चिनेजानेका ग्राहक पनि छन्। उनीहरु विदेश पुगेर पनि मलाई सम्झिरहेका हुन्छन।’ ग्राहकप्रति कृतज्ञ हुँदै उनले सुनाए, ‘नेपाल आएपछि पनि भेट्न आउनु हुन्छ। चिया खानुस् भनेर अलिकति पैसा पनि छोडेर जानुहुन्छ। चिनेको भएकालेले जोरपाटी बौद्ध, बासबारी, कताकतादेखि आउँछन्।’
उनकोमा आउने ग्राहकहरु पहिलाका मिलनसार थिए। अहिलेका थर्काउछन्। उनले भने, ‘राम्रो पनि बोल्दैनन्। कसैले पैसा दिन्छन्, कसैले दिँदैनन्। दिए पनि ठिक छ नदिए नि ठिक छ। म त सबैलाई नमस्कार भन्छु, पैसा दिए पनि खुस, नदिए पनि खुस’
५० वर्षसम्म निरन्तर जुत्ता सिलाएका ७२ वर्षीय उनी अझै थाकेका छैनन्। उनी भन्छन्, ‘अझै पनि हातखुट्टा चल्नेबेलासम्म काम गर्छु। छोराले पढेर आएपछि घरमा बस्नु भने बसौँला नभए कमाउँला।’
कामलाई माया गर्ने उनको काधँमा नातिको पनि जिम्मेवारी थपिएको छ। छोरालाई पिएचडी गराउँदै गरेका ७२ वर्षीया उनी नातिनातिनीको खर्चका लागि पनि आफूले काम गर्नु परेको बताउँछन्। आफू खुसी भएर काम गरेका कारण लामो समयसम्म एउटै काममा रहेको र प्रगति गरेको उनको अनुभव छ।
नेपाल देख्छन् उनी नेपालमा हिँडेर धेरै टाढा गएको ठाउँ भनेको बौद्ध हो उनकालागि। ‘बौद्ध पुगेको छु। पशुपति पनि पुगेको छु दर्शन गर्न।’
युवा पुस्तालाई नेपालमै केही गर्न सल्लाह दिन्छन् उनी। नेपाल नै उर्भर भएकाले आफ्नो पसिना नेपालकै लागि बगाउन उनको सुझाव छ। उनी भन्छन्, ‘नेपाल शान्त छ। नेपाल मै बस्नुस्, नेपाल मै केही गर्नुहोस्। पसिना आफ्नै देशमा बगाउनु पर्छ।’
Facebook Comment