मानव अधिकार सम्मान डा वस्तीलाई प्रदान गरिने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फोरेन्सिक विज्ञ डा हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
आयोगको आज बसेको बैठकले डा वस्तीले शव उत्खननलगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पुर्याएकामा सम्मान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए । डा वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फोरेन्सिक विज्ञका रुपमा रही मानव अधिकारको संरक्षणमा योगदान पुर्याएका थिए ।
सशस्त्र द्वन्द्वकालीन घटनाहरुको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उनले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पुर्याउनेछन् भन्ने विश्वास आयोगले लिएको छ ।
आयोगले गत वर्षको मानव अधिकार सम्मान महिला मानव अधिकार रक्षक सञ्जाल नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा क्रियाशील अधिकारकर्मी डा रेणु अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।रासस
Facebook Comment