विभूषणमा पुरानो नक्सा विवाद टुंग्याइयो, आज विभूषित पदकमा ‘चुच्चे नक्सा’

डिसी नेपाल
१ वैशाख २०७८ १६:३५

काठमाडौ। गत चैत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न मानपदवी, अलंकराबाट सुशोभित हुने महानुभावले पाएको पदकमा नेपालको पुरानो नक्सा अंकति भएपछि विवाद भयो। एकजनाले त सो पदक फिर्तासमेत गरिन्। लक्ष्मी पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘बुच्चे नक्सा’ अंकित पदक फिर्ता गरिएको बताएकी थिइन्।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सुशोभन गरेको पदकमा नेपालको नयाँ नक्सा अंकित गरिएको छ। नेपालको नयाँ नक्सामा कालापानी, लिपुलेख र लिम्पियाधुरा समेटिएको छ। यी नेपाली भूभाग भारतले मिचेको छ। नेपालले गत वर्ष यी तीन भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्दै संविधानसमेत संशोधन गरेको थियो। तर, चैत २७ सुशोभित हुनेहरुलाई वितरित नक्सामा ती तीन भूभाग समेटिएको थिएन।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा मानपदवी, अलङ्कार र पदक गत वितरण गरेकी हुन्।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ। विभूषित हुनेहरुको नाम यसअघि सार्वजनिक भइसकेको छ।

विसं २०७७ असोज ३ गते राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो। विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो। विसं २०७६ मा ४५० लाई विभूषण दिइने घोषणा भएकामा कोभिड १९ को प्रभावका कारण सो वर्ष समारोह गरिएको थिएन।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *