‘प्रचण्डले बुझ्नुपर्छ उहाँहरु नभए पनि देश चल्छ’

डिसी नेपाल
४ वैशाख २०७८ १४:०२

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले प्रचण्ड नभए पनि देश चल्ने प्रत्रिक्रिया दिएका छन्। बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकको बारेमा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले उक्त प्रतिक्रिया दिएका हुन्।

पत्रकारहरुसँगको कुराकानीमा ज्ञवालीले भने, ‘तपाईहरु सबैलाई थाहा छ। सबैलाई खबर गरेका थियौं। प्रचण्डले हिजो कार्यक्रममै आफूलाई प्रधानमन्त्रीज्यूले फोन गरेर सर्वदलीय बैठकमा आउन आग्रह गरेको कुरा बताउनु भएको थियो। उहाँहरुले थाहा पाउनु भएको छ। तर, आउनु भएन। प्रचण्डले बुझ्नु पर्छ, उहाँहरु नभए पनि देश चल्छ।’

नेकपा एमालेका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले सर्वदलीय बैठकमा तीनवटा बुँदामा छलफल भएको जानकारी गराएका छन्। उनका अनुसार कोरोना महामारीको विषयमा, रिक्त रहेको जनप्रतिनिधिहरुको उपनिर्वाचनको विषयमा र संसदमा रहेको एमसीसीको विषयमा छलफल भएको थियो।

‘कोरोना महामारी रोक्ने विषयमा सबैको एउटै धारणा आएको छ’ ज्ञवालीले भने, ‘सरकारले अझै सजगता अपनाओस्, खोपको सुनिश्चितता गरोस्, आवश्यकता अनुसार विद्यालय बन्द गरोस्, जात्रा लगायतका कार्यक्रमहरु जनतासँग अपिल गरी बन्द गराउने कदम चालोस् भन्ने सबै दलको अपेक्षा थियो।’

रिक्त रहेका जनप्रतिनिधिका बारेमा कांग्रेससँग छलफल गरेर उपनिर्वाचनको मिति घोषणा हुने मन्त्री ज्ञवालीले जानकारी दिए। ‘भदौमा नेपाली कांग्रेसको महाधिवेशन भएकाले महाधिवेशनलाई असर नपर्ने गरी मिति तोक्नु पर्ने माग अनुसार प्रधानमन्त्रीले हुन्छ भन्नु भएको छ,’ मन्त्री ज्ञवालीले भने। संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले तोकेको समयमा सबै दलहरु निर्वाचनमा सहभागी हुने सहमति जनाएको मन्त्री ज्ञवालीले बताए।

संसदमा दर्ता भएको विजनेस रोक्न नमिल्ने भन्दै सबै दलहरुले एमसीसी अगाडि बढाउनु पर्ने धारणा राखेको मन्त्री ज्ञवालीले जानकारी दिए। ज्ञवालीले भने, ‘एमसीसी पास गर्ने नगर्ने संसदको अधिकार भएको भन्दै विजनेस रोक्न नमिल्ने विषयमा मात्र छलफल भएको हो।’ करिब डेढ बर्षदेखि रोकिएको एमसीसीका बारेमा सर्वदलीय बैठकमा पनि केही दलहरुले असहमति जनाएको मन्त्री ज्ञवालीले जानकारी गराए।

कर्णाली प्रदेशमा फ्लोर क्रस भएको विषयमा मन्त्री ज्ञवालीले संसदीय पद्धतिमा अक्षम्य अपराध भएको प्रतिक्रिया दोहोर्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *