प्रचण्ड र माधव नेपालको अप्ठ्यारो प्रेमः ‘डेटिङ’ जान सक्ने ‘पोइल’ जान नसक्ने

डिसी नेपाल
५ वैशाख २०७८ १२:१७

काठमाडौं। सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच दर्जनौं पटक छुट्टा छुट्टै भेट वार्ता भइसकेका छन्।

एमाले र माओवादी अलग भइसकेपछि पनि नेता नेपालले प्रचण्डसँग बारम्बार भेट गरेको भन्दै पार्टीले उनलाई ६ महिनासम्मका लागि निलम्बन गरिसकेको छ। तर, माधव नेपालमा ‘प्रचण्डप्रेम’ झनै झांगिँदै गएको छ । बाबुआमालाई छल्दै प्रेमी भेट्न जाने छोरीजस्तै नेपाल पनि प्रचण्डलाई भेट्न गइरहन्छन्।

माधव नेपालले प्रचण्डलाई छाड्न सक्दैनन्। जस्तोसुकै परिस्थितिमा पनि उनी प्रचण्डको साथमै रहन चाहन्छन् र सकेसम्म प्रचण्डलाई सघाउन चाहन्छन्। यसैको परिणामस्वरुप अल्पमतमा परिसकेको कर्णाली प्रदेशको सरकार जोगियो।

एमालेका सांसदहरुले ‘फ्लोर क्रस’ गरेरै प्रचण्डका विश्वासपात्र मुख्यमन्त्रीको पद जोगाइ दिए। फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरुको त्यो हिम्मतको पछाडि माधव नेपालकै निर्देशन र आड थियो।

माधव नेपाल प्रचण्डलाई छाड्न सक्दैनन् अनि पोइल जान पनि सक्दैनन्। प्रचण्डको अहिलेको पार्टी माओवादीमा माधव नेपाल जान नसक्ने र उता प्रचण्डले पार्टीको नाम फेर्न नसक्ने अप्ठ्यारोका बीच यी दुईको प्रेम जेलिएको छ।

प्रचण्ड–नेपाल प्रेम निकै गहिरो भइरहेको छ। केही दिनअघि मात्रै प्रचण्डले एक कार्यक्रममा आफ्नो माधव नेपालसँग ‘डिप लभ’ परेको तर अदालतले छुटाइदिएको टिप्पणी गरेका थिए। तर, यो डिप लभमा पनि युवायुवतीको प्रेममा जस्तै एउटा बाधा छ।

माधव नेपाल प्रचण्डलाई छाड्न सक्दैनन् अनि पोइल जान पनि सक्दैनन्। प्रचण्डको अहिलेको पार्टी माओवादीमा माधव नेपाल जान नसक्ने र उता प्रचण्डले पार्टीको नाम फेर्न नसक्ने अप्ठ्यारोका बीच यी दुईको प्रेम जेलिएको छ।

केही समय अगाडिसम्म खुला भेट गर्दै आएका प्रचण्ड र नेपालबीच पछिल्लो समय गोप्य भेटघाट हुन थालेको छ। शनिबार माओवादी पत्रकार चन्द्रलाल श्रेष्ठको निवासमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच गोप्य भेट भयो।

माओवादी नेतृत्वको कर्णाली सरकारलाई जोगाउन माधव नेपाल पक्षधर चार जना प्रदेश सदस्यले फ्लोर क्रस गरेपछिको विषयमा शनिबार प्रचण्ड, नेपाल र श्रेष्ठबीच छलफल भएको बताइएको छ।

सर्वोच्चले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि कर्नरमा परेका नेपालले प्रचण्डसँग किन गोप्य रुपमा भेट गर्नुपर्यो? कर्णाली सरकारलाई माधव नेपालका सांसदहरुले फ्लोर क्रस गरेर टिकाइदिएपछि अब पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहलाई माथिदेखि तलसम्म पेलेर लैजान नीति अख्तियार गर्नेछन्। यस्तो अवस्थामा नेपालले कि ओलीसँग विद्रोह गर्न सक्नुपर्छ वा उनको अगाडि झुक्नुपर्छ ।

माधव नेपाल माओवादीमा जान पनि नसक्ने, प्रचण्डले माधव नेपाललाई ल्याउन पार्टीको नाम परिवर्तन पनि गर्न नसक्ने अवस्थामा प्रचण्ड र नेपालबीच गोप्य भेटघाट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपाल शनिबार झापाबाट सिधै कोटेश्वर आएर प्रचण्डसँग भेट गरेका हुन्। नेता नेपाल पार्टीभित्र समानान्तर कमिटी गठन गर्न देश दौडाहामा छन्। नेता नेपालले प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा शुक्रबार मात्रै सामानान्तर कमिटी गठन गरेका थिए।

संघीय सरकारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दी बनिरहेको बेलामा दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कर्णाली प्रदेशमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेको भोलिपल्ट प्रचण्ड र नेपालबीच भेटवार्ता हुनु, प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकलाई माओवादी केन्द्रले वहिस्कार गर्नु आदि परिघटनाले नेपालको राजनीति कुन दिशातिर जाँदैछ ठम्याउन गाह्रो भएको छ ।

यतिखेर राजनीतिक वृत्तमा केही महत्वपूर्ण प्रश्नहरु उठेका छन् जसको जवाफ जनताले खोजिरहेका छन्। के प्रचण्ड माओवादीको बचेको साख जोखिममा पारेरै माधव नेपाललाई स्वागत गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएका हुन् ? वा माधव नेपाल आफ्नो करिअर जोखिममा पारेर अहिलेकै माओवादी नाममा प्रचण्डको पार्टीमा जान तयार भएका हुन् ? वा यी दुई नेताहरुबीच प्रधानमन्त्री केपी ओलीलाई ‘काउन्टर’ दिन सक्ने बलियो योजना बनिरहेको छ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *