एमाले विवाद निर्वाचन आयोग पुग्यो, सर्वोच्चकाे फैसलाविपरित ओलीले बैठक गरेको माधव समूहको दावी

डिसी नेपाल
५ वैशाख २०७८ १९:४४

काठमाडौं। नेकपा एमालेको विवाद निर्वाचन आयोग पुगेको छ। आइतबार मावधकुमार नेपाल समूह एमालेको विवाद लिएर निर्वाचन आयोग पुगेको हो। सर्वोच्च अदालतले फागुन २३ मा एमाले ब्युँताएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलाविपरित पार्टीमा निर्णयहरु गराएको भन्दै सो समूह निर्वाचन आयोग पुगेको हो।

निर्वाचन आयोग पुगेका नेता बेदुराम भुसालले डिसी नेपालसँग भने, ‘सर्वोच्चले नेकपालाई भंग गर्दै एमाले ब्युँताएपछि अध्यक्ष कमरेड ओलीले गरेका निर्णयहरु सर्वोच्चको फैसला विपरित, निर्वाचन कानुन विपरित र संविधान विपरित रहेकाले ती निर्णयहरु बदरको भागी भएको भन्दै हामी निर्वाचन आयोग पुगेको हौं।’
उनले सर्वोच्चको फैसला र कानुन विपरित अध्यक्ष ओलीले गरेका निर्णयले पार्टीमा गम्भिर विवाद उत्पन्न भएको भन्दै विवाद निरुपणको मागसहित निर्वाचन आयोगमा निवेदन दिइएको बताए। निर्वाचन आयोगले सो समूहको निवेदनलाई १२०८ दर्ता नम्बरमा दर्ता गरेको छ।

एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले बालुवाटारमा फागुन २८ मा राखेको विशेष बैठकले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद तथा जिम्मेवारी खोस्ने निर्णय गरेका थिए। सो निर्णयलाई माधव नेपाल समूहले अवैध भन्दै आएको छ। सो निर्णयपछि माधव समूहले राष्ट्रिय कार्यकर्ता भेला गरी भेलाको निष्कर्ष भन्दै देशभर समानान्तर कमिटी बनाउँदै सक्रिय भइरहेको छ।

समानान्तर कमिटी बनाएपछि अध्यक्ष ओलीले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। माधव समूहले शुक्रबार कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्दै माओवादी नेतृत्वको सरकारसमेत जोगाइदिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *