पहिलो चरणको दाेस्रो डोजको खोप अभियान : कसको पालो कहिले (सूचिसहित)
काठमाडौं । मंगलबारबाट कोरोना विरुद्धको पहिलो चरणको दोस्रो डोजको खोप लगाइने भएको छ। गत माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ गरिएको कोरोनाको खोप अभियानको दोस्रो डोजको खोप भोलिदेखि सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले दोस्रो डोजको खोप अनिवार्य लगाउन अनुरोध गरेका छन्। नेपालमा खोप अभियान सुरु भएपछि सबैभन्दा पहिलो खोप लगाएका राजभण्डारीले खोपको कुनै साइडइफेक्ट नभएको बताउँदै ढुक्क भएर दोस्रोडोज लगाउन सबैमा अनुरोध गरेका छन्।
डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘पहिलो चरणको खोप सफलतापूर्वक सम्पन्न भएको थियो। खुसीको कुरा के छ भने हामीले खोप लगाएका कोहीलाई पनि साइड इफेक्ट भएको पाइएन। सामान्य वाहेकका लक्षणहरु कसैलाई पनि देखिएनन्। दोस्रो डोजको खोप लगाउँदा पनि कसैलाई केही नहुँने अपेक्षा गरिएको छ।’
बैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोजको खोप दिइने स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार माघ १४, १५, १६,१७ र २६ गतेसम्म पहिलो डोज खोप लगाएकाहरुले बैशाख ७ गते खोप लगाउनु पर्ने छ।
यसैगरी, माघ १८, १९, २०, २१ र २७ गते पहिलो डोज खोप लगाएकाहरुले बैशाख ८ गते खोप लगाउनु पर्ने छ। खोप लगाउन जानेले पहिलो डोज खोप लगाएको कार्ड र परिचयपत्र साथमा लिनु पर्ने छ।
माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुले बैशाख ९ गते, माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले बैशाख १० गते र माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो डोजको खोप लगाएकाहरुले बैशाख ११ गते खोप लगाउनु पर्ने छ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन काठमाडौं उपत्यकाभित्र १९ अस्पताल तोकेको छ। काठमाडौं उपत्यकाभित्रका वीर अस्पताल, प्रसूति अस्पताल थापाली, शुक्रराज अस्पताल टेकु, सिभिल अस्पताल मिनभवन, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल रहेका छन्।
यसैगरी, हिमाल अस्पताल ज्ञानेश्वर, ह्याम्स अस्पताल धुम्बाराही, त्रिवि शिक्षण अस्पताल अस्पताल महाराजगञ्ज, स्तुपा अस्पताल बौद्ध, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, ओम अस्पताल चाबहिल, जनमैत्री अस्पताल बालाजु, मदरल्याण्ड अस्पताल जडिबुटी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल प्रहरी अस्पताल पानीपोखरीमा गएर पनि खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले पहिलो चरणमा खोप देशभर १ सय २० खोप केन्द्रको स्थापना गरी अग्रपंतिमा रहेकाहरुलाई दिइएको थियो। जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अस्पतालका सरसफाई कर्मचारीलगायताका व्यक्तिहरुलाई खोप लगाएको थियो।
पहिलो चरणमा माघ १४ गतेदेखि फागुन १० गतेसम्म ४ लाख २९ हजारले खोप लगाएका थिए। पहिलो चरणमा भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाइएको थियो। दोस्रो चरणका लागि सरकारले भारतबाट २० लाख डोज खोप खरीद गरेको छ। जसमा १० लाख डोज नेपाल पुगेको छ भने १० लाख डोज आउन बाँकी छ। भारतले पछिल्लो समय खोप कसैलाई पनि उपलब्ध गराएको छैन।
Facebook Comment